३१ असोजबाट जावलाखेल, ललितपुरमा शुरु भएको चारदिने 'गोदावरी पुष्प प्रदर्शनी २०७१' का संयोजक तथा फ्लोरी कल्चर एसोसिएसन नेपालका उपाध्यक्ष कुमार कसजू श्रेष्ठ भन्छन्, “पुष्पमा आत्मनिर्भर हुन उच्च प्रविधिमा जानुपर्छ तर सरकारको सहयोग विना त्यो सम्भव छैन।”
पूजाआजामा सीमित फूलको प्रयोगमा अहिले व्यापकता आएको छ। स्वागत, बिदाइ, बधाइ ज्ञापन आदिमा फूल प्रयोग हुनथालेको छ। बाथरुम, डाइनिङ टेबलमा फूल राख्ने चलन शुरु भएको छ। स्वास्थ्य र मनोरञ्जनका लागि बगैंचामा फूल लगाउने पनि बढेका छन्।
फूल व्यवसायको अवस्था कस्तो छ?
माग बढेपछि व्यवसाय राम्रो हुने नै भयो। पछिल्लो १०–१२ वर्षमा पुष्प व्यवसायीहरू पैदलबाट साइकल, साइकलबाट मोटरसाइकल र मोटरसाइकलबाट गाडीमा उक्लिएका छन्। फ्लोरी कल्चर एसोसिएसनमै ६४० कम्पनी सदस्य छन्। तर; विद्युत्, पूर्वाधार, लगानीको अभाव यसक्षेत्रका चुनौती हुन्।
पुष्प मेलाहरुले फूल संस्कृतिमा कस्तो प्रभाव पार्छन्?
प्रदर्शनीको मूल उद्देश्य फूल प्रयोगकर्ताको रुचि जान्नु हो। यस्ता मेलाले फूलप्रति आकर्षण बढाउने तथा प्रयोगकर्ताको जिज्ञासा समाधान गर्ने गर्दछन्।
तिहारमा कति फूल आयात हुन्छ?
गत वर्ष भाइटीकाको दिन साढे पाँच लाख माला खपत भएको थियो। यसपटक काठमाडौंका लागि आठ लाख जति माला चाहिन्छ। त्यसमध्ये दुई लाख आयात गर्नुपर्छ।
फूलमा अझै किन आत्मनिर्भर हुन नसकिएको हो?
उत्पादनसँगै माग पनि बढ्दै गएको छ। तर, भाइटीकामा एकै दिन धेरै माला चाहिने भएकाले पुर्याउन नसकिएको हो। फूल नफुल्ने बेलामा विवाहको लगन पर्ने भएकाले पनि माग र आपूर्तिको तालमेल मिलाउन गाह्रो भएको छ। आत्मनिर्भरताका लागि उच्च प्रविधिमा जानु आवश्यक छ तर, त्यसका लागि सरकारको सहयोग आवश्यक छ।