१०-१६ माघ २०७२ | 24-30 January 2016

इन्फोटेक कोसेढुंगा बनेको छ

Share:
  

१५ माघदेखि काठमाडौंमा शुरु हुने 'सुविसु क्यान इन्फोटेक २०१६' आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का अध्यक्ष विनोद ढकाल भन्छन्, “सरकारले चासो दिने हो भने देशले सफ्टवेयर निर्माणबाट आर्थिक फड्को मार्न सक्छ।”

गोपेन राई
यसपटकको क्यान इन्फोटेकमा नयाँ के छ?

सूचनाप्रविधि सम्बन्धी मेला भएकाले जुनसुकै सामग्रीको नयाँ संस्करण उपलब्ध छन्। हार्डवेयर सेल्स मेन्टिनेन्स्, पावर सोलुसन्स्, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स्, आईसीटी कलेज तथा ट्रेनिङ इन्स्टिच्यूट्स्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् लगायत इन्फोटेकका आकर्षण हुन्। इन्टरनेट सेवा प्रदायकहरु विशेष छूटका साथ आएका छन्।

इन्फोटेक ज्ञान र सूचनाका लागि नभई व्यापारिक स्थल मात्र बनिरहेको जस्तो लाग्दैन?

नवीनतम सूचनाप्रविधि एकै ठाउँमा देखाउनु हाम्रो प्रमुख उद्देश्य हो। त्यसैले पनि हामी इन्फोटेकमा आईसीटी सम्मेलन गर्छौं। सहभागी व्यवसायीहरूलाई पनि इन्फोटेकलाई व्यापारिक केन्द्र मात्र नबनाई सम्पर्कस्थल बनाउनुस् भनेका छौं।

नेपालले सूचनाप्रविधिमा के कस्ता उपलब्धि हासिल गर्न सक्छ?

सरकारले चासो दिने हो भने खासगरी सफ्टवेयर निर्माणमा उल्लेखनीय प्रगति गर्न सक्छौं। त्यसैबाट समृद्ध हुन सक्छौं। प्रविधिलाई कहिले सञ्चार र कहिले विज्ञान मन्त्रालयमा सारिरहनुको मात्र कुनै अर्थ छैन।

वर्षेनि आयोजना हुने इन्फोटेक त्यस्ता उपलब्धि हासिल गर्नेतर्फ उन्मुख छ?

सूचनाप्रविधि क्षेत्रको प्रवर्द्धनात्मक भूमिकाका लागि इन्फोटेक कोसेढुंगा हो। यसले जनचेतना अभिवृद्धि गरी ग्राहकलाई प्रविधिनजिक ल्याउन योगदान गरिरहेको छ।

तर, कसरी?

इन्फोटेक आयोजना गर्न थालेको २२ वर्ष भयो। क्यान सफ्टटेक, नेसनल आईसीटी डे, आईसीटी कन्फ्रेन्स लगायतका गतिविधि पनि गरिरहेका छौं। सरकारसँगको सहकार्यमा आईसीटीको एड्भोकेसी, एडभाईजरी र कार्यान्वयन पनि गर्दै आएका छौं। प्रविधि हस्तान्तरण, आयात, निर्यात र प्रविधिसम्बन्धी राष्ट्रिय नीतिनिर्माणमा पनि आवश्यक भूमिका खेलेका छौं।

comments powered by Disqus

रमझम