१२-१८ असार २०७३ | 26 June - 2 July 2016

'लगानी भित्र्याउने प्रचूर सम्भावना छ'

Share:
  

९ असारमा मन्त्रिपरिषद्बाट लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त महाप्रसाद अधिकारी भन्छन्, “देश विकासका लागि ऐतिहासिक काम गर्नुछ।”

लगानी बोर्डमा तपाईंका योजना केके छन्?

स्थापना हुँदा नै ऐन र नियमावलीले बोर्डको मार्गचित्र र कार्यादेश स्पष्ट पारिदिएको छ। त्यहीभित्र रहेर सरकारको नीति तथा योजना कार्यान्वयन गर्न सक्रिय हुनेछु। पर्याप्त मात्रामा 'प्रोजेक्ट ब्याङ्क' कायम गर्ने, धेरै प्रकारका लगानीकर्तालाई निम्त्याउने र तिनलाई प्रवर्द्धन गर्ने काम गर्नेछु।

नेपालमा वैदेशिक लगानीको सम्भाव्यता कस्तो छ?

जलविद्युत्देखि यातायात, कृषि, जडीबुटी र पूर्वाधार निर्माणमा लगानी भित्र्याउने प्रचूर सम्भावना छ। राजनीतिक स्थायित्व नभएकाले नीति स्थिर छैन भन्ने हल्लाले केही लगानीकर्ता डराएका पनि छन्। यसलाई चिर्दै अगाडि बढ्नेछौं।

लगानी बोर्ड गठनपछि भित्रिएका वैदेशिक लगानीले हाम्रा आकांक्षा पूरा गर्न सकेका छन् त?

बोर्ड गठन भएको पाँच वर्ष भयो। संक्रमणकालमा लगानीकर्ताले हाम्रो आत्मविश्वास पनि कम देखे होलान्। तर, अब उपलब्धि दिने हिसाबमा विदेशी लगानी आउनुपर्छ। म आशावादी छु।

जलविद्युत्बाहेकका क्षेत्रमा लगानी आकर्षित हुन नसक्नुको कारण के हो?

लोडसेडिङ भएकाले यसो भएको हुनसक्छ। विद्युत् प्राधिकरणकै प्रक्षेपण अनुसार पनि आगामी दुई–तीन वर्षपछि लोडसेडिङ सकिएला। त्यसपछि आयोजनाको प्राथमिकता परिवर्तन हुन्छ। राजनीतिक नेतृत्वबाट तेल–ग्याँसको पाइपलाइनदेखि रेलसम्मका स्पष्ट दृष्टिकोण आएको छ। सार्वजनिक यातायातदेखि अरु थुप्रै पूर्वाधार निर्माणले प्राथमिकता पाउँछ।

वैदेशिक लगानी बढाउन हाम्रासामु के के चुनौती छन्?

सरकारी निकायहरुसँग आयोजनाका हिसाबले समन्वय महत्वपूर्ण छ। निजी क्षेत्रलाई जागरुक बनाउनुछ। वैदेशिक निकायको सहयोगका लागि पनि बोर्डले विशेष ध्यान दिनेछ। यी सबै चुनौती सफलताका साथ पार गर्न सकिन्छ भन्ने विश्वासमा छु।

comments powered by Disqus

रमझम