'ट्रान्ससिपमेन्ट रोक्ने चुनौती छ'

Share:
  

नेपाली तयारी पोशाकलाई भन्साररहित सुविधा दिने अमेरिकी कानून व्यवस्थाका सन्दर्भमा नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष चण्डीप्रसाद अर्याल भन्छन्, “यसको लाभ लिन व्यवसायी मात्र होइन, सरकार पनि अग्रसर हुनुपर्छ।”

नेपाली तयारी पोशाकमा छूट दिने अमेरिकी नीतिको अर्थ के हो?

१२ वैशाखको महाभूकम्पपछि नेपालको आर्थिक पुनरुत्थानमा सघाउन अमेरिकाले कोट ब्लेजर, सर्ट, टीसर्ट, भित्री बस्त्र, टोपी ह्याट, ऊनी कपडा, पश्मिनालगायत ६६ वस्तुमा भन्सार छूट दिने भएको छ। जस अनुसार हामीले आगामी १० वर्षसम्म वार्षिक ९ अर्ब डलर बराबरको सामान निर्यात गर्न पाउने छौं।

रु.१२ अर्बबाट रु.५ अर्बमा खुम्चिएको तयारी पोशाक निर्यात बढाउन यो निर्णयले कसरी मद्दत गर्छ?

हाम्रो तयारी पोशाक ८५ प्रतिशत अमेरिका नै निर्यात हुने भएकाले यो नीति अत्यन्त सकारात्मक छ। तर उनीहरूले निर्णय गर्दैमा मालामाल भइँदैन। नेपाल आफैंले तयारी गर्न बाँकी नै छ।

यो सुविधाबाट लाभ लिन नेपालले के गर्नुपर्छ?

यो सुविधा १० वर्षका लागि मात्रै भएकाले युद्धस्तरमा तयारी थाल्नुपर्छ। बन्द, हड्ताल गर्न नपाइने श्रम नीति बनाउनुपर्छ। सहुलियत दरमा ऋण दिने नीति बनाउनुपर्छ। कमर्सियल ब्यांकलाई निश्चित प्रतिशत ऋण निर्यात क्षेत्रमा प्रवाह गर्न राष्ट्र ब्यांकले निर्देशन दिनुपर्छ।

तयारी पोशाक उत्पादन र निर्यातका खास समस्या के हुन्?

भूपरिवेष्ठित देश भएकाले ढुवानी खर्चिलो छ, जसले वस्तुको लागत बढाउँछ। समयमा सामान 'डेलिभरी' नहुँदा सधैंका लागि 'अर्डर' खारेज हुने अवस्था छ। निर्यात सवारी पनि पानी, एम्बुलेन्स जस्तै बन्द, हड्तालमा निर्वाध चल्ने व्यवस्था मिलाइनुपर्छ।

गुणस्तरीय तयारी पोशाक उत्पादनका लागि संघको भूमिका के हुन्छ?

गुणस्तरमा खासै समस्या छैन। रु.९ अर्बको कारोबार गर्न सक्दा वर्षेनि १० प्रतिशत बढाउँदै लैजान सकिने व्यवस्था पनि छ। तर, विदेशबाट आयातीत सामान 'मेड इन नेपाल' लेखेर पठाइने खतरा छ। 'ट्रान्ससिपमेन्ट' भनिने यस्तो गल्ती भयो भने यो सुविधा तुरुन्तै खारेज हुन्छ। यसविरुद्ध सरकार र संघ दुवैको कडा निगरानी आवश्यक छ।

comments powered by Disqus

रमझम