३१ जेठ - ५ असार २०७२ | 14-20 June 2015

'एमनेष्टीले माफी माग्नुपर्छ'

Share:
  

२८ जेठमा एमनेष्टीका संस्थापक सभापति कृष्ण पहाडीले 'गल्ती' नसच्याए एमनेष्टी इन्टरनेशनलको अभियानमा सहयोग नगर्ने घोषणा गरे। त्यसको भोलिपल्ट पहाडीकै बाटोमा लागेका एमनेष्टी नेपालका पूर्व सभापति कृष्ण कँडेल भन्छन्, “सिके राउत प्रकरणमा एमनेष्टीले माफी माग्नुपर्दछ।”

गंगामाया अधिकारी र सिके राउत प्रसंगमा एमनेष्टी इन्टरनेशनल कसरी जोडियो?

हामीले छुट्टै राज्य माग गर्ने र हिंसात्मक गतिविधिमा बल पुर्‍याउने सिके राउतको पक्षमा एमनेष्टी इन्टरनेशनल लागेको आभास पायौं। अर्कोतिर न्यायका लागि सत्याग्रहमा बसेका नन्दप्रसाद अधिकारीले मृत्युवरण गर्दा समेत एमनेष्टी मौन बस्यो। ऊ हिंसाको पक्ष र न्यायको विपक्षमा उभिए जस्तो देखियो।

सिके राउतको पछि एमनेष्टी छ भन्न खोज्नुभएको हो?

सिके राउतको विषयमा एमनेष्टीको धारणा विश्लेषण गर्दा मलाई त्यस्तै लाग्छ। पक्राउ परेका व्यक्तिबारे निष्पक्ष सुनुवाइ होस् भनेर एमनेष्टीले लविङ गर्ने हो, पक्षमा बोल्ने होइन। हिंसाको पक्षमा बोल्ने काम एमनेष्टीको होइन भन्ने मेरो ठहर हो।

नन्दप्रसाद अधिकारी मृत्युमा एमनेष्टी कहाँनेर चुक्यो?

न्यायका लागि अनसनमै हुँदा नन्दप्रसादले ज्यानै गुमाए। उनलाई न्याय दिन एमनेष्टीले दबाब दिनुपर्दथ्यो, दिएन। स्थानीय तहको दबाब राज्यले नसुनेको अवस्थामा एमनेष्टीले धेरै कुरा गर्न सक्थ्यो।

एमनेष्टीविरुद्ध तपाईंको विरोधले के अर्थ राख्ला?

म एमनेष्टीको विपक्षमा उभिएको होइन। दुई वटा मुद्दामा असहमति भएकाले 'ब्याक' भएको हो। उसैलाई विश्वसनीय बन्न दबाब दिएको हो। यसको अर्थ मैले होइन, उसैले लगाउनुपर्छ।

तपाईंको विचारमा अब एमनेष्टीले के गर्नुपर्छ?

सिके राउत प्रकरणमा एमनेष्टीले माफी माग्नुपर्दछ। नन्दप्रसादको निधनपछि गंगा**मायासँग गरेको प्रतिबद्धता पूरा गराउन सरकारलाई दबाब दिनुपर्दछ। गंगामायालाई नन्दप्रसादको जस्तो मर्न दिनुहुन्न।

comments powered by Disqus

रमझम