२७ फागुन २०६९ | 10 March 2013

साउदीबाट गुहार

Share:
  

साउदीमा बेपत्ता श्रीमतीले प्रयोग गरेको राहदानी, भिसा र तस्वीर देखाउँदै धनबहादुर।
“राजा, मलाई यहाँ मालिकले हातपात गर्छन्, मलाई यहाँबाट निकाल्नुस्।” साउदी अरबको रियादबाट श्रीमान्लाई यसरी फोनमा गुहार मागेको भोलिपल्टदेखि सम्पर्कविहीन भएकी २० वर्षीया जेनी गहतराज (मगर) को अहिलेसम्म अत्तोपत्तो छैन।

अढाई वर्षअघि रियाद पुगेकी जेनी त्यसको चार महीनामै बेपत्ता भएपछि उनका श्रीमान् धनबहादुर गहतराज (२९) सरकारदेखि विभिन्न संघ–संस्था धाइरहेका छन्। दलालले रु.१ लाख लिएर जेनीलाई मकवानपुरकी सानुमाया मोक्तानको राहदानीबाट १५ जेठ २०६७ मा रियाद पुर्‍याएका थिए। रियादको रौंदास्थित एक घरमा काम गर्न पुगेकी जेनीले घरमालिकबाट शारीरिक र मानसिक यातना पाएको बताउँदै आएकी थिइन्। साथीहरूमार्फत रियादमा श्रीमतीको धेरै खोजी गरेका गहतराज साउदीस्थित नेपाली राजदूत उदयराज पाण्डेबाट 'खोजी गर्दा घरमालिकले घर छाडेर भागेछ' भन्ने जवाफ पाएको बताउँछन्।

राजधानीको र्‍याडिसन होटल र अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा गार्डको काम गर्ने सुन्दरपुर, मोरङका गहतराज आफैं साउदीमा चार वर्ष काम गरेर २०६६ मा फर्केका हुन्। उनले मकवानपुरकी जेनीसँग काठमाडौंमै प्रेमविवाह गरेका थिए। विवाहपछि परिवारसँग बस्न नसकेकी जेनी आफैंले इच्छा गरेपछि साउदी अरब पठाएको गहतराज बताउँछन्। “दलालहरूले उनलाई ५०० रियाल तलब पाउने गरी २०६७ जेठमा भारतहुँदै साउदी पुर्‍याएका हुन्”, गहतराज भन्छन्, “चार महीनासम्म नियमित सम्पर्कमा पनि थिइन्।”

साउदी प्रहरीमा कार्यरत घरमालिकको ज्यादती सहन नसकेपछि जेनी तीन महीनामा छिमेकको घरमा काम गर्ने झ्ापाकी सुनिता नामक युवतीसँग भागेकी थिइन्। तर, उनलाई एक महीनापछि पुरानै मालिकले पक्रेर घर लगेका थिए। त्यसपछि घरमालिकको

००९६६५०५५५८५१५ नम्बरमा आफैंले फोन गर्दा 'तेरो बूढीलाई राम्ररी काम गर्, भनेको मान् भन् नत्र कि जेल हालिदिन्छु कि मारेर फ्याँकिदिन्छु' भनेको गहतराज बताउँछन्। त्यसको एक हप्तामा श्रीमतीले फोनमा रुँदै गुहार मागेको उनी बताउँछन्। “घरमालिकलाई फोन गर्दा थाहा छैन मात्र भन्छ”, उनी भन्छन्।

श्रीमान्को प्रयास

साउदीमा काम गर्दा धेरै नेपाली चेलीको उद्धार गरेका गहतराजलाई आफ्नै श्रीमतीको अवस्था थाहा नपाउँदा साह्रै ग्लानि भएको छ। श्रीमतीलाई साउदी पठाउने दलालहरू खोज्न मुम्बई पुगेर तीन महीना भौंतारिएका उनी ६ महीनाअघि साउदी समेत जान खोजेका थिए। तर, एक वर्ष 'ओभर स्टे' गरेकाले त्यहाँको अध्यागमन विभागले एयरपोर्टबाटै फर्काइदियो। जेनीलाई खोज्न मुम्बई, साउदी जाँदा र नेपालका कार्यालयहरू धाउँदा अढाइ लाख रुपैयाँ सकिएको उनी बताउँछन्। अलि कठोर भएर फोन गर्दा घरमालिक हच्किएकोले जेनीलाई उसैले कतै लुकाएको अथवा हत्या गरिसकेको आशंका उनको छ।

प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेट्ने पटक–पटकको प्रयास असफल भएको, 'हेलो सरकार'लाई फ्याक्स पठाउँदा कुनै जवाफ नपाएको र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पनि भेट नदिएको उनको गुनासो छ। परराष्ट्रका कर्मचारीहरूले श्रीमती खोज्न आफैं साउदी जाने सल्लाह दिएपछि उनले भेडा चराउने कामदारको भिसामा त्यो प्रयास पनि गरेका थिए। पौरखी समूहले खोजी गरिदिने आश्वासन दिएको र माइती नेपालबाट 'यस्तो मुद्दा श्रम विभागले हेर्छ' भन्ने जवाफ पाएको गहतराजले बताए। कहीं कतैबाट सहयोग नपाएका गहतराजले बल्लतल्ल सोल्टी होटलको एउटा कोठामा रहेको साउदी अरब दूतावासको सम्पर्क कार्यालय पत्ता लगाएका छन्। त्यहाँका कर्मचारीले 'हामी बुझछौं, केही समय पर्खनू' भनेकाले उनी केही होला कि भन्ने आशामा छन्। धनबहादुर भन्छन्, “उनी कसरी बाँचेकी होलिन्, मारिसके कि भनेर पीरमा बाँचिरहेको छु।”

डम्बरकृष्ण श्रेष्ठ

comments powered by Disqus

रमझम