५-११ पुस २०७२ | 20-26 December 2015

'पर्यटन क्षेत्र बचाउनेतर्फ लाग्नेछु'

Share:
  

चार वर्षको रिक्ततापछि २ पुसमा नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त दीपकराज जोशी गिर्दो पर्यटन उद्योग बचाउनु नै आफ्नो प्राथमिकता रहेको बताउँदै भन्छन्, “अहिलेको प्रमुख चुनौती पर्यटन क्षेत्रको 'सर्भाइभल' नै हो।”

विक्रम राई
मुलुकको पर्यटन क्षेत्रको अवस्था कस्तो छ?

पर्यटकको संख्या वार्षिक आठ लाखबाट तीन लाखमा झारेको छ। त्यसैले पर्यटन व्यवसायीको आत्मबल गिरेको छ। भूकम्पको प्रभाव भन्दा पनि आपूर्तिमा आएको समस्याले अझ अप्ठ्यारो पारेको छ। यस्तो वेला 'रिभाइभल' भन्दा 'सर्भाइभल' कै प्रश्न अहम् छ।

नयाँ कार्यकारी अधिकृतको रुपमा 'सर्भाइभल' का लागि तपाईंका योजना के के छन्?

तत्काल केन्द्रीकृत बजारीकरणमा जानुको विकल्प छैन। हामी त्यसतर्फ बढ्नेछौं। अन्तर्राष्ट्रिय ट्रेड फेयरहरुमा भाग लिन्छौं। कूटनीतिक माध्यम र मुख्य बजारमा प्रभावशाली दूतावास, नियोग र एनआरएनलगायतका संस्थाको सहयोगमा काम गर्ने सोचाइमा छौं। प्रचारप्रसारमा सामाजिक सञ्जालमा सक्रिय हुनेछौं।

कस्ता पर्यटकलाई नेपाल भित्र्याउन सकिएला?

खर्च गर्ने क्षमताका दृष्टिले हाम्रो आँखा पश्चिमा मुलुकका पर्यटकमै जाने गरेको हो। विभिन्न पश्चिमा मुलुकमा आतंकवादी हमलापछि उनीहरूको विदेश घुम्ने गतिविधिमा परिवर्तन आइरहेको छ। तर, त्यसबाट नेपालजस्तो देशले भने फाइदा लिन सक्छ। जसमा, रसिया, अस्टे्रलिया, जापान, दक्षिणकोरियाका पर्यटक हुनसक्छन्। रणनीतिक हिसाबले काम थाले तीनदेखि ६ महीनामै सकारात्मक नतीजा दिन सकिन्छ भन्नेमा आशावादी छु।

रणनीति भन्नाले?

गन्तव्य मुलुकका रुपमा नेपालको जस्तै बोर्डको छवि पनि गिरेको छ। यसका लागि प्रभावकारी स्रोत परिचालनसँगै सिर्जनशील काम गर्न जरुरी छ। त्यसैले चारवर्षे कार्यकालका लागि तीन प्रकारका रणनीति बनाएको छु। पहिलो वर्ष 'सर्भाइभल' नै हुनेछ। दोस्रो र तेस्रो वर्ष पर्यटन व्यवसाय पुरानै अवस्थामा फर्काउन 'रिभाइभल' चरणमा लाग्नेछु। चौथो वर्ष 'बिल्डिङ ब्याक बेटर' का लागि काम गर्नेछु।

पर्यटन गुरुयोजना कहिले बन्ला र लागू होला?

गुरुयोजना त चाहिन्छ नै। तर, त्योभन्दा बढी तत्कालको संकट टार्ने हो। त्यसका लागि अल्पकालीन योजना तय गर्नु आवश्यक छ।

comments powered by Disqus

रमझम