२७ फागुन २०६९ | 10 March 2013

भेटिएला युरेनियम ?

Share:
  
बहुमूल्य खनिज युरेनियम खोज्न नेपाली प्राविधिकहरू दुर्गम डाँडाकाँडा र हिमाल जाँदैछन्

नेपालमा युरेनियम खोजीका लागि संयुक्त राष्ट्रसंघ अन्तर्गतको 'अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी' (आईएईए) को सहयोग पाएको खानी तथा भूगर्भ विभागले दुई महीनाभित्रै काम शुरू गर्ने योजना बनाएको छ। विद्युत् उत्पादन, आणविक बम र परमाणु परीक्षणमा काम लाग्ने यो महँगो खनिज पदार्थ नेपालका विभिन्न क्षेत्रमा पाइने संकेत पाइएकाले आईएईएले सहयोग गरेको हो।

आईएईएको सहयोगबाट चीन र पोर्चुगलमा युरेनियम खोज्ने तालीम पाएका खानी विभागका कर्मचारीहरू थप तालीमको लागि भारत र चेक गणतन्त्र जाँदैछन्। विभागका वरिष्ठ इन्जिनियर कृष्णदेव झाका अनुसार, आईएईएले युरेनियम अन्वेषणमा चाहिने उपकरणहरू पनि उपलब्ध गराउँदैछ। सम्झौता अनुसार आईएईएले नेपाललाई सन् २०१२/१३ मा मात्र सहयोग गर्नेछ। २००८ मा आईएईएको सदस्य बनेको नेपालले २०१४/१५ सम्म सहयोग विस्तारको अनुरोध गरेको छ।

सम्भावना बढी

तीन वर्षअघि तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले एक भारतीय वैज्ञानिकलाई उद्धृत गर्र्दै माथिल्लो मुस्ताङमा युरेनियमको ठूलो भण्डार रहेको बताएका थिए। श्रेष्ठका अनुसार, ती भारतीय वैज्ञानिकले दशकअघि नै प्रयोगशाला परीक्षण गर्दा त्यो क्षेत्रको चट्टानमा रेडियोधर्मी विकिरण फेला पारेका थिए। रेडियोधर्मी विकिरण हुनु भनेको युरेनियम रहेको संकेत हो। विभागको आफ्नै अध्ययनले पनि मकवानपुर, सिन्धुली, बैतडी, बझाङ, बाजुरा र काठमाडौंका २४ ठाउँमा युरेनियम रहेको संकेत दिएको थियो। मकवानपुरको तीन भङ्गाले, सिन्धुलीको बुका खोला र काठमाडौंको शिवपुरीमा अरू ठाउँमा भन्दा बढी युरेनियम हुनसक्ने विभागको अनुमान छ।

विभागका उप–महानिर्देशक हिफजुर रहमान नेपालको सबै भौगोलिक क्षेत्रमा युरेनियमको सम्भावना रहेको बताउँछन्। विभागले १९८० को दशकमै मकवानपुरको तीन भङ्गाले क्षेत्रमा प्रारम्भिक अध्ययन गर्दा युरेनियम खानीको सम्भावना देखिएको वरिष्ठ भूगर्भविद् कृष्णप्रसाद काफ्ले बताउँछन्। आईएईएको सहयोग पाउन थालेपछि विभागले त्यहाँ थप अध्ययन गर्दैछ। भारत र पाकिस्तानमा युरेनियम पाइएको ग्रेनाइड र साइनाइड चट्टान नेपालको विभिन्न क्षेत्रमा पाइएको काफ्ले बताउँछन्। विभागका उप–महानिर्देशक रहमान र वरिष्ठ इन्जिनियर झ्ाले मुस्ताङ क्षेत्रमा अध्ययनको तयारी भइरहेको जानकारी दिए।

युरेनियम फेला परे नेपालले त्यसलाई अन्तर्राष्ट्रिय बजारमा बेचेर राम्रो आम्दानी गर्न सक्छ। छिमेकी भारत र चीन युरेनियमको सम्भावित बजार हुन्। आणविक ऊर्जा उत्पादनका लागि भारतले अष्टे्रेलियासँग ठूलो परिमाणमा युरेनियम किन्दै आएको छ। विज्ञान तथा प्रविधि मन्त्री डा. केशवमान शाक्य युरेनियम पाइए नेपालमै आणविक ऊर्जा उत्पादन हुनसक्ने बताउँछन्। मन्त्री शाक्य भन्छन्, “त्यो सम्भावनालाई ध्यानमा राखेर मन्त्रालयले आणविक प्रविधि केन्द्र (न्युक्लियर टेक्नोलोजी सेन्टर) स्थापना गर्ने प्रस्ताव गरेर फायल अर्थ मन्त्रालयमा पठाएको छ।”

त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र विभागका प्रा.डा. लोकनारायण झा देशभित्रका युरेनियम अन्वेषण गर्न सक्दा आणविक विकासमा पाइलो सार्न सहयोग पुग्ने बताउँछन्।

रमेश कुमार

comments powered by Disqus

रमझम