प्रत्यारोपणमा प्रगति

Share:
  
- मीना शर्मा
नेपालमा पहिलो पटक स्थापना भएको मानव अंग प्रत्यारोपण केन्द्रले सञ्चालनको १० महीनामा चार जनाको मिर्गौला प्रत्यारोपण गरेपछि अब नेपालमै सस्तोमा प्रत्यारोपण हुने आशा जागेको छ।

तस्वीरः ऋषिराम कट्टेल
भाइ दिनेश (बायाँ) लाई मिर्गौला दान गरेर जीवन बचाउने राजन अधिकारी।
दुवै मिर्गौलाले काम गर्न छाडेपछि तीन वर्षमा कतारबाट फर्केका नवलपरासी कावासोतीका रतन श्रेष्ठ (३२) ले ६ माघमा स्वदेशमै सफल मिर्गौला प्रत्यारोपणपछि विजयी अनुभव गरे। साढे दुई वर्षसम्म नेपाल र भारतमा डायलोसिस् गर्दा रु.३९ लाख सकेका उनको मिर्गौला प्रत्यारोपण भने रु.३ लाख ५० हजारमा नै भयो। “आफ्नै भाइले मिर्गौला दियो, आफ्नै देशमा प्रत्यारोपण भयो”, श्रेष्ठ भन्छन्, “संसार जितेजस्तो लागेको छ।”

सरकारले भक्तपुरमा संचालन गरेको मानव अंग प्रत्यारोपण केन्द्रमा मिर्गौलाको सफल प्रत्यारोपण गर्ने पहिलो व्यक्ति हुन् श्रेष्ठ। दुवै मिर्गौलाले काम नगरेपछि सातामा तीन पटक डायलोसिस् गर्नुपर्दा भएभरको सम्पत्ति बेच्नुपर्ने बाध्यता अब नरहेको र कम रकममा नै जीवन बचाउन सकिने भएको उनको भनाइ छ। श्रेष्ठको जस्तै, चितवनका दिनेश अधिकारी (३२) को पनि १६ माघमा मिर्गौला प्रत्यारोपण सफल भयो, भक्तपुरमै। अधिकारी पनि दुवै मिर्गौलाले काम नगरेपछि तीन वर्षमा दुबईबाट फर्केका थिए। उनको पनि अर्को तीन वर्ष नेपाल र भारतका अस्पतालहरूमा डायलोसिस् गर्दा रु.२२ लाख खर्च भयो। “शुरूमै प्रत्यारोपण गर्न पाएको भए यत्रो खर्च लाग्ने थिएन”, अधिकारी भन्छन्, “तर, जीवन बाँचेको छ, उपचार गर्दा लागेको पैसा पहिला जस्तै मिहिनेत गरेर उकास्छु।”

संयोगवश मानव अंग प्रत्यारोपण केन्द्रमा सफल मिर्गौला प्रत्यारोपण गर्ने पहिलो तीन जना वैदेशिक रोजगारीमा गएका नेपालीहरू परेका छन्। यो अस्पतालमा श्रेष्ठ र अधिकारी पछि गतहप्ता पाल्पाका हर्षबहादुर राना (३२) को मिर्गौला प्रत्यारोपण भयो। कतारबाट फर्केको तीन महीनामा स्वदेशमै मिर्गौला फेर्न पाएका राना भन्छन्, “अरूको तुलनामा पैसा पनि कमै खर्च भयो, केही समयमै पहिला जस्तै काम गर्न सक्छु भन्ने लागेको छ।”

आशा लाग्दो प्रगति

एक वर्षभित्र अंग प्रत्यारोपण गर्ने लक्ष्यसहित १७ वैशाख २०६९ मा स्थापित मानव अंग प्रत्यारोपण केन्द्रले १० महीनामै मिर्गौलाको सफल प्रत्यारोपण गर्‍यो। १०० बेड क्षमताको केन्द्रमा २० वटा हेमोडायलोसिस मेसिन, २ वटा मेजर अप्रेसन थियटर र ६ आई.सी.यू. छन्। चार जनाको मिर्गौला प्रत्यारोपण सफल पारेको केन्द्रले अहिलेसम्म १४० जनालाई मात्र रु.२५० शुल्कमा डायलोसिस् सेवा दिएको छ। केन्द्रले मिर्गौला प्रत्यारोपणमा लाग्ने रु.३ लाख ५० हजार औषधि खर्च बाहेक अन्य सेवा निःशुल्क दिएको छ। निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाले डायलोसिस्का लागि रु.२५००―३००० हजार लिन्छन्।

वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपणका लागि महीनौं पालो कुर्दासम्म मिर्गौला रोगीहरूको डायलोसिस्मा लाखौं खर्च हुन्थ्यो। निजी स्वास्थ्य संस्थामा सातामा दुई―तीन पटक डायलोसिस् गर्दा महीनामा रु.३० हजारसम्म खर्च लाग्छ। वीर अस्पतालले नेपालमा पहिलो पटक २०४५ सालमा डायलोसिस् सेवा शुरू गरेको थियो। मिर्गौला प्रत्यारोपण सेवा २०६२ मा शुरू गरे पनि २०६५ पछि मात्र निरन्तरता पाएको थियो। त्रिवि शिक्षण अस्पतालमा पनि २०६५ देखि नै मिर्गौला प्रत्यारोपण शुरू भएको हो।

यस अर्थमा, मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरको प्रगति नेपालका करीब ३० लाख मिर्गौला रोगीका लागि आशा बनेेको छ। नेपालमा हरेक वर्ष तीन हजार जनाको मिर्गौला र एक हजारभन्दा धेरैको कलेजो फेल हुने गरेको तथा ३० लाखभन्दा धेरै मधुमेह रोगीहरू रहेको स्वास्थ्यकर्मीहरूको अनुमान छ। “अहिले हप्तामा एउटा मिर्गौला प्रत्यारोपण गरिरहेका छौं”, केन्द्रका कार्यकारी प्रमुख डा. पुकारचन्द्र श्रेष्ठ भन्छन्, “हामीसँग स्रोत―साधन चाहिं हप्तामा तीन वटा प्रत्यारोपण गर्न सक्ने छ।”

पाँच जनाको प्रत्यारोपण सफल भएपछि न्यून शुल्कमा सेवा विस्तार गर्ने तयारी गरिरहेको र अबको दुई वर्षमा कलेजो, प्यांक्रियाज र रक्तमासीको प्रत्यारोपण गर्ने लक्ष्य रहेको डा. श्रेष्ठले बताए। “अबको ५―१० वर्षमा मुटु र फोक्सो समेत प्रत्यारोपण गर्ने उद्देश्य छ”, डा. श्रेष्ठ भन्छन्।

कानूनी व्यवस्था

मिर्गौला प्रत्यारोपणपछि रतन श्रेष्ठ।
देशमा अंग प्रत्यारोपण सम्बन्धी काम सफल हुँदै गर्दा केही कानूनी अड्चन भने देखिएको छ। मानव शरीरको अंग प्रत्यारोपण सम्बन्धी ऐन, २०५५ मा नजिकका नातेदारले मात्र अंग दिन पाउने प्रावधान छ। यो कानूनले बिरामीका छोराछोरी, आमा–बाबु, दाजु–भाइ, दिदी–बहिनी, काका, भतिजा, भतिजी, बाबुतर्फको बाजेबज्यै, छोरातर्फको नातिनातिनी, छोरीतर्फको नातिनातिनी र दुई वर्षदेखि अटुट रूपमा सम्बन्ध कायम रहेको पति–पत्नी, धर्मपुत्र, धर्मपुत्री, सौतेनी आमा, सौतेनी बाबु र सासूससुरालाई नजिकको नातेदार मानेको छ। कानून विपरीत मिर्गौला प्रत्यारोपण गर्नेलाई पाँच वर्ष कैद र रु.५ लाख जरिवाना हुने प्रावधान छ।

प्रत्यारोपण केन्द्रका निर्देशक डा. श्रेष्ठका अनुसार नजिकका आफन्त नहुने व्यक्तिहरू धेरै पैसा खर्चेर भारत जान बाध्य हुनेछन्। विद्यमान कानून संशोधन गर्दा नजिकका साथी, टाढाका आफन्त वा कुनै उदारमना व्यक्तिको अंगदानबाट बिरामीको ज्यान बचाउन सजिलो हुने डा. श्रेष्ठको धारणा छ। डा. श्रेष्ठका अनुसार, छिमेकी भारतमा नातेदारबाहेकका अंगदाता पनि भरपर्दो छन् र आर्थिक लेनदेन भएको छैन भन्ने प्रमाणित भए अंगदान गर्न पाउने व्यवस्था छ।

comments powered by Disqus

रमझम