२० फागुन २०६९ | 3 March 2013

'विश्वास' को व्यवसाय

Share:
  
- गोविन्द लुइँटेल
एक से एक आधुनिक उपचार सेवा उपलब्ध राजधानीमा धामी–झाँक्रीका “क्लिनिक” पनि चलिरहेका छन्।

अस्पतालमा जँचाएर ६ महीना औषधि गर्दा पनि ढाड दुख्ने रोग ठीक नभएपछि झाँक्रीकहाँ पुगेकी ललितपुर, कुसुन्तीकी सम्झना श्रेष्ठ झारफुक गर्दै तातो पन्यूँले डामेपछि निको भएको बताउँछिन्।

बेलाबेलामा बेहोश हुने भाइ विजयलाई अस्पतालमा ठीक नभएपछि धामीकहाँ लगेर निको पारेको ललितपुर, कुमारीपाटी बस्ने खोटाङकी गंगा राईको अनुभव छ। अस्पतालमै दुई वर्षको उपचारले ठीक नभएको टाउको दुख्ने रोग झाँक्रीले सञ्चो पारेको ललितपुर, जावलाखेलमा बस्ने काभ्रेका राजेश लामा बताउँछन्।

काठमाडौं, बानेश्वर बस्ने दोलखाका कुमार खड्का जण्डिसबाट मुक्त हुन झारफुकपछि धामीकै सल्लाह बमोजिम आयुर्र्वेदिक औषधि खाइरहेका छन्।

मानव उत्पत्तिसँगै शुरू भएको धामी–झाँक्रीको उपचार आधुनिक चिकित्सा सुविधा उपलब्ध शहरबजारमा पनि फस्टाइरहेको छ। अस्पतालमा निको नभएर, आधुनिक उपचार महँगो भएर वा त्यसमा विश्वास नलागेर धामी–झाँक्रीकहाँ धाउनेमा शिक्षित शहरियाहरू पनि छन्। ललितपुर, गावहालका धामी तर्कराज बज्राचार्यकहाँ श्रीमतीलाई लिएर जानेमा एक जना अर्थोपेडिक डाक्टर नै भेटिए। नाम उल्लेख नगर्ने शर्तमा उनले भने, “अस्पतालमा उपचार गर्दा श्रीमतीको ढाड दुख्ने रोग निको नभएर ल्याएको हुँ।”

जण्डिस, पक्षघात, ग्यास्ट्राइटिस, महीनावारी अनियमितता, मानसिक असन्तुलन, टाउको, कम्मर, घुँडा दुखाइ जस्ता रोगको उपचारदेखि व्यापार–व्यवसायमा कारोबार घटेको, पारिवारिक मनमुटाव बढेको जस्ता समस्या समाधान गर्न मानिसहरू धामी–झाँक्रीकहाँ पुगिरहेका छन्। कति त झारफुकपछि फाइदा भएको पनि बताउँछन्। तर पाटन अस्पतालका चिकित्सक डा. सागर पौड्यालको अनुभव भने बजारमा पाइने तन्त्रविद्याका सस्ता पुस्तक र अन्दाजका भरमा उपचार गर्नेहरूले उल्टो रोग लम्ब्याएको भन्ने छ।

उनी भन्छन्, “अस्पतालमा निको नभएर धामी–झाँक्रीकहाँ जाने हैन, बरु धामी–झाँक्रीकहाँ गएर रोग जटिल बनाई अस्पताल आउने चलन छ।” परम्परागत नेपाली समाजमा धामी–झाँक्री प्रथा उपचारले भन्दा पनि विश्वासले टिकेको मानिन्छ। अदृश्य शक्तिसँग खेल्न सक्ने दाबी गर्ने धामी–झाँक्रीहरूले आफूमा देवता प्रवेश गरेको भान पार्दै बिरामीको विश्वास जितेको देखिन्छ।

आफ्नो विश्वास कायम राख्न उनीहरू कतिपय अपत्यारिला र रहस्यमय गतिविधि गरेर देखाउँछन्। थरीथरीका मन्त्रोच्चारण गर्दै र अक्षता छर्कंदै झ्ारफुक गर्ने धामी–झाँक्रीहरू आयुर्वेदिक औषधि पनि चलाउँछन्, जसले कतिपय बिरामीलाई ठीक भएको हुनसक्छ।

थरीथरीका धामी र उपचार

काठमाडौं उपत्यकामा व्यवस्थित 'क्लिनिक' देखि मन्दिर परिसर र फुटपाथसम्म उपलब्ध छन्, धामी–झाँक्रीहरू। ललितपुर, पुल्चोकमा साइनबोर्ड राखेरै 'उपचार' गरिरहेका काभ्रेका कान्छालाल तामाङले बोक्सी लागेको भन्दै तताएर रातो पारिएको पन्युँले ढाड र शरीरका विभिन्न भागमा डाम्दा समेत सम्झ्ना श्रेष्ठलाई खासै पीडा भएन। “बरु डामेको तीन दिनपछि ढाडको दुखाइ घट्न थाल्यो”, उनी भन्छिन्। आफूकहाँ दैनिक सरदर ५० बिरामी आउने गरेको बताउने कान्छालाल अहिलेसम्म सबैलाई राम्रो भएकोले नै बिरामी बढेको दाबी गर्छन्।

कान्छालालकै 'क्लिनिक' पुगेका काभ्रेका रनबहादुर थोकर अस्पतालको उपचारले निको नभएको खुट्टाको दुखाइ तातो पन्युँले डामेरै ठीक भएको बताउँछन्। पुल्चोककी ईश्वरी खत्री पनि वर्ष दिन अस्पतालमा उपचार गर्दा निको नभएको खुट्टा फुकेरै दुख्न छोडेको सुनाउँछिन्। कुसुन्तीका श्याम शाही तन्त्रमन्त्र गरेको धुप बालेपछि पसलको कारोबार बढेको विश्वास गर्छन्। ललितपुर गावहालका धामी ललितराज बज्राचार्यकहाँ बिरामीले लामै पालो पर्खिनुपर्छ। उनका बाबु मुक्तराज पनि आफ्नो समयका नामी धामी थिए। अहिले ललितराजका

भाइ तर्कराजदेखि यही पेशामा संलग्न ६ वर्षअघि मृत्यु भएका दाइ होमबहादुरका छोरा पन्नाराजसम्मले पुर्खाको बिंडो थामेका छन्। पन्नाराज प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) को प्रमाणपत्र प्राप्त वैद्य पनि हुन्। ११ वर्षदेखि मकवानपुर छतिवनका भूमिचन्द्र फुँयाल पनि गावहालमै धामी काममा जमेका छन्। सिन्धुलीका लालबहादुर खत्री लामै समयदेखि काठमाडौंको मैतीदेवी मन्दिर परिसरमा झारफुक गर्छन्। डाक्टरहरूले धेरै पैसा लिने र उपचारमा लापरवाही गर्ने हुनाले बिरामीहरू धामी–झाँक्रीतिर लागेको खत्रीको ठम्याइ छ।

आफूहरूले झारफुकलाई सफल पेशा बनाएको बताउने ओखलढुङ्गाका केदार बराल भन्छन्, “नेपाली समाजमा धामी–झाँक्रीको पहिचान र हैसियत पुनः फर्किंदैछ।”

आफ्नो कामलाई धर्म र सेवासँग जोडेका र आयकर तिर्नु नपर्ने धामीहरू प्रायः डाक्टरको जस्तो तोकेर शुल्क लिंदैनन्, तर 'दक्षिणा' को नाममा स्वेच्छाले लिने–दिने शुल्क राम्रै हुन्छ। झारफुककै आम्दानीबाट केदार बरालले कपनमा र कान्छालालले टीकाथलीमा घर बनाएका छन्। कान्छालाल भन्छन्, “भगवानले गरीबलाई दया नगरेको भए यो बन्ने थिएन।”

लालबहादुरले यही पेशाबाट परिवार पालेका छन्। धामीहरू कमाइकै लागि गाउँबाट शहरतिर आएका संकेत गर्दै भूमिनन्द भन्छन्, “कमाइ नहुने भए गाउँबाट आएर यो महँगो शहरमा किन बसिन्थ्यो होला र?” धामी विद्यालाई एकदमै व्यवसायीकरण चाहिं नैकापका मोहनलाल राईले गरेका हुन्। अमेरिकामा मानवशास्त्र पढेका ८५ वर्षका राईले संस्था नै खोलेर गाउँघरका धामी–धमिनीलाई समेत व्यावसायिक बनाएका छन्। (हे.बक्स)

छैन व्यवस्थापन–अनुगमन

नेपालका अस्पताल, नर्सिङहोम, क्लिनिक र मेडिकल कलेजमा डाक्टरको लापरवाहीबाट बिरामीको ज्यान गएको भनेर ठूल्ठूला तोडफोड भएका, गल्ती गर्ने कतिपय संस्थाहरू दण्डित पनि भएका छन्। तर, धामीहरूलाई कुनै निकायबाट आफ्नो योग्यता प्रमाणित र अनुगमन गराउनु पर्दैन। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पदमबहादुर चन्द धामी–झाँक्रीहरूले नेपाली समाजमा परम्परागत अगुवाको मान्यता पाएकाले अनुगमन वा नियन्त्रण गर्ने सरकारी नीति नभएको बताउँछन्। डा. चन्द भन्छन्, “यो गैर–कानूनी धन्दा भए पनि उनीहरू समाजबाटै संरक्षित छन्।”

धामी–झाँक्रीले सभ्यता–संस्कृतिको समेत प्रतिनिधित्व गर्ने हुनाले समाजले उनीहरूलाई स्वीकार गरेको मानवशास्त्री सुरेश ढकालको धारणा छ। “अदृश्य शक्तिमा विश्वास गर्ने समाजमा धामी–झाँक्रीको ठूलो स्थान हुन्छ”, उनी भन्छन्। धामी–झाँक्रीको कामबाट समाजमा तत्काल नकारात्मक प्रभाव नपरे पनि भोलि पर्न सक्ने हुनाले सरकारले निश्चित मापदण्ड बनाएर व्यवस्थापन गर्नुपर्ने ढकालको सुझाव छ। नेपालका धामी–झाँक्रीमाथि अनुसन्धान गरिरहेका क्यालिफोर्नियाको युसिएलए कलेजका रिसर्च–फेलो केदार बराल सरकारले लाइसेन्स दिने व्यवस्था गरे रामै्र हुने बताउँछन्। धामी काम गर्दै विश्वका १५ मुलुकको भ्रमण गरेका समाजशास्त्रमा स्नातकोत्तर बराल भन्छन्, “त्यो अवस्थामा हाम्रो कामले कानूनी वैधता र सरकारले राजस्व पाउँछ।”


'विदेशीलाई धामी विद्या पढाउँछु'

मोहनलाल राई, प्रमुख, धामी–झाँक्री अध्ययन तथा अनुसन्धान केन्द्र (नेपाल)

तस्वीर: ऋषिराम कट्टेल
५० वर्षअघि भुटानबाट काठमाडौं घुम्न आएँ, यतै अडिएर २३ वर्ष टुर गाइड गरें। अमेरिकाको कोलोराडो विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातकोत्तर गरेपछि दुई दशकदेखि 'धामी–झाँक्री अध्ययन तथा अनुसन्धान केन्द्र नेपाल' नामक संस्था दर्ता गरेर विदेशीहरूलाई धामी विद्या पढाइरहेको छु,अमेरिका र युरोपका दर्जनौं विश्वविद्यालयमा पढाउन गएको छु। मैले शुरूमा बुबा दिलबहादुरबाट यो विद्या सिकेको हुँ, मेरा १० छोराछोरीमध्ये जेठो सुरज र कान्छो सुविनले सिकेका छन्।

वर्षमा ४०० जति विदेशी मानवशास्त्री, वातावरण इन्जिनियर, डाक्टर मकहाँ पढ्न आउँछन्। विदेशीहरूलाई घरमै राम्रो आतिथ्यको व्यवस्था गरेको छु। सिक्न आउनेहरूलाई रकम तोकेको छैन, आफूखुशी दिन्छन्। वर्षैपिच्छे चार–पाँच जना धामी–झाँक्रीलाई विदेश लैजान्छु, जसमध्ये हरेकले कम्तीमा रु.८ लाखसम्म कमाएर ल्याउँछन्। झारफुक गर्ने र ढ्याङ्ग्रो लगायतका सामग्री बनाउने काममा दर्जनौंले रोजगारी पाएका छन्। आदिम संस्कृति, सभ्यता र प्रकृतिसँग जोडिएको हाम्रो कामले संस्कृति जोगाउन मात्रै हैन, मानिसहरूलाई निराशा कम गर्न र आशावादी हुन आडभरोसा दिएको छ। मानव जीवनलाई अगाडि बढाउन यसलाई संरक्षण गर्नु जरुरी छ।

comments powered by Disqus

रमझम