२७ वैशाख - २ जेठ २०७२ | 10-16 May 2015

'जमीन सर्दैमा आत्तिनुपर्दैन'

Share:
  

महाभूकम्पपछि काठमाडौं उपत्यका आसपासको जमीन १.८२ मीटर दक्षिण–पश्चिम सरेको बारे नापी विभागका महानिर्देशक मधुसूदन अधिकारी भन्छन्, “भूकम्पपछि जमीन सर्ने, उँचाइ बढ्ने भए पनि व्यक्तिगत जग्गाको नापी नक्शा वा स्वामित्वमा फरक पर्दैन।”

गोपेन राई
भूकम्पपछि उपत्यका आसपासको जमीन दक्षिण सरेको र १.१६ सेन्टिमीटर बढेको भनिएको छ। यो भनेको के हो?

ग्लोबल पोजिसनिङ सिस्टम (जीपीआरएस) को आधारमा भूकम्प जानुअघि र पछिको रेकर्ड हेर्दा उपत्यका आसपासको जमीन सरेको र उँचाइ बढेको देखिएको हो। नगरकोटमा जमीन १.८२ मीटर दक्षिण, थोरै पश्चिम सरेको छ भने १.१६ सेन्टिमीटर उँचाइ बढेको छ। फुलचोकीमा पनि जमीन ०.९२ दक्षिण, थोरै पश्चिम सरेेको र उँचाइ ०.६३ सेन्टिमीटर बढेको छ।

भूकम्पमा के कारणले जमीन सर्छ?

भूकम्प जाँदा जमीनमुनिको चट्टानका पत्रहरू बाङ्गिने र धेरै बाङ्गिन नसकेपछि भाँचिने गर्दछ। जसको असर जमीनको सतहसम्म पुगेको हो। जमीनको अवस्थितिमा फरक पर्नुको कारण यही हो।

उपत्यका बाहिरको अवस्था चाहिं कस्तो छ?

नुवाकोट कुमरीको जमीन १.७१ मीटर दक्षिण, थोरै पश्चिम सरेको छ भने उँचाइ ०.०९ सेन्टिमीटर बढेको छ। अन्य भागको अध्ययन हुनै बाँकी छ। यसका लागि स्रोत र जनशक्तिको आवश्यकता पर्दछ।

जमीन सर्दा व्यक्तिगत जग्गाको कित्ता, नापी नक्शा वा स्वामित्व आदिमा के कस्तो असर पर्छ?

व्यक्तिको जग्गाको नक्शा वा स्वामित्वमा केही फरक पर्दैन। विभागले नगरकोटमा रहेको बेस स्टेसनको अवस्थिति भने समायोजन गर्नुपर्दछ। यसका लागि देशभरिकै स्टेसनको अवस्थिति अवलोकन गर्नुपर्दछ। जुन निकै खर्चिलो र समय लाग्ने काम हो।

जमीन सर्दा प्राकृतिक विपत्को सम्भावना कत्तिको हुन्छ?

जमीन सरेकै कारण विपत् आउँदैन। जमीन सर्नु प्राकृतिक विपत्को नतीजा हो, कारण होइन। आत्तिनुपर्दैन।

comments powered by Disqus

रमझम