३० चैत २०७० - ६ वैशाख २०७१ | 13-19 April 2014

'बिरुवा हुर्काउन रुख काट्न लागेका हौं'

Share:
  

पुराना रुख काटेर नयाँ बिरुवा लगाउन ल्याइएको 'वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम' का विषयमा वन विभागका प्रवक्ता अशोक श्रेष्ठ भन्छन्, 'अधिकतम प्रतिफल दिने वेलामै रुख काट्नु उपयुक्त हुन्छ।'

पुराना रुख काट्ने कार्यक्रम किन ल्याउनु परेको हो?

साझेदारी वनहरूमा वैज्ञानिक वन व्यवस्थापन गर्न यो कार्यक्रम ल्याइएको हो। सानो बिरुवालाई हुर्कन प्रकाश र हावा चाहिन्छ भने ठूला रुख सामान्यतया ८० वर्षपछि बढ्दैनन्। त्यसैले अधिकतम प्रतिफल दिने वेलामै रुख काट्नु उपयुक्त हुन्छ। १९ वटा साझेदारी वनमध्ये कपिलवस्तुबाट यो कार्यक्रम शुरु गरिएको छ।

काटिएका पुराना रुख के गरिनेछ?

कस्तो रुख काट्ने, कुन रुख काट्ने जस्ता विषय निर्देशिका अनुसार निर्धारण गरिन्छ। त्यसै अनुसार काटिएका रुखलाई न्यूनतम मूल्य तोकेर लिलाम बढाबढ गरी बिक्री गरिन्छ।

काटिएका रुखको दुरुपयोग नहुने संयन्त्र बनाउनु नपर्ला?

काट्नु भन्दा पहिला नै कुन रुखको मूल्य कति पर्छ, काटेर कहाँ संकलन गर्ने भन्ने निर्णय गरिन्छ। साझेदारी वनमा स्थानीय उपभोक्ता समूह, गाविस–जिविस र वन मन्त्रालय मातहतका कार्यालय पनि संलग्न हुन्छन्। अनुगमनका लागि क्षेत्रीय र जिल्ला वन कार्यालय पनि छँदैछन्।

रुख काटिएको ठाउँमा नयाँ बिरुवा रोपिने ग्यारेन्टी कसरी गर्न सक्नुहुन्छ?

नयाँ बिरुवा हुर्काउन नै रुख काट्न लागिएको हो। पुराना रुखबाट कति आम्दानी हुन्छ, त्यसले बिरुवा लगाउन र हुर्काउन पुग्छ कि पुग्दैन भन्ने योजना शुरुमै बनाइन्छ। सहयोगका लागि जिल्ला वन कार्यालयले पनि बजेट छुट्याउछ।

धेरै विरोध भएमा यो योजनामा विभाग अड्न सक्ला?

यो अलिकति प्राविधिक विषय भएकाले नबुझ्दासम्म विरोध आउँछ। हामीले अहिले परीक्षणका रुपमा मात्रै यो कार्यक्रम ल्याएका छौं। परीक्षण सफल भएपछि विरोध नगरेर सबैले समर्थन गर्छन् जस्तो लाग्छ।

comments powered by Disqus

रमझम