८-१४ भदौ २०७१ | 24-30 August 2014

'एमालेमा फर्कदा सन्तुष्टि मिल्यो'

Share:
  

२९ साउनमा संघीय समाजवादी पार्टी त्यागेर नेकपा एमालेमा फर्केका विजय सुब्बा भन्छन्, 'नाम जे राखे पनि सबैलाई अधिकार चाहिएकाले प्रदेशको नाममा विवाद नगरौं।'

देबकी बिष्ट
अहिले नै एमाले फर्किनुको कारण के हो?

भइरहेका भन्दा जुझारु, मुद्दामा स्पष्ट र पारदर्शी पार्टी बनाउने उद्देश्य पूरा भएन। नयाँ पार्टीमा जातिवादीको आरोप लगाएर एक्लो पारियो। फरक मत राखेर बस्ने भए एमालेमै फर्कनु उचित हुने ठानेर फर्केको हुँ। संघीय गठन गर्नुभन्दा पहिले जति जनजातिहरूबाट रेस्पोन्स पनि आएन।

मुद्दामा सहमति भएर भन्दा पनि संघीय समाजवादीबाट थाकेर एमालेमा प्रवेश गरेजस्तो देखियो नि?

थाकेर त नभनौं। तर २० महीना संघीयको उपाध्यक्ष हुँदा मैले कहिल्यै आनन्द अनुभूत गर्न सकिनँ। बरु एमालेमै फर्केपछि सन्तुष्टि मिल्यो। एमालेको सकारात्मक पक्ष भनेको यसले समय अनुसार मुद्दा क्यास गर्न सक्दछ। नवौं महाधिवेशनबाट पनि मधेशी, जनजाति र महिलालाई ल्याइएको छ।

तपाईंहरुले पहिले उठाएका मुद्दा अब राजनीतिको केन्द्रमा आउलान् कि नआउलान्?

एकल पहिचान सहितको मुद्दा संघीय समाजवादीले बोलेको मात्रै हो। बहुल पहिचान र एकल पहिचानबीच त्यत्रो भिन्नता पनि छैन। समावेशी लोकतन्त्र चाहिएको हो। नाम जे राखे पनि सबैलाई चाहिएको अधिकार हो। तसर्थ प्रदेशको नामको पछाडि लाग्नुहुँदैन।

एमालेमा आफ्नो भविष्य कस्तो देख्नुहुन्छ?

पार्टी प्रवेश गर्नुअघि एमाले नेताहरूसँग पहिलाकै जिम्मेवारीमा व्यवस्थापन गर्ने कुरा भएको छ। अरुले आरोप लगाए जसरी अवसर वा लाभको कुरा भएको हैन। मेरा लागि नवौं महाविधेशनको रेल भने छुटेकै हो।

संघीय समाजवादीको भविष्य कस्तो देख्नुहुन्छ?

मैले छाडेर आए पनि त्यो पार्टीको भविष्य उज्ज्वल रहोस् भन्ने चाहन्छु। तर, म त्यहाँ हुँदा जस्तै हुने हो भने त्यसको भविष्य छैन।

comments powered by Disqus

रमझम