२९ असार - ४ साउन २०७६ | 14-20 July 2019

‘बेरुजु फस्र्योटमा उपभोत्ता समितिबाटै दबाब आयो’

Share:
  

बेरुजुलाई शून्यमा झारेबापत २३ असारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पुरस्कृत इलामको सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल भन्छन्, “इमानदारी पालना गरे बेरुजु हुँदैन।”

शून्य बेरुजु कसरी सम्भव भयो ?

गत असोजदेखि मात्र आर्थिक वर्ष २०७३/७४ को बेरुजु शून्य बनाउन लागेका हौं । शुरुमा त फाइल पल्टाउन शुरु गर्‍यौं । बेरुजु देखिएकाहरूलाई पछ्याउन थाल्यौं । ८ महीनाको निरन्तर प्रयासमा यो सम्भव भयो ।

नगरमा कति र कस्ता खालका बेरुजु थिए ?

हामीले काम थाल्दा विभिन्न शीर्षकमा करीब रु.४३ लाख जति बेरुजु थियो । कर नतिर्ने, भुक्तानी, पारिश्रमिक र निर्माण सम्बन्धी शीर्षकमा बेरुजु बढी थियो ।

लामो समयपछि बेरुजु फस्र्योटको कुरा गर्न जाँदा कस्तो प्रतिक्रिया पाउनुभयो ?

मानिसलाई पैसा तिर्न त गाह्रो भइहाल्छ नि ! अनेक समस्या झेल्नुपर्‍यो । उपभोक्ता समितिहरूबाट सबैभन्दा बढी दबाब आए । त्यसलाई बुझेरै हामीले पहिल्यै ५२ वटा उपभोक्ता समितिका पदाधिकारी, कर्मचारी, जनप्रतिनिधिलाई १० दिनको तालिम दियौं । अभियान नै चलायौं । यस कार्यमा सबै जनप्रतिनिधिको सहयोग रह्यो ।

बेरुजुको प्रमुख कारण के रहेछ ?

मुख्य त कर्मचारी अभाव नै हो । भीडभाडका कारण भनेको समयमा काम गर्न नभ्याउनु, ऐन–नियम संशोधन तथा पेश्की फस्र्योट नगर्ने कारण पनि रहेछ । अनि कर्मचारी फेरबदलका कारण भनेको समयमा कागजपत्र नभेटिंदा पनि बेरुजु हुँदोरहेछ ।

बेरुजु हुनै नदिन के गर्नुपर्छ ?

बिल भर्पाइ समयमै पेश गर्नुपर्छ । पूर्वाधार निर्माण कम्पनीहरुले भनेकै बेला काम गर्ने, हिसाब बुझाउने गर्नुपर्छ । कर्मचारीले इमानदारी साथ काम गर्ने हो भने बेरुजु हुँदैन ।

comments powered by Disqus

रमझम