पर्वतारोहणमा फड्को

Share:
  
- कनकमणि दीक्षित

नेपालका हिमाली पथ–प्रदर्शकको दशक लामो प्रयासपछि हालै 'इन्टरनेशनल फेडेरेशन अफ माउन्टेन गाइड एसोसिएसन' (आईएफएमजीए) ले नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) लाई मान्यता दिएको छ।

यो मान्यता महत्वपूर्ण छ, किनकि अन्तर्राष्ट्रिय पथ–प्रदर्शकको 'एलिट' दर्जामा पस्न अब ढोका खुलेको छ; नेपालका पर्वतारोहण विशेषज्ञलाई। पूरै एशियामा जापानका पर्वतारोहीहरूले मात्र यो मान्यता पाएका छन् भने छिमेक पाकिस्तान र भारतको पर्वतारोहण संस्थापन नेपालले मारेको फड्कोबाट लालायित भएको बुझिन्छ।

आईएफएमजीएको बिल्ला भिर्ने अधिकार पाएपछि नेपालको पर्वतारोहण र पूरै पर्यटनले फड्को मार्ने अवस्था रहन्छ, किनकि अब नेपाली पर्वतारोहण सेवाबारे अन्तर्राष्ट्रियजगत विश्वस्त भएको सही सूचना सञ्चार भएको छ। यस्तै, अब नेपाली गाइडहरूले एनएनएमजीएको बिल्ला भिरेर युरोपको आल्पस्मा होस् वा दक्षिण अमेरिकाको एन्डिज्मा, जताततै विधिवत् पथ–प्रदर्शन गर्न पाउने छन्। नेपाली पर्वतारोहण/पर्यटनको यो फड्कोको यात्रा सन् १९८२ मा शुरू भएको थियो, जब टाशी जाङ्गबु शेर्पा, जिम्बा जाङ्गबु शेर्पा र पदम घलेले फ्रान्सको शमोनी शहरमा 'इन्स्ट्रक्टर ट्रेनिङ' हासिल गरे। पदम घले त्यतिबेलादेखि आईएफएमजीएको सदस्यता दिलाउने अभियानमा निरन्तर क्रियाशील रहे।

इमान गुरुङ,पदम घले
नेपाली गाइडहरूले धेरै दशक अपमान खेप्दै आएका छन्– उनीहरूलाई पश्चिमा हिमाल आरोहण टोली नेतृत्वले सहयोगीको रूपमा मात्र लिने गरेका कारण। तर, वास्तविकता यो छ कि, नेपाली गाइडको 'एक्लाइमेटाइजेशन' (अक्सिजन कम भएको 'डेड जोन' क्षेत्रमा काम गर्न सक्ने) क्षमता उच्च हुन्छ। गह्रौं भार बोक्नेदेखि रुट पहिचान र उद्धार कार्यसम्ममा उनीहरू अघि हुने गर्छन्। खुम्बुको अति नै भिरालो मानिने आमाडब्लाम् जस्तो शिखरमा नेपाली गाइडहरू कुशलताका साथ आरोहणसहयोग गर्दछन्। जबकि, उचाइ र 'टेक्निकल' कठिनाइका कारण त्यहाँ विदेशी पथ–प्रदर्शकहरूलाई धौ–धौ पर्दछ।

आईएफएमजीएको मान्यताको यात्रा तब अगाडि बढ्यो जब उक्त संस्थाको बिल्ला भिर्ने पहिलो नेपाली सुनार गुरुङ हुन पुगे। सन् २००५ मा दर्ता भएको एनएनएमजीए यस अभियानमा निरन्तर लाग्यो, जसको पहिलो अध्यक्ष थिए इमान गुरुङ; जसको मनाङको कङ्गारु हिमालमा त्यही वर्ष अक्टोबरमा हिउँ पहिरोमा परी मृत्यु भयो। एनएनएमजीएका वर्तमान अध्यक्ष पेम्बा ग्याल्जेन शेर्पा, सदस्य प्रेम गुरुङलगायत नेपाली गाइडहरू यस अन्तर्राष्ट्रियकरणको अभियानमा लागिपरेका हुन्।

नेपाल पर्वतारोहण संघ (एनएमए) यस क्षेत्रको अग्रणी संस्था हो। दुई दशकयता उसले संचालन गरेको 'बेसिक' र 'एड्भान्स्ड' कोर्सहरूले नेपाली पर्वतारोहीको जमात खडा गर्न योगदान गरेको छ। तर, व्यापारीकरण, राजनीतिकरण तथा 'ट्रेकिङ पिक' द्वारा आउने ठूलो धनराशी हातमा परेको कारण पनि एनएमए पर्याप्त जागरुक हुनसकेको छैन। बेलाबखत कौशल भन्दा भनसुनका आधारमा पर्वतारोहण कोर्समा सहभागी ट्रेनी चुनिने प्रवृत्ति रहँदै आएको थियो। यसकारण पनि अब एनएमए बाहिरबाटै नेपाली गाइडको कौशल निर्धारण गर्ने र अन्तर्राष्ट्रिय मान्यता दिलाउने काम गाइडहरूको आफ्नै संस्थाले गर्ने उपलब्धि हासिल भएको छ। अब एनएनएमजीएको प्रभाव ह्वात्तै बढ्नेछ। र यसले एनएमएलाई पनि युरोप र अन्य मुलुकका जस्तो व्यावसायिक संस्थामा रूपान्तरण हुन घचघच्याउने छ।

प्रेम गुरुङ, पेम्बा शेर्पा
सन् २००६ मा आईएफएमजीएले केही नेपाली गाइडलाई 'प्रशिक्षार्थी' डिप्लोमा दिएर गत मे महीनामा अन्नपूर्ण हिमाल क्षेत्रमा अन्तिम परीक्षा लिएको थियो। त्यसमा वरफ र चट्टान चढ्ने कौशलका साथ माउण्टेन मेडिसन, मेटिरिओलोजी, उद्दार प्रशिक्षण इत्यादि भयो। तत्पश्चात् काठमाडौंको शंकर होटलमा आयोजित भव्य समारोहमा नेपाली गाइडको संस्थालाई अन्तर्राष्ट्रिय महासंघको पूर्ण सदस्य बनाइयो।

नेपालको 'एलिट' पर्वतारोहीले यो सफलताका लागि एक दशकसम्म शंकालु विदेशीहरूसँग निरन्तर भिड्नु पर्‍यो। यो अवधिमा उनीहरू थाकेनन् बरु निजी स्रोत र साधन समेत खर्च गरे। व्यापारी, व्युरोक्रेसीबाट हण्डर खाँदै आएका यी गाइडहरूलाई मुख्य सचिव लीलामणि पौडेलको सहयोग मिल्न गयो। सगरमाथा चुचुरो चढ्ने नेपाल सरकारको कर्मचारी टीमको नेतृत्व गर्दा उनले यी 'एलिट' बाट पर्वतारोहणका वस्तुस्थिति बुझन पाएका थिए।

पर्वतारोहणमा भएको यस छलाङले आउँदा दिन नेपाल हिमालयको रसस्वादन गर्न आउने विदेशीको संख्या बढ्नेछ, विश्वसनीयतामा वृद्धिका कारण। यसले अर्थतन्त्र र जनजीविकालाई टेवा पुर्‍याउनेछ भने व्यवसायी पर्वतारोही बन्न चाहने नेपाली युवाको जमात पनि बढाउनेछ। यसै कारण एकजना पश्चिमा हिमाल पारखी भन्दछन्, 'नेपलिज् माउन्टिनेटिङ्ग सिम्स् टु ह्याभ एराइभ्ड!'

comments powered by Disqus

रमझम