२० फागुन २०६९ | 3 March 2013

कन्साइ आयो नेपाल

Share:
  

गत वर्ष शालिमार पेन्ट्सको ६८ प्रतिशत स्टेक खरीद (अभिग्रहण) गरेको बहुराष्ट्रिय कम्पनी कन्साइ नेरोल्याक पेन्ट्स ले नेपालमा काम शुरू गरेको छ। कन्साइ पेन्ट्स नेपाल प्रालिको नाममा कम्पनी दर्ता गरी शालिमारको सेट–अपमा उत्पादन शुरू गर्ने कम्पनीले जनाएको छ। हालसम्म नेपालमा आयात भइरहेको कन्साइ नेरोल्याक पेन्ट्सहरू अब स्वदेशमै उत्पादन हुनेछन्। विभिन्न १७ देशमा उपस्थिति जनाएको ९० वर्ष पुरानो कम्पनीले रु.२३ करोडमा शालिमारको स्टेक किनेको हो।

नयाँ डियो

स्याकार कम्पनीले स्वप्निल इन्जिनयुक्त नयाँ होण्डा डियो स्कुटर बिक्री शुरू गरेको छ। होण्डा इको प्रविधिमा स्कुटरले प्रतिलिटर ६० किलोमिटरसम्म माइलेज दिने जनाइएको छ। ट्युबरहित टायर, दुवै पाङ्ग्रामा एकैचोटि ब्रेक लाग्ने, मर्मत गर्नु नपर्ने ब्याट्री, बाक्लो एयर फिल्टर लगायत विशेषता रहेको नयाँ स्कुटरको मूल्य रु.१ लाख ६० हजार ९०० कायम गरिएको छ।

कलर्स को सीडीएमए फोन

कलर्स मोबाइलले सीडीएमए फोन सी–३०० स्थानीय बजारमा बिक्री शुरू गरेको छ। ब्रिउ अपरेटिङ सिस्टममा सञ्चालित फोनमा ब्लुटुथ, वायरलेस एफएम स्पिकर, १.३ मेगापिक्सेल क्यामरा, ३.५ मिलिमिटरको ज्याक, एक्सपाण्डेबल मेमोरी, १२ सय मेगाहर्जको ब्याट्री तथा टर्च लगायतका विशेषता रहेको जनाइएको छ। फोनमा एक वर्ष तथा ब्याट्री र चार्जरमा ६ महीनाको वारेन्टी रहेको कम्पनीले जनाएको छ।

वेस्टार को स्वास्थ्य शिविर

प्रजातन्त्र दिवसको अवसर पारेर वेस्टार प्रोपर्टिजले एकदिने स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। ७ फागुनमा ग्वार्कोस्थित वेस्टार रेसिडेन्सीमा ग्लोबल हस्पिटलको सहकार्यमा सञ्चालित शिविरमा २१० जनाको स्वास्थ्य परीक्षण गरिनुका साथै ७० जनाले रक्तदान गरेका थिए।

श्री को नयाँ हेलिकप्टर

श्री एयरलाइन्सले युरोकप्टरको नयाँ हेलिकप्टर एएस ३५० बी ३ ई नेपाल भित्र्याएको छ। फ्रान्समा बनेको हेलिकप्टर नयाँ र अत्याधुनिक प्रविधिमा आधारित रहेको कम्पनीले जनाएको छ। ६ सीट क्षमताको हेलिकप्टर २३ हजार फिट उचाइसम्म उडान गर्न सक्छ। साउण्ड प्रुफिङ सिस्टम तथा धूलोबाट इन्जिन बचाउन स्यान्ड फिल्टरको व्यवस्था भएको हेलिकप्टरलाई नागरिक उड्डयन प्राधिकरणले ९ एन–एकेजी कल साइन दिएको कम्पनीले जनाएको छ।

साझाका बस भित्रिए

साझा यातायातले राजधानीको सडकमा सञ्चालन गर्न लागेका नयाँ १६ वटा बस काठमाडौं भित्रिएका छन्। उपत्यकाका 'ट्रंक रुट' मा ट्राफिक जाम घटाउने तथा गुणस्तरीय सार्वजनिक यातायात सेवा दिने लक्ष्य साझा यातायात सहकारी संस्थाले लिएको छ।

'युरो– ३ एमिसन' मापदण्ड अनुसार बनेका बसमा ५४ वटा सीट र १५ जनालाई उभिने ठाउँ छ। बसको च्यासिस् र बडी भारतको टाटा मोटर्सले गोवामा निर्माण गरेको हो। अहिले ल्याइएका नयाँ बस साझाका सुरुआती दिनलाई सम्झाउने हरियो–क्रिम रंगका छन्। कलाकार स्वरुप निसाजुले संस्थाको पुरानो लोगोलाई 'रि–डिजाइन' गरेका छन् भने रंग तथा सज्जा कार्टुनिष्ट तथा फोटोग्राफर राजेश केसीले नयाँ स्वरुपमा ढालेका छन्। कानूनी प्रक्रिया पूरा गरी ढिलोमा चैत पहिलो साता बस सञ्चालनमा ल्याइसक्ने लक्ष्य रहेको साझा यातायात सहकारीका कार्यकारी प्रमुख पदमलाल महर्जनले बताए।

२०१९ सालदेखि राजधानीमा बस गुडाउन थालेको साझा यातायातले पछि सेवा विस्तार गर्दै देशका विभिन्न गन्तव्यसहित काठमाडौं–दिल्ली र काठमाडौं–ल्हासा सेवा समेत सञ्चालन गरेको थियो। तर, चरम राजनीतिकरण तथा मनोमानी भर्ना गरिएका धेरै कर्मचारी थेग्न नसकेर २०५८ मा बस सञ्चालन रोकिन पुग्यो। एक समय साझासँग १८३ वटा बस थिए। तीमध्ये ५० वटा बस राजधानीको चक्रपथमा गुड्थे।

२०५८ मा सरकारले गरेको साझा यातायात सहकारी संस्था विघटन गरी लिक्विडेसनमा लैजाने निर्णयलाई २०५९ मा पुनरावेदन अदालत पाटनले उल्टाइदिएको थियो। त्यसपछि, अनावश्यक कर्मचारीलाई अवकाश दिएर २०६८ मा विशेष साधारणसभाबाट कनकमणि दीक्षितको अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनिएपछि पुनः बस सञ्चालनको प्रक्रिया अघि बढेको हो। समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट थप चार जना र यातायात व्यवस्था विभागका महानिर्देशक तथा सहकारीका रजिष्ट्रार पदेन सदस्य छन्। साझामा सरकार, विभिन्न संघसंस्था र सर्वसाधारणको शेयर छ।

सिभिल ब्यांकले स्नातक अध्ययनरत विद्यार्थीलाई आधारभूत ब्याङि्कङ तालीम दिएको छ। १८ दिने सैद्धान्तिक तथा व्यावहारिक तालीममा २०० भन्दा बढी विद्यार्थी सहभागी भएको ब्यांकले जनाएको छ।

माछापुच्छ्रे ब्याङ्कले सिरहाको मिर्चैयामा ५१औं शाखा सञ्चालनमा ल्याएको छ। उक्त शाखा अन्तर्गत रहने गरी फूलकुमारी महतो हस्पिटल परिसरमा एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको ब्याङ्कले जनाएको छ।

comments powered by Disqus

रमझम