२० फागुन २०६९ | 3 March 2013

सुरक्षा खतरा बन्दै

Share:
  
- दीपक ज्ञवाली बुटवल र तुफान न्यौपाने नेपालगञ्ज
लागूऔषध भारत र नेपालको संयुक्त चुनौती भए पनि दुवैतर्फका प्रहरी एकअर्कालाई आरोप लगाउँदै उम्किने गरेका छन्।

तस्वीर: दीपक ज्ञवाली
गएको २७ माघमा गुल्मीको वामी र बाग्लुङको भीमगिठेबाट आएका दुई वटा बसबाट बुटवलमा ५६ किलो चरेस बरामद भयो। त्यससँगै मुख्य कारोबारी थवाङ– ५ रोल्पाकी सावित्री बुढा (२८) र ओसारपसारका भरियाहरू रणसिंकिटेनी– १, बाग्लुङकी जुम्ली श्रीस (५५), हीरा पुन (५४), बाग्लुङकै पाडोखानी– १ का रिमबहादुर क्षेत्री (३३) र हारजङ–६ रोल्पाकी भावना गुरुङ (३२) पक्राउ परे। उनीहरूको बयानका आधारमा २७ माघमा पूर्वको इटहरीमा १९ किलो चरेस समातियो। १९ माघमा बुटवलमै ९ किलो चरेस समातिएको थियो। ती चरेस भारत लैजाने तयारीमा रहेको प्रहरीको अनुमान छ।

प्रहरीका अनुसार, रोल्पाकी सावित्रीले बाग्लुङका विभिन्न गाउँबाट कच्चा पदार्थ जम्मा गरी बाग्लुङमै चरेस बनाएकी थिइन्। गुल्मीको वामीसम्म पैदल बोकेर ल्याइएको चरेस त्यहाँबाट भरियाको जिम्मामा बुटवल पठाइएको थियो। बुटवलबाट कपिलवस्तुको चन्द्रौटाहुँदै भारत पुर्‍याउँदा उक्त चरेसको भाउ प्रतिकेजी रु.२० हजार हुन्थ्यो। पहिले बुटवलमा चरेस संकलन गरेर मोरङ हुँदै भारत पुर्‍याउने गिरोहले अहिले कपिलवस्तु र बाँकेको रुट बनाएको प्रहरीको भनाइ छ।

भारतीय असहयोग

सीमावर्ती क्षेत्रमा नियमितजसो हुने नेपाल―भारत सुरक्षा बैठकमा दुवै देशका अधिकारीहरूले लागूऔषध ओसारपसार र प्रयोग प्रमुख समस्या बनेको बताए पनि दुवैपक्ष परस्पर आरोप―प्रत्यारोप लगाएर उम्कन खोज्छन्। नेपालसँग जोडिएको भारतीय बजार सुनौलीमा प्रतिबन्धित लागूऔषधको खुला बिक्रीको कुरा बैठकमा उठाउँदा भारतीय पक्षले नेपालबाट चरेस–गाँजा भारततर्फ गइरहेको आरोप लगाउने गरेको नेपाली सुरक्षा अधिकृतहरूको भनाइ छ।

चरेससहित भाइ र छोराका साथ नेपालगञ्जमा पक्राउ परेकी मनकुमारी थापामगर।
पछिल्लो सुरक्षा बैठकमा पनि नेपाली अधिकारीहरूले सुनौलीमा नेपालीलाई लागूऔषध बिक्री–वितरणमा रोक लगाउनुपर्ने माग गर्दा भारतीय समकक्षीहरूले 'नेपालबाटै चरेस जाने गरेको' भन्दै विषयान्तर गर्न खोजेको लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी मिङमार लामा बताउँछन्। सुनौलीमा भारतीयलाई बिक्री नगरिने प्रतिबन्धित लागूऔषध नेपालीलाई खुलेआम बेचिंदा पनि भारतीय अधिकारीहरूले आँखा चिम्लिने गरेका छन्। जबकि, यताबाट जाने गाँजा–चरेस भन्दा उताबाट आउने लागूऔषध बढी घातक छन्।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी राजकुमार वैदवार सीमापारि खुलेआम बिक्री हुने लागूऔषधका कारण बुटवल क्षेत्रमा गम्भीर सामाजिक सुरक्षा र अपराधको चुनौती थपिएको बताउँछन्। प्रहरीका अनुसार, नेपालबाट चरेस र गाँजा भारत जान्छ भने उताबाट ब्राउन सुगर, नाइट्रोजन, स्पास्मो, फेनारागन, नुरफिन, डाइजेपाम, निरजेपाम, फेन्सिडिल, कोरेक्स, टिडीजेसिकलगायतका प्रतिबन्धित लागूऔषध भित्रिन्छन्। भारतीय सुरक्षा अधिकारीहरूको सहयोग विना तिनलाई रोक्न नसकिने नेपाल प्रहरीको भनाइ छ।

लागू पदार्थको नयाँ नाका

नेपालगञ्ज (बाँके) सँग जोडिएको भारतको रूपैडिहा बजार पछिल्लो समय लागू पदार्थ ओसारपसारको नयाँ नाका बनेको छ। मोरङको जोगवनी नाकामा कडाइ गरिएपछि रूपैडिहा हेरोइन भित्रिने र चरेस निकासी गर्ने प्रमुख नाका बनेको हो। लागूऔषध नियन्त्रण ब्यूरोका अधिकृतहरूका अनुसार, अहिले लागूऔषध रूपैडिहाबाट नेपालगञ्ज–बुटवलहुँदै नेपालका मुख्य शहरमा भित्रिने गरेको छ। सेवनकर्ताको बयानका आधारमा तरकारी व्यवसायीको भेषमा खैरो हेरोइन नेपाल भित्र्याउने बहराइचका मोहम्मद अब्जाल राई हालै पक्राउ परेपछि चल्तीको नयाँ रुटबारे जानकारी आएको हो।

१५ कात्तिकमा नेपालगञ्ज–१३ बाट भारत बहराइचका २२ वर्षीय असफाग हल्वाई र २० वर्षीय रिङ्गकु राइन ४५ ग्राम हेरोइनसहित पक्राउ परेका थिए। चालु आर्थिक वर्षमा ब्राउनसुगर कारोबारमा संलग्न ६ भारतीय नेपालगञ्जमा पक्राउ परेका छन्। रूपैडिहा नाकाबाट भित्रिने लागूऔषध काठमाडौंसम्म पुर्‍याउन सक्रिय रोल्पा नुवागाउँकी ममता बुढा र नेपालगञ्जका कृष्णप्रसाद वर्णवाल माघ अन्तिम साता काठमाडौंमा र नेपालगञ्जका इस्लामुद्दिन बाँकेको जयसपुरमा पक्राउ परेका थिए।

आव २०६७/७८ मा प्रहरीले रूपैडिहा नाकाबाट नेपाल भित्र्याउँदै गरेको ६८ ग्राम, ६८० मिलिग्राम ब्राउनसुगर भारतीयहरूबाट बरामद गरेकोमा चालु आवको पहिलो सात महीनामै ९८ ग्राम ७५० मिलिग्राम बरामद गरिसकेको छ। यसबाहेक ४३ जना नेपालीबाट ९८ ग्राम ४०५ मिलिग्राम ब्राउनसुगर, तीन किलो ८२० ग्राम गाँजा र ७ किलो ८०० ग्राम चरेस बरामद गरेको अभिलेख बाँके प्रहरीसँग छ।

मुख्य कारोबारी बाहिरै

तस्वीर: तुफान न्यौपाने
हेरोइनसहित नेपालगञ्जमा पक्राउ परेका असफाग हल्वाई र रिङ्गकु राइन।
मध्यपश्चिमका हुम्ला, जुम्ला, सल्यान, प्युठान, रुकुम, जाजरकोटलगायत जिल्लामा उत्पादन हुने गाँजा रूपैडिहा नाका हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गरेको छ। लठ्याउने टेट्रहाइड्रोक्यानबिनोलको मात्रा बढी हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा त्यहाँको चरेसको माग उच्च रहेको जानकारहरू बताउँछन्। बाँके प्रहरीका अनुसार, यस क्षेत्रको चरेस कारोबारमा समातिनेहरूमा ९० प्रतिशतभन्दा बढी भरिया छन्।

उपचारका लागि भारत हिंडेकी डाँडागाउँ– ८ जाजरकोटकी मनकुमारी थापामगर (६०) गाउँकै सुरेन्द्र थापाले थमाइदिएको तीन किलो चरेस भएको एउटा झोला सीमापारि पुर्‍याउने क्रममा गएको १४ माघमा बाँकेको सीमा प्रहरी चौकी जमुनाहामा पक्राउ परिन्। उनीसँगै पक्राउ परेका उनका भाइ र छोराबाट प्रहरीले दुई–दुई किलो चरेस बरामद गर्‍यो। तीनै जनालाई भरिया बनाएका चरेसका प्रमुख कारोबारी सुरेन्द्र भने फरार छन्। त्यसअघि ४ पुसमा जमुनाहा नाकामै ८०० ग्राम चरेससहित पक्राउ परेकी रुकुम– ५ काँक्रीकी दिलमाया रोका भन्छिन्, “झोला रूपैडिहा लगिदिंदा एक हजार रुपैयाँ दिन्छु भन्याथे, त्यसभित्र के थियो थाहा थिएन।”

बाँके प्रहरी प्रमुख एसपी भूपालकुमार भण्डारी लागू पदार्थ कारोबारीको सञ्जाल तोड्न लागूऔषध विरुद्धको कार्यदललाई सक्रिय पारिएको दाबी गर्छन्, तर सीमापारि सजिलै पाइने हेरोइनको कारोबार नरोकिएको स्वीकार्छन्। बाँकेमा लागूऔषध नियन्त्रण कार्यान्वयन एकाइ समेत क्रियाशील छ।


खचाखच हिरासत

इलाका प्रहरी कार्यालय रानी (मोरङ) को हिरासत विराटनगर र वरपरका क्षेत्रबाट आफैं प्रयोग गर्न वा बिक्री गर्न लागूऔषध लिएर आउनेहरूले भरिभराउ छ। अनुसन्धान प्रक्रिया लामो भएकाले र पुर्पक्षमा पठाउन ढिलाइ हुँदा हिरासत थामिनसक्नुभएको प्रहरी निरीक्षक भगीरथ रेग्मीले बताए। चालु आवको माघसम्ममा इप्रका रानीले १२५ जनालाई लागूऔषधसहित पक्राउ गरी कारबाही गरिरहेको छ।

७२ एम्पुल नर्फिन, एभिल र डाइजेपामसहित २० पुसमा पक्राउ परेका मोरङ हसन्दह– ७ का कान्छा बस्नेत (२६) ले हालसम्म आफूले चिनेका २५ जना लागूऔषधसहित समातिएको बताए। पेशाले रिक्साचालक कान्छाको भनाइले जोगवनी नाकामा लागूऔषध कारोबारको भयावह अवस्था देखाउँछ। लागूऔषधका पूर्व प्रयोगकर्ताहरूको संगठन रिकभरिङ नेपालले मात्र गत एक वर्षमा ५० जनालाई सात वटा सुधार केन्द्रमा पठाएको छ।

लागूऔषध प्रयोगकर्ताले एउटै सुई प्रयोग गरेर एचआईभी संक्रमण बढेपछि रिचमण्ड फेलोशिप नेपालले सीमावर्ती जोगवनी–विराटनगर सीमा क्षेत्रमा नयाँ सुई वितरण गर्न थालेको छ। नयाँ सुई दिने र प्रयोग गरिसकेको फिर्ता लिने फेलोशिपको 'ड्रप इन सेन्टर'हरूमा दैनिक सरदर ३५ जना लागूऔषध प्रयोगकर्ता आउँछन्।

कमल रिमाल, विराटनगर

comments powered by Disqus

रमझम