२० फागुन २०६९ | 3 March 2013

'हिंसा ठीक रहेनछ

Share:
  
- बद्री पौड्याल
शिविरबाट फर्केका माओवादी लडाकू लड्नु भन्दा आफ्नै पेशा–व्यवसाय गरेर बस्नु राम्रो ठान्न थालेका छन्।

तस्वीरहरुः बद्री पौड्याल
तारबारबाट घरबारमाः पूर्वलडाकू जोडी हरिश र रेखा जोशी।
डोटी, केदारेश्वरकी रेखा पन्तलाई २०५९ सालमा पाँच कक्षा पढ्दापढ्दै माओवादीले 'मिलिसिया' बनाए र 'अभियान' मा कालीकोट लिएर गए। १३ वर्षकी रेखा घर फर्किन नसकेर उनीहरूसँगै 'भूमिगत' भइन् र तानसेन, तौलिहवा, पिली (कालीकोट) र रम्भापुर (कपिलवस्तु) का भिडन्तमा लड्न पुगिन्।

शान्ति बहालीपछि कैलालीको चिसापानी गोरङ्गे शिविर पुगेकी उनी लडाईंमा लागेको गोली र अन्य चोटले 'फिजिकल' मा भाग लिन नसकेर छुट्टीमा घर फर्किन्। तर डोटी हैन बैतडीको ग्वाल्लेक, बग्लेखान; शिविरमै भेटिएका हरिश जोशीसँग बिहे गरेर। हरिश १२ कक्षा पढ्दापढ्दै २०६२ सालमा माओवादीको भर्ना खुलेको छ भन्ने सुनेर त्यता लागेका थिए। शुरूदेखि नै राजनीतिप्रति लगाव नभएका हरिश र रेखालाई जानी–नजानी हिंसात्मक राजनीतिक कालखण्डको एउटा अंश हुनुपर्दा दुःख लागेको छ।

शिविरबाट फर्किंदा घरको अवस्था नाजुक थियो। रेखाले जीआईजेड र विश्व खाद्य कार्यक्रमबाट बनिरहेको देहीमाण्डौ–गिरेगाडा ग्रामीण सडकमा सुपरभाइजरको काम पाइन्। सडक र अन्य विकास कार्यक्रमले गर्दा बाबु गोपालदत्त जोशीले चलाउँदै आएको सानो चियापसल पनि फल्न फुल्न पायो। विस्तारै उनीहरूले ऋण तिरे, उपचार गराए, खरबारी निखने।

पूर्व माओवादी लडाकूद्वय किरण नेपाली र हेमन्ती स्याँडा (दायाँ) अहिले क्रमशः सैलुन सञ्चालक र सामाजिक परिचालकका रुपमा कार्यरत छन् ।
घर फर्केपछि बी.एड. दोस्रो वर्षमा पुगिसकेका हरिशलाई अहिले नमज्जा लागिरहेको छ, शिक्षा आयोगको विज्ञापनमा मावि शिक्षकमा दरखास्त हाल्न नपाएर। “माविमा नपाए पनि निमाविमा चाहिं हालेको छु”, उनी भन्छन्, “माओवादीमा नगएको भए अरू साथीको झै पढाइ सकिन्थ्यो, काम केही भइसक्थ्यो।” स्वेच्छिक अवकाशबाट पाएको पैसाले घर बनाएका र स्कूल किनेका हरिश र रेखा सनराइज चिल्ड्रेन एकेडेमी बोर्डिङ स्कूल चलाइरहेका र बाबुलाई होटलमा सघाइरहेका छन्। उनीहरू मोबाइल–कम्प्युटर मर्मत र सिलाइ–कटाइको तालीम लिएर नयाँ व्यवसाय गर्न पनि इच्छुक छन्।

लड्नु भन्दा आफ्नै पेशा–व्यवसाय गरेर बस्नु राम्रो ठान्छन्, बझाङको रायल–३, देउरामा हेयर कटिङ सैलुन चलाइरहेका किरण नेपाली पनि। उनी २०६१ देखि माओवादी बनेर पिली र धनगढी कारागार हमलामा सामेल भएका थिए। स्वेच्छिक अवकाशपछि के गर्ने भन्ने अन्योलमा परेका बेला सैलुन खोलेका किरण भन्छन्, “जीआईजेड र धनगढीको प्रिय हेयर कटिङबाट तालीम र केही सामानहरू पाएँ। केही आफैंले जोडें। अहिले यसैबाट ६ जनाको परिवार पालिरहेको छु।” चैनपुर जाने राजमार्गको देउरा बजारमा हेयर कटिङ एउटै पनि नदेखेकाले उनले यो मौका छोपेका थिए।

बझाङकै सुनकुडा–५, बौनालीकी हेमन्ती स्याँडा ६–७ वर्ष माओवादी राजनीतिमा बिताएर जीआईजेडको कार्यक्रममा सामाजिक परिचालकको काम गर्न आइपुगेकी छन्। रोल्पा, रुकुमतिरबाट आएका दिदी–बहिनीले महिला अधिकारका लागि लड्न प्रेरित गरेपछि नौ कक्षाको पढाइ छोडेर माओवादीमा लागेकी उनी श्रीमान्को उपचारमा पार्टीले बेवास्ता गरेपछि भारत लिएर गइन्। फर्केर आउँदा परिवारको स्थिति एकदम बिग्रेको थियो।

“आर्थिक अवस्था राम्रो छैन भने राजनीतिले मात्रै केही नहुने रहेछ”, आफूले राजनीतिबाट सिकेको पाठ सुनाउँदै उनी भन्छिन्, “त्यसमाथि माथि–माथि पुग्नेले आ–आफ्नो व्यवस्था गर्दा रहेछन्, तल–तलकालाई कसैले हेर्दा रहेनछन्।” महिला अधिकारकै कुरामा पनि राजनीतिबाट भन्दा सामाजिक कामबाट धेरै गर्न सकेको हेमन्तीको अनुभव छ। “हिंसा त झ्न् समाधान होइन रहेछ”, उनले भनिन्, “अहिले शान्तिपूर्ण तरिकाले गरिंदैछ र यसैबाट महिलाहरू बढी जागरुक र चेतनशील भएका छन्।”

comments powered by Disqus

रमझम