१२-२५ असोज २०७१ | 28 September 2014

'बन्दमा पनि काम गर्‍यौं'

Share:
  

कर्णाली नदीको कोठियाघाटमा एक हजार १५ मीटर लामो नेपालकै लामो पुल निर्धारित मितिभन्दा एक वर्षअघि सम्पन्न गर्ने कोठियाघाट पुल निर्माण आयोजनाका प्रमुख गणेश गौतम भन्छन्, “नयाँ प्रविधिको प्रयोग र निर्माण व्यवसायीलाई सहजता प्रदान गरेकाले समय अगावै काम सम्पन्न भयो।”

निर्धारित समयभन्दा एक वर्ष अगावै पुल निर्माण गर्न कसरी सम्भव भयो?

प्रि स्ट्रेस कंक्रिट ब्रिज भनिने नयाँ प्रविधिको प्रयोगले सम्भव भएको हो। यो प्रविधि सडक विभागले पहिलो पटक प्रयोग गरेको हो। परम्परागत तरीकाले पुल बनाउँदा लामो नदीमा सामान्यतया २०–२५ मीटर अन्तरमा खम्बा राखिन्छ भने यसमा ५०–६० मीटर अन्तरमा राख्दा हुन्छ। २० वटा खम्बा प्रयोग भएको यो पुल पुरानै तरीकाले बनाउँदा कम्तीमा ४५ वटा खम्बा राख्नुपर्दथ्यो।

हामीले निर्माण कम्पनीलाई पनि काम गर्न प्रेरित गरिरह्यौं। वर्षको ३६५ दिन नै काम भयो। नदीमा असार–मंसीरसम्ममा काम नहुने गरेकोमा यहाँ भने बाढी नपुग्ने ठाउँमा ती महीनामा पनि काम भयो। दुई वर्षअघि एक महीना सुदूरपश्चिम बन्द हुँदा पनि पहिल्यै निर्माण सामग्री पुर्‍याइएकाले काम रोक्नु परेन।

पुल निर्माणको लागत कति हो?

भ्याट बाहेक रु.८६ करोडमा सम्झौता भएको हो।

पुल बनेपछि कति मानिस प्रत्यक्ष लाभान्वित हुन्छन्?

यसबाट बर्दियाको पश्चिम भेगका ११ गाविसका तीन लाख जनता प्रत्यक्ष लाभान्वित हुनेछन्। कैलालीको पूर्वी भेग र धनगढी जान–आउन पनि अब छोटो पर्नेछ।

पुल निर्माण गर्दा कस्ता समस्या भोग्नुपर्‍यो?

खास समस्या आएनन्। निर्माण कम्पनीले 'सिरियस्ली' काम गर्‍यो। मन्त्रालय र विभागबाट पनि छिटोछिटो निर्णय भए।

अरु ठाउँमा पनि निर्माणका काम समयमै सक्न के गर्नुपर्ला?

नयाँ प्रविधिको प्रयोग गर्नुपर्‍यो। बन्द हडताल गर्नु भएन। निर्माण कम्पनीलाई प्रोत्साहन दिनुपर्‍यो। नीतिगत तहबाट निर्णय, रकम विनियोजन र अख्तियारी समयमै हुनुपर्‍यो।

comments powered by Disqus

रमझम