२०-२६ असार २०७२ | 5-11 July 2015

'पुनःनिर्माणमा सरकारसँग सहकार्य गर्छौं'

Share:
  

१६ असारमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित पशुपति मुरारका भन्छन्, “महासंघमा सबैलाई समेटेर हिजोको घाउ निको पार्ने प्रयत्न गर्छु।”

अध्यक्ष पदका दुई जना प्रत्यासीलाई कसरी सहमतिमा ल्याउनुभयो?

सहमतिका लागि पूर्व अध्यक्ष र जिल्लाका साथीहरूले विशेष भूमिका निर्वाह गर्नुभयो। १९–२० महीना मात्रै कार्यकाल भएको र ५०औं स्वर्णजयन्ती मनाउने वेलामा निर्वाचनमा गएर तिक्तता बढाउनु भन्दा सहमतिमा जानु बेस भन्नेमा पुग्यौं। यसअघि म वरिष्ठ उपाध्यक्ष भएको नाताले पनि होला अध्यक्ष पदका दुवै उम्मेदवारले मलाई जिम्मेवारी दिने सदासयता देखाउनुभयो। मेरो मध्यमार्गीपन पनि सहायक बन्यो होला!

नयाँ अध्यक्षका हैसियतले के कस्ता चुनौती देख्नुहुन्छ?

मुख्य चुनौती भनेको अहिले देखिएको एकताको निरन्तरता हो। घाउ निको हुन समय लाग्ला। तर, एक नभई निजी क्षेत्रको हितमा काम गर्न सकिन्न। महाभूकम्पले धरासायी साना तथा मझौला उद्योगीको समस्या सम्बोधन गर्नुछ। श्रम ऐन, कम्पनी ऐन पारित गराउने चुनौती छ।

महासंघमा देखिएको यो एकता दीर्घकालीन बनाउन के गर्नुहुन्छ?

महासंघभित्रको विवाद वैचारिक होइन। सबैको उद्देश्य भनेकै निजी क्षेत्र बलियो बनाउनु हो। यसअघि जित्नेले उन्माद देखाउने र हार्नेले परिणाम नस्वीकार्ने प्रवृत्तिले विवाद देखिएको थियो। म सबैलाई समेट्ने प्रयत्न गर्नेछु।

महाभूकम्पपछिको पुनःनिर्माणमा निजी क्षेत्रको न्यून सहभागिताप्रतिको गुनासोलाई कसरी हेर्नुभएको छ?

राज्यसँग बजेट छ तर खर्च गर्ने संयन्त्र छैन। यसमा जिल्ला जिल्लामा संयन्त्र भएको महासंघको भूमिका महत्वपूर्ण हुन सक्छ। पब्लिक–प्राइभेट पार्टनरसिप वा अन्य जुनसुकै मोडलमा महासंघ सरकारसँग सहकार्य गर्न तयार छ।

संविधानको मस्यौदाबारे व्यवसायीहरुको धारणा के छ?

निजी क्षेत्रका लागि संविधानमा के के प्रावधान आवश्यक छ भन्ने विषयमा हामीले सुझाव दिइसकेका थियौं। बजारमुखी अर्थतन्त्र र सम्पत्तिमाथिको अधिकार हाम्रो मुख्य चासोका विषय हुन्। साथीहरू मस्यौदा अध्ययनमा लाग्नुभएको छ। केही दिनमा सामूहिक धारणा सार्वजनिक गर्छौं। आवश्यक परे संशोधनको माग राख्छौं।

comments powered by Disqus

रमझम