१०-१६ असोज २०७२ | 27 Sep - 3 Oct 2015

'आश्चर्यजनक नतीजा निकाल्छौं'

Share:
  

३ असोजमा किर्गिस्तानमा सम्पन्न दि एशियन फूटबल कन्फेडेरेसन (एएफसी) यू–१६ च्याम्पियनसिप छनोटमा दोस्रो चरणमा पुग्न सफल यू–१६ टीम नेपालका प्रशिक्षक उपेन्द्रमान सिं भन्छन्, “आश्चर्यजनक नतीजा निकालेर यू–१७ विश्वकप खेल्ने योजना छ।”

किर्गिस्तानमा युवा टोलीको प्रदर्शन कस्तो रह्यो?
जोर्डन र किर्गिस्तानसँग अपेक्षाभन्दा राम्रो भयो। अन्तिम खेलमा ओमानसँग चाहे जस्तो खेल्न सकेनौं। दुई खेलमा गरेको मिहिनेतको भरमा फाइनल चरणका लागि छनोट भयौं। भाग्यले पनि साथ दियो भन्नुपर्छ।

अब भारतमा हुने फाइनल चरणको छनोट प्रतियोगिताको तयारी कस्तो छ?

खास तालीम तिहारपछि शुरु हुन्छ। तालीमका लागि पर्याप्त समय पनि छ। त्यसैले दीर्घकालीन योजनासहित तयारी गर्छौं। युवा खेलाडीहरूमा भएको अनुभवको कमीलाई पूर्ति गर्न बलिया देशहरूसँग अभ्यास खेल्छौं।

किशोर टोलीले यू–१७ विश्वकपमा पुग्ने सपना देखेको छ त?

विपक्षीहरू निकै बलिया छन्। तर फूटबल भनेकै सम्भावनाको खेल हो। यू–१७ विश्वकप खेल्न १६ टीममध्ये अन्तिम चारमा पर्नैपर्छ। हामी तयार छौं। आश्चर्यजनक नतीजा निकाल्दै विश्वकप खेल्ने योजना छ।

उमेर समूहमा झै राष्ट्रिय टीमको प्रदर्शन सशक्त नहुनुको कारण के हो?

अरु देशमा युवा टोली कमजोर र राष्ट्रिय टोली बलियो हुन्छ। उमेर बढ्दै जाँदा थपिने जिम्मेवारी, पूर्ण व्यावसायिक क्लब नहुनु जस्ता कारणले यसो भएको हो। अखिल नेपाल फूटबल संघको कार्यक्रम पनि १६ वर्षसम्मका लागि मात्रै सीमित छ।

सन् १९९१ देखि २००५ सम्म राष्ट्रिय टोलीमा रहनुभयो, कप्तान पनि बन्नुभयो। त्यो वेला र अहिलेको नेपाली फूटबलको स्तर कत्तिको फरक छ?

खेल्ने तरीका, प्राविधिक पक्ष, गति सबै हिसाबले अहिलेको टोली राम्रो छ। हाम्रो पालामा जस्तो गोजीको पैसाले खानुपर्ने अवस्था पनि छैन। तर, त्यो वेलाको जस्तो जोश अहिले देखिंदैन। देशका लागि भनेपछि मरेर खेलिन्थ्यो। अहिले राष्ट्रिय टोलीमा छानिनका लागि समेत खेलाडी नआउने अवस्था छ।

comments powered by Disqus

रमझम