नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरे भन्छन्, “१६–१७ दिनको इन्धन भण्डारण क्षमता वृद्धि गरेर कम्तीमा तीन महीनालाई पुग्ने बनाउनुपर्दछ।”
आवश्यकता पूरा हुने गरी इन्धन भित्रिसकेको छैन। जस्तो ग्याँस दैनिक ५५–६० बुलेट आवश्यक रहेकोमा ३०–४० बुलेट मात्रै आइरहेको छ। पेट्रोलियम पदार्थको पनि अवस्था झन्डै उस्तै छ। तर इण्डियन आयल कर्पोरेशनले केही दिनभित्रै नियमित रुपमा इन्धन दिने जानकारी दिएको छ।
नाका खुलिसक्दा पनि उपभोक्ताले सहज रुपमा तेल, ग्याँस नपाउनुको कारण के हो?
६० प्रतिशत इन्धन आयात हुने नाका चार–पाँच महीना अवरुद्ध हुँदा ठूलो प्रभाव पर्ने नै भयो। केही कागजपत्र मिलाउनुपर्ने र सार्वजनिक विदाका कारण तुरुन्तै आपूर्ति सहज हुन सकेन। वितरण प्रणाली पनि चाहे जत्तिको प्रभावकारी हुनसकेको छैन। यद्यपि आपूर्ति क्रमशः सहज हुँदै जान्छ।
इन्धन कहिलेदेखि सहज होला?
पेट्रोल, डिजल, मट्टीतेल एक हप्ता भित्र र एलपी ग्याँस एक महीनामा सहज भइसक्छ। यद्यपि त्योभन्दा छिट्टै आपूर्ति व्यवस्थालाई सामान्य तुल्याउने प्रयास जारी छ।
चीनबाट इन्धन ल्याउने विषयमा के भइरहेको छ?
चीनबाट इन्धन आयात गर्ने विषय अझै पनि छलफलकै क्रममा छ। प्रधानमन्त्रीको चीन भ्रमणपछि मात्रै यो विषयमा ठोस निर्णय होला जस्तो लाग्छ।
इन्धन भण्डारणको विषयमा यो नाकाबन्दीबाट नेपालले सिक्नुपर्ने पाठ के के हुन्?
देशभरिका १० डिपोमा गरेर हाम्रो भण्डारण क्षमता ७१ हजार ६२२ किलोलीटर छ। यसले १६–१७ दिनलाई मात्रै पुग्छ। त्यसमा पनि डिजल २०–२२ दिन र पेट्रोल एक हप्तालाई मात्रै पुग्छ। अब कम्तीमा तीन महीनालाई पुग्ने इन्धन भण्डारण गर्नुपर्दछ। नाकाबन्दीपछि काभ्रेको पाँचखाल, नुवाकोटको बेत्रावती र रुपन्देहीको खैरेनीमा डिपो बनाउने विषयमा छलफल भएको छ। भण्डारण क्षमता बढाउन हामी गम्भीर भएर लाग्नुको विकल्प छैन।