१५-२१ कात्तिक २०७२ | 1-7 November 2015

'राष्ट्रहित सोचे समाधान निस्कन्छ'

Share:
  

व्यवस्थापिका–संसद्का नवनिर्वाचित उप–सभामुख गंगाप्रसाद यादव भन्छन्, “सबै भूगोलका जनताले समान अधिकार पाउनुपर्छ तर यसका नाममा जनतामाथि नै कष्ट थोपर्नु हुन्न।”

उप–सभामुखका हैसियतमा तपाईंका प्राथमिकता के के छन्?

सभामुखको अनुपस्थितिमा सबै काम उपसभामुखले गर्ने हो। नयाँ संविधान कार्यान्वयनको ऐतिहासिक चरणमा मैले यो जिम्मेवारी पाएको छु। संविधानले दिएको तटस्थ पदको भूमिका सफलतापूर्वक निर्वाह गर्नेछु।

नयाँ संविधानको सफल कार्यान्वयनमा विश्वस्त हुनुहुन्छ?

पहिलो पटक संविधानसभाबाट बनेको संविधान कार्यान्वयन हुनै पर्दछ। कसैको असहमति छ भने संशोधन गर्न सकिन्छ। तर, कार्यान्वयनमा व्यवधान खडा गरिनुहुन्न।

संविधानप्रति असहमति जनाउँदै प्रदर्शनमा उत्रिएको मधेशी मोर्चालाई के भन्नुहुन्छ?

नयाँ संविधानप्रतिका असहमति सम्बोधन गर्न मोर्चा र सरकार दुवैले पहल गर्नुपर्दछ। म उहाँहरूको मागबारे टिप्पणी गर्न चाहन्न। हिमाल, पहाड, तराई सबै भूगोलका जनताले समान अधिकार पाउनुपर्दछ भन्नेमा विमति रहेन। तर यसका नाममा जनतामाथि नै कष्ट थोपर्नु हुन्न।

समस्याको निकास के त?

वार्ताबाटै निकास निकाल्नुपर्दछ। यो सम्भव छ। पहाड र मधेश एकै रथका दुई पाङ्ग्रा हुन्। एउटा बिग्रियो भने अर्कोले मात्र रथ चल्न सक्दैन। राजनीतिक सहमति र कूटनीतिक पहल भयो भने समाधान नजिक छ।

संविधान संशोधनमा संसद्को दुईतिहाइ जुट्न सम्भव होला?

यसको जवाफ मैले भन्दा पनि शीर्ष नेताहरूले दिंदा उपयुक्त होला। तर यति भन्न सक्छु कि देशलाई केन्द्रमा राखेर सोच्ने हो भने असम्भव केही छैन। सहमति भएका वेला दुईतिहाइ त प्राविधिक विषय मात्र बन्न पुग्छ।

comments powered by Disqus

रमझम