१९-२५ वैशाख २०७३ | 1-7 May 2016

'क्यान निलम्बनलाई उपयोग गर्नुपर्छ'

Share:
  

१३ वैशाखमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सरकारी हस्तक्षेप र स्वतन्त्र चुनाव नभएको भन्दै निलम्बित नेपाल क्रिकेट संघ (क्यान) की प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे भन्छिन्, “क्यानको समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्दछ।”

आईसीसीले क्यानलाई निलम्बन गर्नुको अर्थ के हो?
व्यवस्थापनमा देखिएको अन्तरिक समस्यालाई कारण देखाउँदै क्यान निलम्बन गरेको आईसीसीले भनेको छ। निलम्बनपछि क्यानको अनुदान रोकिन्छ। तर, हाम्रा खेलाडीहरूले भने खेल्न पाउने छन्।

निलम्बनले जारी विश्व क्रिकेट लीग च्याम्पियनसिपमा कस्तो असर गर्ला?

खासै असर गर्ला जस्तो लाग्दैन। किनभने आईसीसीले चासो देखाएको देशमा क्रिकेट विकास भएको पनि उदाहरण छ। सम्हाल्न सकिने अवस्था देखेरै आईसीसी अघि बढेको जस्तो लाग्छ। अर्को कुरा, सन् २०१४ को अन्त्यदेखि नै अत्यावश्यक बाहेक अनुदान आईसीसीबाट आएकै थिएन।

क्यानको यस्तो अव्यवस्था खेलाडीको प्रदर्शनमा प्रतिबिम्बित नहोला र?

खेलाडीको ध्यान व्यवस्थापकीय कुरामा नजाओस् भन्नेतर्फ हामीले सक्दो प्रयत्न गरेका छौं। विगतका कतिपय कठिन परिस्थिति सुल्झाएरै आएका हौं। तर क्यान निलम्बनको घटना र समग्र देशको अवस्थाले खेलाडीलाई मानसिक रुपमा असर नै गर्दैन भनेर भन्दिनँ।

आईसीसीले भनेजस्तै क्यानमा चरम राजनीतिक हस्तक्षेप सामना तपाईंले पनि त गर्नुभयो होला?

राजनीतिक खिचातानीले राम्रो काम गर्दा पनि जस नदिने र राम्रो प्रस्ताव पनि पारित हुन नदिने समस्या हुँदोरहेछ। क्यानको संरचनामै पनि समस्या छ। केन्द्रीकृत विधान पनि अर्को समस्या हो।

निलम्बनपछि नेपाली क्रिकेटको भविष्य कस्तो देख्नुहुन्छ?

यो घटनालाई सकारात्मक रुपमा उपयोग गर्नुपर्दछ। प्रत्येक सरोकारवालाले क्रिकेट नरहे हाम्रो अस्तित्व पनि रहँदैन भन्ने स्मरण गर्नुपर्छ। क्रिकेट विकासलाई केन्द्रमा राखेर आफ्ना अडानबारे पुनर्विचार गर्नुपर्दछ। मुद्दा अदालतसम्म पुग्नुले विषयको गाम्भीर्यता देखाउँछ। समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्छ।

comments powered by Disqus

रमझम