२२-२८ असार २०७६ | 7-13 July 2019

‘सरकारको निर्णय पर्खेका छौं’

Share:
  
१२ असारमा नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा नियुक्त राजन पोखरेल भन्छन्, “निजगढ विमानस्थलको प्रगति सरकारको निर्णयमा भर पर्छ।”

नागरिक उड्डयन प्राधिकरणमा तपाईंको लामो अनुभवलाई महानिर्देशक भएपछि कसरी उपयोग गर्दै हुनुहुन्छ ?

मेरो पहिलो प्राथमिकता हवाई सुरक्षालाई थप बलियो बनाउने नै हो । दोस्रो, निर्माणाधीन ठूला विमानस्थललाई व्यावसायिक रुपमा संचालन गर्ने । त्यस्तै, तराईका विमानस्थलको सम्भाव्यता हेरी क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्नुपर्नेछ । सबै विमानस्थलमा सञ्चार उपकरणको सुधार र मानव संसाधनको विकास पनि जरुरी छ ।

निजगढ विमानस्थल निर्माणको काम तत्कालै अघि बढाउने कुनै योजना छ कि ?

निजगढ विमानस्थल कसरी अगाडि बढ्छ भन्ने सरकारको निर्णयमा भर पर्छ । सरकारले प्राधिकरणलाई दिएको जिम्मेवारी अनुसार हामीले काम गरेका छांै । निर्माण मोडालिटीमा पनि सरकारले नै निर्णय गर्नुपर्छ ।

काठमाडौं, निजगढ र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल र उपत्यका नजिकै तराईमा आन्तरिक विमानस्थलहरू हुँदाहुँदै काभ्रेमा पनि विमानस्थल बनाउनुको औचित्य के हो ?

विगतमा पनि प्राधिकरणले काठमाडौं उपत्यका नजिकै आन्तरिक विमानस्थल बनाउने विषयमा अध्ययन गरेको थियो । सरकारको नीति तथा कार्यक्रम र बजेटमा आन्तरिक विमानस्थल बनाउने विषय समेटिएकाले काठमाडौं उपत्यका नजिकको उपयुक्त स्थानमा आन्तरिक विमानस्थल निर्माण हुन्छ ।

युरोपियन यूनियन (ईयू) को हवाई सुरक्षा चासोको सूचीबाट नेपाललाई बाहिर निकाल्न केही गर्दै हुनुहुन्छ ?

सन् २०१४ मा नेपाल आएको ईयू मिसनले दिएको सुझाव अनुसार हामीले हवाई सुरक्षामा धेरै सुधार गरिसकेका छौं । त्यही कारण अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणले नेपाललाई हवाई सुरक्षा चासो सूचीबाट निकालिसक्यो ।

हामीले ईयूका अधिकारीहरूलाई फेरि नेपाल आउन आग्रह गरिरहेका छौं । अब उनीहरूले अनुगमन गरे भने नेपाललाई आफैं सुरक्षा चासोबाट हटाउने छन् ।

पछिल्ला वर्षहरूमा बढ्दो हेलिकप्टर दुर्घटना न्यूनीकरणका लागि प्राधिकरण के गर्दैछ ?

हेलिकप्टर दुर्घटना बढ्नुमा अनावश्यक जोखिम लिने प्रवृत्ति जिम्मेवार देखिन्छ । जाँच आयोगका प्रतिवेदनहरूमा पनि दुर्घटनाको मुख्य कारण खराब मौसम र मानवीय त्रुटि ठहर गरिएको छ । त्यसैले हेलिकप्टरमा पनि उडान सुरक्षा व्यवस्थापन प्रणाली अनिवार्य गराएका छौं । सुरक्षा व्यवस्थामा रहेका कमजोरीहरू सुधारका लागि सम्बन्धित कम्पनीहरूलाई निर्देशन दिएका छौं ।

comments powered by Disqus

रमझम