२१-२७ चैत २०७२ | 3-9 April 2016

यूरोप पुग्यो ढँटेलो

Share:
  

तीला भण्डारी
ढँटेलोबाट तेल निकाल्दै धनीकला विष्ट।

केही वर्षअघिसम्म गाउँलेका लागि यही ढँटेलो वर्षमा दुईपटक सेतो रङको फूल फुल्ने र एकपटक फल लाग्ने काँडेदार बिरुवा मात्र थियो। केहीले भने खानेतेल, औषधि र मलका रूपमा प्रयोग गर्थे। तर, अहिले गुजाराको माध्यम बनेको छ।

कस्मेटिक सामग्री उत्पादनका लागि ढँटेलोको तेल फ्रान्स निकासी हुन थालेको छ। हिमालयन वायो ट्रेडले निर्यातको प्रबन्ध मिलाउँदै आएको छ। तीन मीटरसम्म अग्लो हुने ढँटेलो समुद्री सतहबाट १९०० देखि २७०० मीटरको उँचाइमा पाइन्छ। सुक्खा ठाउँमा उम्रने यो बिरुवाका लागि मलजल गर्नुपर्दैन।

सशस्त्र द्वन्द्वका समयमा गाउँ बस्न नसकी दक्षिण भारतको एक जडीबुटी कम्पनीमा काम गरेका गज्याङ्गकोट–५ का नन्दप्रसाद न्यौपाने (५५) ले त्यहींबाट ढँटेलोको महत्वबारे पत्तो पाएका थिए। गत भदौमा उनै न्यौपानेले न्यू कर्णाली जडीबुटी उत्पादन तथा ढँटेलो प्रशोधन केन्द्र खोलेका छन्। उनी किसानबाट ढँटेलो संकलित गर्छन् र बेच्छन्। भन्छन्, “यो वर्ष नै पाँच क्वीन्टल ढँटेलो संकलन गरिसकें।”

ढँटेलोको बोट।

लाम्रा–८ जुम्लाकी धनीकला विष्ट (४९) तेल खाँदै आएको ढँटेलो अहिले बिक्री हुन थालेको बताउँछिन्। “हातगोडा र गाला सुन्निएमा ढँटेलोको तेलले सन्चो गर्छ”, उनी भन्छिन्।

ढँटेलोको तेल स्थानीय बजारमा प्रति माना रु.४०० मा बिक्री हुन्छ।

ढँटेलोको व्यावसायिक खेतीका लागि सुन्दर नेपाल संस्थाले जुम्लाका २० सामुदायिक वनका सदस्यलाई तालीम पनि दिएको छ। तालीमपछि गाउँलेले बारीको डिलमा ढँटेलो रोप्न थालेका छन्। “हामीले भर्खरै ढटेलो पेल्ने मशीन पनि उपलब्ध गराएका छौं, यसबाट गाउँलेको समय र श्रमको बचत हुन्छ”, वनमा आधारित उद्यम प्रवर्द्धन कार्यक्रम, जुम्लाका संयोजक कमल भुसाल भन्छन्।

उद्यमी न्यौपाने गरीब र दलितले मात्र टिप्ने भनिएको ढँटेलो अहिले सबैले टिप्न थालेको बताउँछन्।

तीला भण्डारी/जुम्ला


यामाहा को 'शुभारम्भ २०७३'

यामाहा मोटरसाइकल र स्कूटरको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्षको अवसरमा 'यामाहा शुभारम्भ २०७३' योजना ल्याएको छ। योजनाअन्तर्गत यामाहा मोटरसाइकल वा स्कूटरको खरीदमा न्यूनतम रु.७ हजार ३०० पक्का उपहार र हरेक हप्ता एक जना भाग्यशाली ग्राहकलाई रु.७३ हजार नगद पुरस्कार दिइने कम्पनीले जनाएको छ।

महिन्द्रा केयूभी–१०० को बुकिङ

डेढ महीनाअघि भारतमा सार्वजनिक महिन्द्रा केयूभी–१०० गाडीको बुकिङ्ग खुला भएको छ। नेपालस्थित आधिकारिक बित्रे्कता अग्नि इन्कर्पाेरेटेडले बुकिङ्ग खुलेको जनाएको हो। दुई वर्षको वारेन्टीसहित पर्ल ह्वाइट, अक्वामरिन, डाजलिङ सिल्भर, फ्लेमबोयन्ट रेड, फेयरी अरेन्ज तथा डिजाइनर ग्रेका आकर्षक रंगहरूमा उपलब्ध केयूभी–१०० मा ६ जनासम्म आरामसँग बस्न मिल्छ।

सामसङ प्लाजा पोखरामा

नेपालका लागि सामसङ को आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्स प्रालिले पोखराको महेन्द्रपुलमा सामसङ डिजिटल प्लाजा शुरु गरेको छ। ग्राहकलाई आफ्ना उत्पादन सुलभ तरीकाले उपलब्ध गराउने उद्देश्यले प्लाजाको शाखा खोलिएको हिम इलेक्ट्रोनिक्सकी अध्यक्ष सीमा गोल्छाले बताइन्। प्लाजामा एलईडी टीभी, मनिटर, प्रिन्टर, रेफ्रिजेरेटर, भ्याकुम क्लिनर, वासिङ मशीन, माइक्रोवेभ ओभनलगायत सामग्री उपलब्ध छन्। काठमाडौं उपत्यकामा ८ र बाहिर ४ सामसङ प्लाजा खुलिसकेका छन्।

बालकुमारीमा सुजुकी

सुजुकी फोर–हि्वलरले ललितपुरस्थित बालकुमारीमा नयाँ शोरुम खोलेको छ। नारायणी अटो बिजनेश नामक शोरुमको उद्घाटन ११ चैतमा सीजी मोटोकर्पका प्रबन्ध निर्देशक अरुणकुमार चौधरीले गरेका हुन्। यससँगै सुजुकी का २६ शहरमा ३० वटा आउटलेट संचालनमा छन्। उद्घाटनको अवसरमा २० हजार नगद छूट प्रदान गरिने कम्पनीले जनाएको छ। शोरुममा कम्पनीका अल्टो, अल्टो के–१०, वागन आर, स्विफ्ट, सेलेरियो, डिजायर र बहुउद्देश्यीय गाडीहरू ओमन भ्यान, ओम्नी कार्गो र इको साथ नयाँ शानदार एस–क्रस, सेडान र सुजुकी सियज कार उपलब्ध हुने जनाइएको छ।

लक्ष्मी ब्यांकले १६ चैतमा मध्यपश्चिमको सुर्खेत र सुदूरपश्चिमको महेन्द्रनगरमा नयाँ शाखा स्थापना गरेको छ। योसँगै लक्ष्मी ब्यांकका शाखा ४९ तथा एटीएम काउन्टर ६२ पुगेका छन्।

सिटीजन्स् ब्यांक इन्टरनेशनलले नुवाकोटको थानापति र बालकुमारी गाविसमा शाखारहित ब्यांकिङ सेवा विस्तार गरेको छ। युके एडको लगानीमा संचालित सक्षम– एक्सेस् टु फाइनान्स कार्यक्रमको सहकार्यमा भूकम्प अति प्रभावित जिल्लामा शाखारहित ब्यांकिङ प्रणालीमार्फत वित्तीय पहुँच पुर्‍याउन सेवा विस्तार गरेको छ।

एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले सोलुखुम्बुको सल्लेरी र ओखलढुङ्गाको हुलाकडाँडामा शाखा विस्तार गरेको छ। बीमा समितिबाट तोकिए बमोजिम कृषि तथा पशु बीमालाई प्राथमिकता दिने गरी शाखा थप गरिएको कम्पनीले जनाएको छ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको स्वीकृत मुनाफाबाट चालू चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। १६ चैतमा बसेको संचालक समितिको बैठकमा १.३१५८ प्रतिशत नगद लाभांश समेत प्रस्ताव गरिएको छ। कम्पनीले साधारण शेयर निष्कासनका लागि आगामी साधारण सभामा प्रस्ताव पेश गर्ने निर्णय पनि गरेको छ।

comments powered by Disqus

रमझम