७-१३ वैशाख २०७१ | 20-26 April 2014

'क्यानको कार्यशैलीमा कमजोरी छ'

Share:
  

आन्दोलनमा उत्रिएका खेलाडीसँग वार्ताको नेतृत्व गरेका नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष चतुरबहादुर चन्द भन्छन्, 'दुई वर्षयता क्रिकेटरले वार्षिक रु.२५–३० लाख कमाएका छन्। बंगलादेशमा खेल्दा पनि दैनिक रु.१५ हजार भत्ता दिइएको थियो।'

देबकी बिष्ट
क्रिकेट खेलाडी र क्यानबीचको विवाद समाधान भएको हो?

तीनबुँदे सहमति भएर विवाद समाधान भएको छ। नेपाललाई देश–विदेशमा चिनाउने खेलाडीले उठाएका आफ्ना हक–अधिकारका विषयलाई सम्बोधन गर्न खेलाडी, प्रशिक्षक, क्यान, सरकारका प्रतिनिधि सम्मिलित समिति बनेको छ।

दीर्घकालीन समाधान भयो कि तत्काललाई टालटुल मात्र?

समिति बनेकै दीर्घकालीन समस्या समाधान गर्न हो। यो समितिले गरेको सिफारिशले क्यानलाई योजना तर्जुमा गर्न सघाउने छ।

खेलाडीलाई तलब समेत नदिनुको कारण के हो नि?

तलबको कुराले मिडियामा बढी चर्चा भयो। तर, पछिल्लो दुई वर्षयता क्रिकेटरहरूले वार्षिक रु.२५–३० लाख कमाएका छन्। बंगलादेशमा खेल्दा पनि दैनिक रु.१५ हजार भत्ता दिइएको थियो। आठ कर्पोरेट हाउसबाट मासिक रु.१५ हजार पाएका छन्। खेलाडी र क्यानबीच ६–६ महीनामा तलब दिने सम्झौता पालना नभएको चाहिं आंशिक सत्य हो।

यो घटनाले क्यान निकै कमजोर र खेलाडी बलिया देखिए नि हैन?

क्यान कमजोर छैन र हुँदैन पनि। तर कार्यशैली कमजोर भएको हो। यस्तो हुनुमा क्यान नेतृत्व बढी जिम्मेवार छ। जुनसुकै आस्थाको भए पनि क्यानमा राजनीति गर्नुहुँदैन।

नेपाली क्रिकेट विकासका लागि तपाईंहरूसँग के योजना छन्?

अब हामी जुनियर क्रिकेटमा लाग्नुपर्छ। हाम्रो मुख्य ध्यान ब्याकअपका लागि जुनियर खेलाडी उत्पादन गर्ने हुनुपर्छ। सरकारले मैदान बनाउने प्रतिबद्धता जनाइसकेको छ।

comments powered by Disqus

रमझम