१३-१९ वैशाख २०७२ | 26 April - 2 May 2015

'राम्रो अंग्रेजीले विद्यार्थी तान्यो'

Share:
  

निजी विद्यालयले शुल्क बढाएपछि सामुदायिक विद्यालयमा विद्यार्थी बढ्न थालेको सन्दर्भमा नेपाल शिक्षक महासंघका अध्यक्ष केशव निरौला भन्छन्, “सामुदायिक विद्यालयले घाँस–दाउरा, मेलापात गर्ने, अर्काको घरमा भाँडा माझ्ने विद्यार्थी अस्वीकार गर्दैन।”

विक्रम राई
निजी स्कूलले शुल्क बढाउने भएपछि सामुदायिक विद्यालयमा विद्यार्थी बढ्न थालेका हुन्?

धेरै कारणमध्ये शुल्क एउटा कारण होला। तर आकर्षणको मुख्य कारण सामुदायिक विद्यालयले दिने स्तरीय शिक्षा नै हो। अंग्रेजी विषयलाई प्राथमिकता दिएर पढाउन थालेका छौं। कक्षा नियमित हुन्छ।

सामुदायिक विद्यालय शिक्षालाई निजी सरह बनाउन के गर्नुपर्छ?

विशुद्ध नाफाको उद्देश्यले खोलिएका विद्यालय र सर्वसाधारण नेपालीका सन्तान पढ्ने विद्यालयबीच तुलना नै गलत हो। अर्को कुरा परीक्षामा धेरै नम्बर ल्याउनुलाई नै राम्रो शिक्षा भन्नु पनि भ्रम हो। निजी विद्यालयले पढाउँदैनन्, परीक्षा पास गर्ने मात्रै तालीम दिन्छन्।

सरकारी लगानी अनुसार सामुदायिक विद्यालयले प्रतिफल दिन नसक्नुका कारण के हुन्?

सामुदायिक विद्यालयले पैसा र क्षमताका आधारमा छानी छानी विद्यार्थी भर्ना गर्दैनन्। साँझ–बिहान घाँस–दाउरा गर्ने, मेलापात जाने, अर्काको घरमा भाँडा माझ्ने विद्यार्थीले पढ्ने पनि सामुदायिकमै हो। सरकारले सार्वजनिक शिक्षालाई प्राथमिकता दिएर लगानी वृद्धि गर्नुपर्छ। विद्यालय व्यवस्थापनमा स्वार्थ समूहको भागबन्डा हुनुहुँदैन।

निजीमा भन्दा राम्रो सुविधा पाए पनि सामुदायिक विद्यालयका शिक्षक गम्भीर छैनन् भन्ने आरोप छ नि!

१० वर्ष पहिलेको कुरा भिन्दै थियो, तर अहिले सामुदायिक विद्यालयमा पनि नियमित पढाइ हुन्छ। हामीले पनि नियम अनुसार पाइने भन्दा बढी विदा लिएका छैनौं। कर्तव्य पालना नगरी अधिकार पाइँदैन भन्ने कुरा शिक्षकले पनि बुझ्नु पर्दछ।

कहिलेकाहीं सामुदायिक विद्यालयका शिक्षक र पार्टी कार्यकर्ता छुट्टिन गाह्रो पर्छ। यस्तो किन भएको?

शिक्षकको पहिलो दायित्व विद्यार्थीको पढाइ नै हो। व्यवस्थापन समितिले नियुक्त गरेका शिक्षकमा धेरथोर राजनीतिक प्रभाव देखिने गरेको छ। शिक्षक नियुक्तिका लागि संवैधानिक आयोग बनाउनुपर्दछ।

comments powered by Disqus

रमझम