१६-२९ माघ २०६९ | 16-29-Magh-2069

फर्जी प्रशासक

Share:
  
- सन्त गाहा मगर
आफैं प्रमुख जिल्ला अधिकारी हुँदा आफ्नो नागरिकताको जन्ममिति फेरेका नागेन्द्र झाले अनेक कागजात किर्ते गरेको प्रमाणहरू फेला परे पनि उनी कारबाहीको साटो पुरस्कृत हुने भाग्यमानीमा दरिएका छन् ।
p16
 
तस्वीरः मीनरत्न बज्राचार्य ।

नागेन्द्र झाले पर्साको प्रमुख जिल्ला अधिकारी हुँदा १९ फागुन २०६६ मा आफ्नो नागरिकतामा जन्ममिति फेरेको उजुरी गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भूमिसुधार तथा व्यवस्था मन्त्रालयदेखि राष्ट्रिय सतर्कता केन्द्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको हेलो सरकारसम्म प¥यो । तर, झा अहिले नापी विभागका महानिर्देशक छन् । गृह मन्त्रालयको आन्तरिक व्यवस्था महाशाखाका प्रमुख भोलाप्रसाद शिवाकोटी भन्छन्, “महानिर्देशक झको निजामती किताबखानामा भएको सिटरोल, शैक्षिक योग्यताको प्रमाणपत्र, राहदानी र नागरिकतामा फरक–फरक जन्ममिति पाइएको साँचो हो ।”

 
किर्तेमा कीर्तिमान 
झाले २० मंसीर २०३४ मा जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट लिएको ०६३६००६८ नम्बरको नागरिकतामा जन्ममिति २६ पुस २०१५ छ । ८ वैशाख २०४५ मा नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूहअन्तर्गत राजपत्र अनंकित प्रथम श्रेणीको सर्भेक्षक पदमा नियुक्त हुँदा निजामती किताबखानामा बुझएको सिटरोल (हिमाल सँग सुरक्षित छ) र बिहार विद्यालय परीक्षा समितिले दिएको प्रवेशिका परीक्षा उत्तीर्ण उनको प्रमाणपत्रमा त्यही जन्ममिति छ । तर पर्सामा कार्यरत रहँदा उनले जन्ममिति २६ पुस २०१७ बनाएर नागरिकताको प्रतिलिपि लिए (हे. तस्वीर) । नेपाल नागरिकता ऐन, २०६३ को दफा २१ को ३ मा ‘कसैले नेपाली नागरिकताको झ्ुटो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा रु.२० हजारदेखि रु.१ लाखसम्म जरिवाना वा दुवै सजाय हुने’ व्यवस्था छ । 
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ ले सार्वजनिक पदको दुरुपयोग गर्नेहरूका लागि थप सजायको व्यवस्था गरेको छ । झले प्रजिअ पदको दुरुपयोग गरी जन्ममिति फेरेकाले यो ऐन पनि आकर्षित हुने देखिन्छ । यसैगरी,  किताबखानामा रहेको सिटरोलमा झ्ुटो विवरण भर्नेलाई निजामती सेवा ऐन, २०४९ मा नसिहत दिनेदेखि भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट हटाउन वा बर्खास्त गर्न सकिने व्यवस्था छ । झलाई यो ऐन पनि लाग्छ । 
 
झाको मेशिन रिडेवल पासपोर्ट (एमआरपी) को जन्ममिति पनि किताबखानाको सिटरोलसँग मिल्दैन । २२ साउन २०६९ मा लिएको ००५८७२२ नम्बरको एमआरपीमा पछि लिएको नागरिकताको प्रतिलिपिमा भएकै जन्ममिति २६ पुस २०१७ छ (हे.तस्वीर) । यसरी राहदानीमा झुटो विवरण राख्नु अध्यागमन ऐनको उल्लंघन हो । अध्यागमन ऐन २०४९ को दफा १० मा ‘कसैले आफ्नो नाम, उमेर, राष्ट्रियता वा अन्य कुरा ढाँटे, झुटो विवरण दिएर राहदानी प्रयोग गरे÷गराएमा रु.५० हजार जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने’ व्यवस्था छ ।
p16c
 
 

बाराको हर्दियास्थित नेपाल राष्ट्रिय निमाविमा १८ असोज २०३४ मा प्रावि तहको स्थायी शिक्षक नियुक्त भएका झले अध्ययन बिदा नलिई क्याम्पस पढेको दाबी गरेका छन् । तर, प्रयोगात्मक कक्षामा समेत सहभागी हुनुपर्ने भएकाले विज्ञान संकायमा त्यसरी पढ्न सम्भव हुँदैन (हे.बक्स) । पुरानो उमेर अनुसार झ २६ पुस २०७३ सम्म मात्रै निजामती सेवामा रहन पाउँछन् । सच्याइएको जन्ममितिबाट भने उनी दुई वर्ष बढी २६ पुस २०७५ सम्म जागिरे हुन पाउने छन् । सचिव बन्न र निजामती सेवाबाट निवृत्त भएपछि संवैधानिक नियुक्ति पाउन उनले यो प्रपञ्च गरेको जानकारहरूको बुझइ छ । उनीहरूको भनाइमा, झले व्यक्तिगत वृत्ति–विकासका लागि हालसम्म कसैले आँट नगरेको किर्तेको कीर्तिमान राखेका छन् । 

कारबाही नहुनुको कारण
प्रतिनिधिसभा राज्य व्यवस्था समितिअन्तर्गतको प्रमाणपत्र छानबिन उपसमितिले झको प्रमाणपत्र छानबिन गर्न ५ पुस २०५८ मै सरकारलाई निर्देशन दिएको थियो । झाले नेपालमा जागिर खाइरहेकै बेला भारतका विभिन्न क्याम्पसका नक्कली प्रमाणपत्र पेश गरेको हुनसक्ने उपसमितिको आशंका थियो । कर्मचारी सञ्चयकोषको अस्थायी परिचय पत्र नं. ९०००९७ मा नियमित सञ्चयकोष जम्मा भइरहेकै बेला झा सीतामढीस्थित रघुनाथ कलेज र दरभंगाको ललितनारायण मिथिला विश्वविद्यालयमा नियमित विद्यार्थी रहेको देखिएको छ । भारतमा परीक्षा दिएको भनिएको मितिमै काठमाडौंको नयाँबानेश्वरस्थित नापी महाशाखामा उनले हाजिर गरेको प्रमाण पनि छ । तर, सरकारले उपसमितिको निर्देशन पालना गरेन ।
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा ‘अनुसन्धानको घेरामा रहेको व्यक्तिले कुनै प्रमाण लोप वा नाश गर्न वा अनुसन्धानमा बाधा पु¥याउन सक्ने भएकाले कानून बमोजिम थुनामा राखेर अनुसन्धान गर्न सकिने तथा त्यस अवधिभर सार्वजनिक पदबाट स्वतः निलम्बित हुने’ भनिएको छ । तर, झाले किर्ते गरेर नागरिकता लिएकाले छानबिन हुनुपर्ने माग गर्दै १६ पुस २०६९ मा अख्तियारमा मुद्दा परे पनि उनलाई थुनामा राख्नु त टाढाको कुरा निलम्बनसम्म गरिएको छैन । आयोगका प्रवक्ता कृष्णप्रसाद ढुंगाना झविरुद्ध मुद्दा दायर भएको आफूलाई जानकारी नभएको बताउँछन् । जबकि, मुद्दा दर्ता नम्बर १०८१७ हो ।
p16b
 
 

राष्ट्रिय सतर्कता केन्द्रका प्रवक्ता कृष्णप्रसाद पौडेल र भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सहसचिव कृष्णबहादुर राउतले झविरुद्ध मुद्दा दर्ता भएको जानकारी नभएको बताए । गृह मन्त्रालयको आन्तरिक व्यवस्था महाशाखाका प्रमुख शिवाकोटीले भने झको विषयमा मन्त्रालयले अनुसन्धान प्रक्रिया अगाडि बढाए पनि सर्लाही जिल्ला प्रशासन कार्यालयमा अभिलेख नहुँदा कारबाही गर्न नसकिएको दाबी गरे । गृहमन्त्रालय स्रोत भने स्वयं प्रधानमन्त्री बाबुराम भट्टराईले कारबाही प्रक्रिया रोकेको बतायो । मधेशवादी दलका ‘प्यारो’ मानिने झ पछिल्लो समय एमाओवादी र प्रधानमन्त्री भट्टराईसँग पनि त्यत्तिकै निकट छन् । भट्टराईसँग नजिकिनकै लागि झले विश्व हिन्दू युवा संघका पर्सा अध्यक्ष काशीनाथ तिवारीको हत्याका आरोपी तत्कालीन भूमिसुधार मन्त्री प्रभु साहलाई जोगाउन २०४८ कात्तिकमा तिवारी पत्नी बबितालाई रु.८ लाख घुस दिएका थिए ।

झाका किर्ते काम
 
२०३३ मा बिहार परीक्षा समिति, भारतबाट एस.एल.सी. उत्तीर्ण ।
 
१८ असोज २०३४ देखि बारा जिल्ला, औरैया हर्दिया गाविसस्थित ने.रा.निमाविमा प्राथमिक तहको शिक्षक पदमा स्थायी नियुक्त ।
 
उक्त पदमा हाजिर हुँदै १ फागुन २०३४ मा बिहार, भारतबाट आई.ए. उत्तीर्ण भएको प्रमाणपत्र पेश ।
p16a
 
 

उक्त अवधिमै कर्मचारी सञ्चयकोषको अस्थायी परिचय पत्र नं. ९०००९७ मा नियमित सञ्चयकोष कट्टी बापतको रकम जम्मा ।

१८ असोज २०३४ देखि २०४१ फागुनसम्म कुनै पनि लामो बिदा (अध्ययन बिदा, असाधारण बिदा) नलिएको ।
 
त्यहीबीच २०३९ सालमा सीतामढी बिहारको रघुनाथ कलेजबाट आई.एस्सी. उत्तीर्ण । लामो अवधिको बिदा नलिई भौतिक शास्त्र, रसायन शास्त्रको नियमित प्रयोगात्मक अध्ययन गरी (आई.एस्सी) को प्रमाणपत्र लिएको ।
 
आई.एस्सीको प्रमाणपत्र (नक्कली) का आधारमा चैत २०४१ मा नापी तालिम केन्द्र काठमाडौंमा जुनियर नापी तालिममा छनोट भएर २०४२ चैतमा तालिम उत्तीर्ण ।
 
पुस २०४३ देखि राजपत्र अनंकित प्रथम श्रेणी अस्थायी सर्वेक्षक र वैशाख २०४५ मा राजपत्र अनंकित प्रथम श्रेणी (प्रा.) कम्प्युुटर अपरेटर पदमा स्थायी नियुक्त । 
 
रुकुम जिल्लामा कार्यरत रहँदै लामो बिदा नलिई ललितनारायण मिथिला विश्वविद्यालय दरभंगाबाट विज्ञान विषयमा बी.एस्सी (नक्कली) प्रमाणपत्र लिन सफल ।
 
वैशाख—जेठ २०४९ मा भारतमा बी.एस्सीको परीक्षा संचालन भइरहँदा झा रुकुमको अर्मा गाविसको निर्वाचनमा सहायक मतदान अधिकृत थिए । 
 
२ देखि ४ असार २०४९ सम्म (सन् १९९२ जून १६ देखि १८ सम्म) झा सिनियर नापी तालिम लिन नापी तालिम केन्द्र मीनभवन काठमाडौंमा काजमा हाजिर थिए भने उनले पेश गरेको बीएस्सीको प्रमाणपत्रमा उनी ती दिनमा भारतको मधुवनीमा प्रयोगात्मक परीक्षामा पनि सहभागी थिए । 
 
बी.एस्सी (नक्कली) प्रमाण–पत्र र २०५० को सिनियर तालिमको प्रमाणपत्रका आधारमा २०५२ सालमा नापी अधिकृत पदमा नियुक्त ।

 

comments powered by Disqus

रमझम