२९ भदाै - ४ असाेज २०७६ | 15-21 Sep 2019

अनौपचारिक कारोबार बढ्नुमा सरकार दोषी छ

Share:
  

२१ भदौमा ट्रेकिङ व्यवसायीको छाता सङ्गठन नेपाल ट्रेकिङ एजेन्सी एशोसिएसन (टान) को २४औं अध्यक्षमा निर्वाचित खुमबहादुर सुवेदी भन्छन्, “सरकारले पर्यटन व्यवसायीलाई लाइसेन्स दिने बाहेक कुनै काम गरेको छैन।”

अध्यक्ष भएपछि ट्रेकिङ क्षेत्रमा के गर्ने योजना बनाउनुभएको छ ?

पर्वतारोहण र पदयात्रामा जाने पर्यटकले अनिवार्य नेपाली गाइड लैजानुपर्ने, नेपालमा एड्भेन्चर ट्राभल मार्टको आयोजना गर्ने, पहिचान भइसकेका पदमार्ग व्यावसायिक रुपमा प्रवद्र्धन गर्ने र नेपाली पर्यटन व्यवसायी बीचको अस्वस्थ प्रतिस्पर्धा घटाउँदै लैजाने योजना बनाएको छु ।

अस्वस्थ प्रतिस्पर्धा कसरी रोक्नुहुन्छ ?

व्यवसायीहरू सेवा बढाउन भन्दा मूल्य घटाउन तयार देखिन्छन् । व्यवसायीको मानसिकता परिवर्तन गरेर क्षमता बढाउन प्रेरित गर्नुपर्छ । टानमा आवद्ध व्यवसायीलाई आइटी, ब्लग कन्टेन्ट, प्रोडक्ट प्याकेजिङ सम्बन्धी तालिम दिने योजना बनाएको छु । यसले अस्वस्थ प्रतिस्पर्धा र पर्यटन क्षेत्रका विकृति घटाउँछ ।

ट्रेकिङ व्यवसायको ठूलो हिस्सा करको दायरा बाहिर छ भनिन्छ, के लाग्छ ?

सरकारको लापरबाहीले अनौपचारिक कारोबार बढेको हो । कुन देशबाट कति पर्यटक आए, नेपाल आएका पर्यटक कहाँ बसे, कुन कम्पनीले ‘ट्रिप’ बुक गर्‍यो, कति रकम खर्च गर्‍यो भन्ने जानकारी सरकारसँग हुनुपर्छ । सरकारको काम व्यवसायीलाई उत्तरदायी बनाउनु पनि हो ।

ट्रेकिङ व्यवसायीका समस्या के–के हुन् ?

सीमित अन्तर्राष्ट्रिय उडान, विमानस्थलमा स्तरीय सेवाको अभाव, अनलाइन भिसा प्रणाली लागू गर्न नसक्नु, डोल्पा, मुगु लगायतका क्षेत्रमा पर्याप्त उडान नहुनु, काठमाडौं उपत्यकाको प्रदूषण, बहुभाषी पथप्रदर्शक (गाइड) को कमी लगायतका धेरै समस्या छन् ।

पर्यटन क्षेत्रमा सरकारले गरेको कामलाई कसरी हेर्नुहुन्छ ?

सरकारले पर्यटन व्यवसायीलाई लाइसेन्स दिने बाहेक कुनै काम गरेको छैन । सरकार व्यवसायीको अभिभावक पनि हो; पर्यटन सम्बद्ध नीति निर्माण गर्दा व्यवसायीलाई पनि सहभागी गराउनुपर्छ । पर्यटन प्रवद्र्धनमा पर्याप्त बजेट विनियोजन गर्नुपर्छ । पर्यटन क्षेत्रबाट धेरै लाभ लिन आफ्नै ढङ्गले काम गरिरहेको निजी क्षेत्रलाई एकत्रित गरी सरकारले साथै लिएर जान सक्नुपर्छ ।

comments powered by Disqus

रमझम