७-१३ चैत २०७२ | 20-26 March 2016

'काठ चिन्नै बाँकी छ'

Share:
  

वनस्पति विभागबाट सेवानिवृत्त काष्ठविज्ञ लजमिना जोशी भन्छिन्, “महाभूकम्पपछिको पुनःनिर्माणमा सम्पदा संरक्षणको हिसाबले पनि साल, कदम, सल्लो आदिको प्रयोग गर्नुपर्छ।”

गोपेन राई
काठमाडौंका सम्पदाहरुमा तीन/चारसय वर्ष पुराना काठका मूर्ति अझसम्म जस्ताको तस्तै देखिन्छन्। ती कस्ता काठबाट बनेका हुन्?

पुराना धेरै मूर्ति सालबाट बनेका छन्। तर परीक्षण नगरी कुन मूर्ति केबाट भनेको हो भन्न मिल्दैन। यसका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्छ।

संरक्षण र प्रयोगको हिसाबले काठजन्य वनस्पतिको वर्गीकरण गरिएको छ?

नेपालमा काठको आन्तरिक संरचनाबारे अध्ययन नै भएको छैन। यसको अभावमा वैज्ञानिक वर्गीकरण सम्भव छैन। काठ र कुकाठ भनेको के हो? कुन प्रयोजनमा कस्ता कस्ता काठ उपयोगी हुन्छन्, हाम्रोजस्तो हावापानीमा कस्तो रुख लगाउनुपर्छ भन्नेबारे अध्ययनको खाँचो छ। वनस्पति विभाग र वन विभागले केही काम त गरेका छन्। तर, पर्याप्त छैन।

नेपाली काठ निर्यातको अवस्था कस्तो छ?

गुणस्तरका कारण भारतमा नेपाली सालको माग बढी छ। हामीले निर्यात पनि गरिरहेका छौं। तर, काठजन्य वस्तु आयातमा हामी अगाडि छौं। थोरै ध्यान दिने हो भने सिसौ, सल्लो, टीक आदिको पनि निर्यात सम्भव छ।

महाभूकम्पपछिको पुनःनिर्माणमा कस्ता काठ प्रयोग गरिनुपर्छ?

छिटो र सजिलोका लागि जुनसुकै काठ प्रयोग गर्दा पनि फरक नपर्ला। तर सम्पदा संरक्षणमा कीराले नखाने बलियो सालको काठ प्रयोग गर्नु बुद्धिमानी हुन्छ। कदम, सल्लो, आँपलगायतका काठ पनि आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ।

काठ संरक्षणका लागि के गर्नुपर्ला?

काठको आन्तरिक संरचना पहिचान गर्नु नै संरक्षणको मुख्य काम हो। यसो नभएकाले हामीले आफ्नै सम्पत्ति चिन्न सकेका छैनौं। काठ संरक्षण भनेको जंगलका सुकेका काठ प्रयोग पनि हो। सरकारको ध्यान नपुग्दा धेरै काठ खेर गइरहेको छ।

comments powered by Disqus

रमझम