२९ भदौ - ४ असोज २०७१ | 14 September 2014

'मोफसलका क्लब चम्किंदैछन्'

Share:
  

२५ भदौमा एन्फा नकआउट फूटबल प्रतियोगिता (एन्फा कप) जितेको टोली झापा फूटबल क्लबका प्रशिक्षक भगीरथ आले भन्छन्, “एन्फाले थोरै मात्र सहयोग गरेमा मोफसलका क्लब चम्किन सक्छन्।”

देबकी बिष्ट
एन्फा कपमा झापाले जित्नुको कारण के हो?

हामी उच्च मनोबलका साथ मैदानमा उत्रियौं। हामीसँग 'बेष्ट' खेलाडी पनि थिए। यहाँको मैदानसँग परिचित र प्रतिस्पर्धी टीमको रणनीति समेत बुझ्ोका खेलाडी भएकाले हामीलाई फाइदा भयो। त्यसमाथि, टीमवर्क पनि मिल्यो।

यो टीम कसरी बनाउनुभयो?

प्रतियोगितामा खेल्ने भएपछि हामीले झापाका उत्कृष्ट खेलाडीसँग कुरा गर्‍यौं। माथिल्ला क्लबमा राम्रो गरिसकेका उनीहरु पनि झापालाई माथि पुर्‍याउन जोडिन तयार भए। खेलाडीको त्यही भावनाका कारण यो टीम बनेको हो। मछिन्द्र क्लबका धेरै खेलाडी झापाबाट खेले भन्नु साँचो होइन। बरु, हाम्रा धेरै खेलाडी चाहिं मछिन्द्रबाट खेल्ने गर्छन्।

मोफसलको टीमले माथिल्ला स्तरका क्लबलाई पछारेर कप जित्नुले के सन्देश दिन्छ?

झ्ाापा मात्र होइन, मोफसलका कुनै पनि टीमले कडा मिहिनेत गरे सफलता पाउन सक्छन्। तर, टीमवर्क चाहिन्छ। मोफसलमा बलिया टीम पनि छन्। तर, तिनले अवसर पाउनुपर्छ।

मोफसलमा अब ए डिभिजनका क्लब बन्न र चल्न सक्छन्?

नसक्ने कुरै छैन। तर, एन्फाले राजधानीका क्लबलाई जसरी नै मोफसलका क्लबलाई पनि सहयोग गर्नुपर्छ। स्पोन्सरसीप खोजिदिने तथा साधन–स्रोत जुटाइदिएर थोरै मात्र सहयोग गर्ने हो भने पनि मोफसलका क्लब चम्किन सक्छन्।

फूटबललाई देशव्यापी बनाउन र विकास गर्न के गर्नुपर्ला?

'होम एण्ड अवे लिग' सञ्चालन हुनुपर्छ। राम्रा खेलाडी भएका मोफसलका टीमलाई लिगमा समावेश गरिनुपर्छ। त्यसले मोफसलका टीममा आत्मविश्वास बढाउँछ। र, फूटबल देशव्यापी पनि बन्छ।

comments powered by Disqus

रमझम