१९-२५ वैशाख २०७३ | 1-7 May 2016

एम्बुस–म्यान महिमा

Share:
  
- महेश थापा
राज्य संयन्त्रका मुख्य अङ्गहरूमा एम्बुस–म्यान खोजेर राखौं अनि नागरिक अधिकारको घाँटी निमोठेर लोकतान्त्रिक गणतन्त्र नेपालको बिजोग हेरौं!

भानु भट्टराई
“वर्तमान नेपालमा कुन–कुन शासन व्यवस्था विद्यमान छन्?” गम्भीर मुद्रामा रहेका गुरुवरले सोधे।

“संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था”, सरल प्रश्न भेट्या साइतमा जवाफ दिन झ्म्टिंदै मैले कटाक्ष गरें, “द्वैध प्रणालीलाई त अव्यवस्था भनिन्छ, गुरुवर!”

“हेर, हेर बेवकूफको बुद्धि!”

गुरुवरको काउन्टर कटाक्षले मलाई खङ्ग्रङ्ग बनायो। बोक्रे विचारकहरूले अस्थिर सरकारको कारण देश उक्सेरो नलागेको दुखडा सुनाए पनि फराकिलो नजर फिराउँदा हामीकहाँ व्यवस्थै टिकाउन हम्मे पर्ने छ्याङ्ग हुन्छ, छुसी सरकारको के कुरा? सातसाले क्रान्तियता चार थान सग्ला शासन प्रणालीसँग ढोगभेट गरेका हामीले बाधाअड्काउ फुकाएर शाही सरकारलाई हाफ र प्रधानन्यायाधीश नेतृत्वको मन्त्रिपरिषद्लाई क्वाटर सकार्न नाइँनास्ति नगर्दा समग्रमा पौने पाँचवटा व्यवस्थाको स्वाद लिन भ्याइसकेका छौं। भर्खरै जन्मिएको संविधान कार्यान्वयन नहुँदै नयाँ नेपालमा अर्को व्यवस्था खप्टिसक्यो कि क्या हो? म टोलाएँ।

बाहिरिया बतौरेहरूले नेपाली प्रजातिलाई अव्यवस्था फ्रेन्ड्ली वा व्यवस्था टोकुवाको पगरी धराउन बेर छैन, परन्तु सुव्यवस्थाको तिर्सनामा पुस्तौं संघर्ष गर्ने हामीलाई टोकस्नु आततायी कर्म ठहर्छ। नेपालमा अपनाइने व्यवस्थाहरू सधैं एम्बुसमा किन पर्छन्? भन्ने जब्बरे अवस्थामै छ। पुरानो व्यवस्था टिकाउन कन्दनी कसेका सुयोग्यहरूले नयाँ व्यवस्थामा झ्न् घच्चीको रोल पाउने हुँदा नयाँपनले तुषारोको सामना गर्नुपर्ने दाबी पिलन्धरे होइन। झ्न्डा–डन्डा हल्लाउने ठाउँमा उनै तैनाथ हुनपुग्दा नयाँ व्यवस्थामा पुरानो लुतो सल्कनु अनौठो भएन।

“हामी अहिले लोकमान्त्रिक अदुआतन्त्र अन्तर्गत शासित मनुवा हुम्”, गुरुवरले मेरो तर्कना बिथोले, “संविधानप्रदत्त कानूनी उपचारको मौलिक हकलाई अदुअआ अड्डाले चुट्कीको भरमा निलम्बित गरिदिने व्यवस्था केको लोकतान्त्रिक गणतन्त्र?”

गुरुवर कुकाउनुको अन्तर्य बल्ल बुझियो। उच्चासनमा ढसमसिएर अख्तियार दुरुपयोग गर्नेहरूलाई ठिंगुर्‍याउन गठित अदुअआले साझ्ा यातायातका बेतलबी अध्यक्षलाई अनाहकमा एम्बुसमा पार्‍यो भन्दै बबाल मच्चिएको देख्दा उदेक लाग्छ। ख्यातनाम् भ्रष्टाचारी, अदालतबाट डामिएका अत्याचारी र अर्बौं कर छलीको प्रपञ्च मिलाउने धुन्धुकारीलाई गिजोल्दा तिनले अदुवा खाई सभा बस्दिने जुलूम भएकाले केही न केही गर्नै परो, अम्बुड्सम्यान त्यत्तिकै ढूस् हुनु त भएन नि!

पत्रकार तथा अधिकारकर्मी समेत रहेका साझाका अध्यक्षलाई तारो बनाउँदा एक तीरमा मल्टिपल शिकार गर्न सकिने सत्य नबुझने बकम्फुसहरू डेढ दर्जन बस भएको साझा यातायातमा भ्रष्टाचार गरेर अकुत कसरी कमाइन्छ? भनेर औंला भाँच्दै दिमाग खराब गरिरहेका छन्। साझा यातायातलाई बौराउनु भनेको दशकौं लामो शासकीय असफलताको पारितोषिक स्वरुप प्राप्त सिस्टमलाई भरिभङ्ग पार्ने तिकडम भएकाले दण्डनीय अपराध हो। ठूलो दुःखले बैठाएको साझा बसलाई दोबारा गुडाउने षडयन्त्रले सारा कियाधरामा पानी फेर्छ।

पूर्वसंचालकहरूको त्याग, तपस्या, बलिदान, इमानदारी र अहोरात्रको मिहिनेतले थल्याएको साझ्ा बसमा हठात् प्राण संचारित हुँदा नै भ्रष्टाचार ठसठस्ती गन्हाउन थालेको थियो। त्यो गन्धसँगै अन्य संस्थानहरूलाई पनि ब्यूँताउनुपर्ने लफडा जन्मिने सम्भावना बढेर गयो। त्यसको दुष्परिणाम के हुन्छ, था'छ? निजी क्षेत्र ओझेल पर्छ, लूटतन्त्रमा अङ्कुश लाग्छ, मुनाफा घट्छ, अर्थतन्त्र भष्मखरानी हुन्छ। यस्तो कृत्यमा वेलैमा बे्रक लगाउनु अपरिहार्य भएको बुझनुपर्दैन, बेवकूफ?

राणाकालका रैतीहरू बाङ्गो रूखलाई सोझ्ो कबोल्न रत्तिभर कचकच गर्दैनथे, उनीहरूलाई अमन र बडाहरूलाई चैन थियो। लोकतन्त्रले मात्तिएको नागरिक नामधारी जमात बडाहरूको गाथगाथीको विषयमा धरि बखेडा झिक्न तम्सिन्छन्। त्यस्तालाई थान्कोमा नराखे समाजमा अव्यवस्था फैलन्छ। मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको ढिंढोरा पिटेर बडाहरूको निंदहराम गर्नेहरूको उत्पातले त्यसै पनि अन्तर्राष्ट्रिय सीमाना छिचोलेको छ। नाकाबन्दी भनेको नाकाबन्दी नै हो रे! अझ्, स्वाधीन राष्ट्रले विकल्प खोज्नुपर्छ रे! यसरी कुकाएर प्रभुको समेत माथा खराब गराउन उद्यत भएपछि कसरी सहन सकिन्छ? नूनको सोझो भन्ने कुराको पनि महत्व हुन्छ नि!

त्यसमाथि, हुकूम प्रमाङ्गीबाट योग्यता आर्जन गरेकाले हुकूमी लहड नपाल्नु अप्राकृतिक हुन जान्छ। पाप–धर्म बतियाउने पन्डाहरू वैयक्तिक जीवनमा सबै आचारबाट फुक्काफाल भए जस्तै अरूलाई अख्तियारी सिकाउने अधिकारीलाई कुनै अधिकार र कर्तव्यको खुट्टीले बाँध्दैन। बडाले सुन्ने भनेकै मनको बात हो। अदृश्य अङ्कुशेतिर लक्कड लगाई अख्तियारवाला बनौं, मनमा बिझाएकाहरूसँग बापवैरी साध्न एम्बुस थाप्दै हिंडौं। हाम्लाई नियम पालना गराउने अम्बुड्सम्यान होइन, लोकलाई कज्याउने एम्बुस–म्यान खाँचो छ।

comments powered by Disqus

रमझम