१०- १६ जेठ २०७२ | 24-30 May 2015

विद्यालयलाई मनोसामाजिक परामर्श दिन्छौं'

Share:
  

१२ वैशाखको महाभूकम्प र त्यसपछिका कम्पनबाट अति प्रभावित १५ जिल्लामा एक महीनादेखि बन्द विद्यालय सञ्चालन सम्बन्धमा शिक्षा विभागका महानिर्देशक डा. डिल्लीराम रिमाल भन्छन्, “शैक्षिक भवन ठूलो भूकम्प आउँदा समेत मानवीय क्षति नहुने किसिमको बनाउनुपर्दछ।”

विद्यालय सञ्चालनको तयारी कस्तो छ?

२९ वैशाखमा ७.३ म्याग्निच्यूडको भूकम्प नआएको भए १ जेठबाट विद्यालय सञ्चालनमा आउनेथिए। तर १५ जेठसम्म यसअघि नै विदा घोषणा गरिसकेकाले १७ जेठदेखि विद्यालय सञ्चालन गर्ने तयारी छ।

भूकम्पको धक्का खाएका विद्यार्थीको मानसिकतालाई ध्यानमा राखेर कुनै योजना बनेको छ?

विद्यार्थीको मानसिकतामा नकारात्मक असर नपरोस् भनेर कार्यक्रमको प्याकेज नै बनाएका छौं। विद्यालय खुलेको पहिलो हप्ता विद्यार्थीलाई परामर्श दिन निर्देश गरेका छौं। परामर्शका लागि शैक्षिक जनशक्ति विकास केन्द्रले काम गरिरहेको छ। विद्यालय खुल्नुभन्दा पहिला नै शिक्षकलाई मनोसामाजिक परामर्श दिइसक्छौं।

विद्यालयको भौतिक अवस्था कस्तो पाउनुभएको छ?

महाभूकम्पबाट अति प्रभावित १५ जिल्लाका जिल्ला शिक्षा अधिकारीहरूसँग छलफल गरिसकेका छौं। विद्यालयको भौतिक अवस्थादेखि प्रारम्भिक राहतको विषयमा समेत चर्चा भएको छ। विद्यालय भवनहरू प्रयोग गर्नै नमिल्ने, मर्मत गरेर प्रयोग गर्न सकिने र तत्काललाई काम दिने खालका छन्।

भत्केका/चर्केका भवनमा पढाइ कसरी हुन्छ?

रातो स्टीकर लागेका भवनमा पढाउन मिल्दैन। यस्ता विद्यालयले अस्थायी कक्षाको व्यवस्था गर्नुपर्दछ। अस्थायी कक्षाका लागि अर्थ मन्त्रालयसँग बजेट मागेका छौं।

महाभूकम्पपछि शिक्षा क्षेत्रमा के कस्ता परिवर्तन आउला?

प्रत्येक शैक्षिक भवन ठूलो भूकम्प आउँदा समेत मानवीय क्षति नहुने किसिमको बनाउनुपर्दछ। तर भवन बलियो बनाएर मात्रै पुग्दैन। पाठ्यक्रममै भूकम्पबाट कसरी जोगिने भन्ने विषय महत्वका साथ समेट्नुपर्दछ। यसका लागि पाठ्यक्रम विकास केन्द्रले काम गरिरहेको छ। भूकम्पबाट त्रसित हुने होइन यसबाट बच्ने शिक्षा चाहिन्छ।

comments powered by Disqus

रमझम