३-९ जेठ २०७२ | 17-23 May 2015

'दोहोरो जिम्मेवारी पूरा गर्‍यौं'

Share:
  

१२ वैशाखको महाभूकम्पपछिको सुरक्षा व्यवस्थाबारे नेपाल प्रहरीका प्रवक्ता कमलसिं बम दाबी गर्छन्, “महाविपत्मा उद्धार र राहतमा जुट्दै शान्ति सुरक्षा कायम राख्न प्रहरी सफल भएको छ।”

गोपेन राई
महाभूकम्पपछिको उद्धारमा नेपाल प्रहरीले के के गर्‍यो?

घाइतेको उद्धार, उपचारदेखि राहत कार्यमा नेपाल प्रहरी अग्रस्थानमा रहँदै आएको छ। मानवीय क्षति सकेसम्म रोक्नु हाम्रो पहिलो प्राथमिकता थियो। पक्की घरमा पुरिएकाको समेत उद्धार गर्‍यौं। विदेशी उद्धार टोली ८–१० दिनमै फिर्ता पठाइएको अर्थ बाँकी उद्धार आफैं गर्न सक्छौं भन्ने नै हो। 'फर्स्ट रेस्पोन्डेन्ट' को रुपमा प्रहरीले जे गर्नुपर्थ्यो त्यो गर्‍यो भन्ने लाग्छ।

उद्धार र राहतमा प्रहरी जनशक्तिको परिचालन कसरी गरिएको छ?

तत्काल उद्धार र राहतमा ४४ हजार प्रहरी परिचालित गरिए। अहिले पनि काम सकिएको छैन।

महाभूकम्पपछिको सुरक्षा व्यवस्था चुस्त नभएको गुनासो आइरहेको छ नि?

महाविपत्का बेला प्रहरीको दोहोरो जिम्मेवारी हुन्छ, भएभरका जनशक्ति परिचालन गरेर उद्धारमा लाग्ने र नियमित शान्ति सुरक्षा कायम राख्ने। दुवै भूमिकामा हामी असफल भएनौं।

प्रहरी उद्धारमा केन्द्रित हुँदा अपराधको तथ्यांक कस्तो छ?

चोरीका केही घटना नभएका होइनन्। तर, तपाईं पत्याउनु हुन्न होला, भूकम्पपछि अपराधका घटनामा कमी आएको तथ्यांक छ।

महाविपत्का बेला सुरक्षाका लागि प्रहरीले विशेष कार्यक्रम ल्याउनुपर्दैन?

विशेष कार्यक्रमभन्दा पनि जनशक्ति परिचालन महत्वपूर्ण विषय हो। प्रहरीका सबै निकाय र तहका जनशक्ति उद्धार र गस्तीमा खटाएका छौं। सरकारले संकटग्रस्त घोषणा गरेका १४ जिल्लामा अन्यत्रबाट पनि जनशक्ति बोलाइएको छ। उद्धार प्रभावकारी बनाउन जिल्ला सदरमुकाममा एसएसपी र निर्वाचन क्षेत्रमा डीएसपीलाई नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ।

comments powered by Disqus

रमझम