१९-२५ वैशाख २०७३ | 1-7 May 2016

चन्द्रशमशेरको छटपटी

Share:
  
- ज्ञानमणि नेपाल
भोटमा चीनले एकलाख सैनिक राख्न लागेकोले ब्रिटिशले पनि नेपाल र भोटाङमा सैनिक मिशन राख्नुपर्छ भन्ने कुरा स्टेटस्मेन पत्रिकाले छापेपछि चन्द्रशमशेर निकै छटपटाएका थिए।

खोटाटक विषयमा सं. १८४६ मा भएको नेपाल–भोट युद्धमा भोटको मद्दतमा आएको चिनियाँ सेनापतिको मध्यस्थतामा सन्धि हुँदा नेपालले जितेको भूमि छाड्ने भोटले त्यसबापत वर्षेनि रु.५० हजार दिने र खोटाटकको दररेट कायम गरिएको कुरा पहिले लेखिसकिएको छ। भोटले यो सन्धि पालना नगर्दा एक वर्षपछि पुनः युद्ध भयो। भोटको सहायताका लागि आएको चिनियाँ सेनापतिले समेत युद्ध गरेकाले त्यसलाई नेपाल–चीन युद्ध भनियो, तर त्यो नेपाल–भोट युद्ध नै थियो। आखिर सम्झौतामै टुंगिएको त्यो युद्धमा सन्धिपत्र भएको देखिदैन। स्यामर्पा लामाको श्रीसम्पत्तिको लागदावी भने जोडिएको थियो। त्यसमा भोटले केही लागदावी छाड्यो केही नेपालले पनि छाड्यो र चिठीपत्रको आदान–प्रदानमै त्यो मुद्दा टुङ्गियो।

युद्धपछि नेपालले पाँच–पाँच वर्षमा चिनियाँ बादशाहलाई सिर्तो बुझाउन प्रतिनिधिमण्डल पठाउन थाल्यो भन्दै विदेशी भ्रम छर्न लागेका थिए। परन्तु, बादशाहकहाँ सौगातसाथ प्रतिनिधिमण्डल पठाउन थालेको सं. १८४६ बाटै हो। यताबाट प्रतिनिधिमण्डल जान्थ्यो, उताबाट पनि आउँथ्यो। सिर्तोको कुरै होइन, सौगात आदान–प्रदान हुन्थ्यो। यताबाट भन्दा उताबाट पठाएको उपहार दशौं गुणा बढी हुन्थ्यो। फेरि, सौगात–चिठी पठाउने विश्वमै चलेको चलन हो। यस विषयमा मैले 'नेपाल–भोट–चीन सम्बन्धका केही सांस्कृतिक पक्ष' र 'नेपाल–चीन–तिब्बत सम्बन्धका समीक्षात्मक इतिहास' मा पनि सविस्तार वर्णन गरेको छु।

आजको विषय चाहिं के हो भने, चीनले भोटमा एक लाख सैनिक राख्ने भयो, अब ब्रिटिशले पनि नेपाल र भोटाङमा सैनिक मिशन राख्ने जस्तो कामकारबाही गर्नु पर्‍यो भन्ने कुरा ५ मई १९०९ (बुधवार) को इंग्लिस पत्रिकामा छापिएछ। त्यो पढेपछि चन्द्रशमशेरको छटपटी बढ्यो।

अर्जीपत्रको बेहोरा सच्याउने र चीनमा सौगात नपठाउने भन्ने रेजिडेन्टका कुरामा महाराजले जवाफ दिदै आएकै थिए। यो अवस्थामा दुई ढुंगाबीचको तरुल जस्तो देशले के गर्नुपर्छ, दुई–तीन दिनभित्र जवाफ लेखेर ल्याउनू भन्दै महाराजले जनरल हिरण्यशमशेरमार्फत तीनवटा प्रश्न चीफ साहेब र हेमराज शर्मालाई प्रश्न पठाए। यहाँ हेमराजको डायरीको अंश उद्धृत छ।

त्यस अतिरिक्त जनकराज पाण्डे र हेमराज पाण्डेहरूले कौसीतोसाखानामा रहेका चीन सम्बन्धी काम लाग्ने कागज र बहादुर शाहका पालामा अंग्रेज पादरीहरूसँग भएका कागज खोजी चाहिने जति चीफकहाँ पुर्‍याए।


४ मई, मंगलबार, सन् १९०९

श्री ३ महाराजको सवारी केही दिन राज हुने गरी गोकर्णमा आज भयो, गोकर्णेश्वर महादेवका स्थानदेखी पूर्वपट्टीको सल्लाघारीमा फुसको घर बनाई राज भयो.

५ मई, बुधवार, सन् १९०९

आज आयाको स्टेटस्मेनमा चीन सर्कारले तिब्बतमा १००००० फौज र गभर्नर राख्न लागे, अब हामी अंग्रेजहरूले पनि नेपाल भोटानका बारेमा केही बन्दोबस्त गर्नुपर्दछ भन्ने इत्यादि विषयको छापा छापेको रहेछ. सो कुराले हो वा अरु केही कुराले हो, ज. हिरण्यसंसेरका हातमा एक कागज दि चीफकाहा पठाई बक्सेको हुनाले ६ तारिखको व्याहान चीफसाहेबले मलाई बोलाउन पठाई श्री ३ बाट यो कुराको जवाफ श्रीमाहिलागुरुज्युले र तिमिले लेखनु भन्ने हुकुम भयेर आयेको छ. यस्को जवाफ लेखनालाई २ दिनको भाका छ, आदित्यवारको दिन तयार गरी ल्याउनुहोला भन्ने मर्जी बक्सेको हुनाले प्रश्नको कागजबाट नक्कल गरी घर आई तल लेखिया बमोजीमको जवाफ तयार गरने कां गरे. प्रश्न–

चीनले नेपाल हाम्रो अधीनमा हो, हामीले भनेबमोजीम गर्नुपर्दछ भनि वा अरु केही कामकुराबाट नेपालमा आफनो जोर बढाउने हिसाब गरे भने के गर्ने? तेस्मा ननिको मानि बृटिसले कुरा उठाउला उठावैन? उठाया के जवाफ दिने? .... १

वृटिशले नेपाललाई अब चीनसँग वास्ता राख्नु हुदैन, चीनले आफ्नु जोर पुर्‍याई अघी नभयाको कुरामा समेत हाम्रो हक हो भनि नेपालसंग कामकुरा व्यवहार गर्न लागे भने हामीले पनि आफ्नु मुलुकको बचाउ र हक् कायम राख्नालाई भरवित्तो गर्नुपर्ने भैपरि आउदछ भने इत्यादि कुराबाट नेपालले चीनसंग विल्कुल वास्ता राख्न भयेन भनेका पक्षमा के गर्ने के जवाफ दिने? ...२

भोटले हर्साल हामीलाई दिने १०००० रुपैया अवउप्रान्त दियेन भने के गर्ने? .... ३

यो कुरा कसैलाई नभन्नु आफ्ना आफ्ना हस्ताक्षरले लेखी ल्याउनु, कसैसंग कुरा गरेको थाहा भयो भने भारी सजाय पाउने छौ भन्नेसमेत उर्दी भयाको छ.

६ मई, विहीवार, सन् १९०९

श्री ३ को गोकर्णमा आशीर्वाद चढाउन म २ बजे गई ७।। बजे वेलुका फर्केर आञे.

मैले चढाउनलाई लेखेको जवाफ, हुनलाई ता चीनसर्कारले पनि तेस्तो हक् नभयेको कुरामा किन ज्यादा जोड देखाउलान्, वृटिससर्कारले पनि तेस्तो किन भन्लान्, पशुपतिनाथको कृपाले तेस्तो अवसर पनि कैले नपरोस्, तैपनि संभावनाको कुरो हो. ठूलोठूलो सर्कारका बीचमा यो यौटा सानो मुलुक स्वतन्त्र रहेको छ. ठूलोले जसो गरे पनि सुहाउदछ. जस्तो रसिया र अंग्रेज मिलि फारस र काबुललाई उनीहरूसंग केही कुरा नसोधी उनीहरूको राय नलिई आफुसआफुसमा भागवंडा गरे भने तेस्तै लडाञी कहीं नगरी कुरैका मोजले अर्काको स्वतन्त्र छिन्न पाइन्छ भने को तेस्मा अगाडि सरोईन. इत्यादि कारणले यदि त्यो अवसर आयेका पक्षमा के गर्ने भनि निगाहसाथ प्रश्न भयामा उत्तर चढाउनालाई त्यहासम्मको हामी वालकहरूको ल्याकतै नपुगेको, उस्मा पनि विशेष गरी अर्का देशका सर्कारसंग कामकार्रवाई यस्तो यस्तो अघि भयाको यो चालासंग रहनुपर्दछ भन्ने तेस्तो केही बुझियाको जानियाको छैन तापनि आफ्नो मनमा आयाको लेखनु भनने हुकुमअनुसार आफ्नो मनको दौड लेखी तथामति बालक मैले चढायाको छु. यस्को योग्ययोग्य र परिणामको कामकार्रवाई सर्कारकै निर्भरमा छ. यो कुराको विशेष विचार पनि सर्कारैबाट हुदामा मात्र यथार्य पार लाग्ला भनने मेरो चित्तमा लाग्दछ. यो लेख लिखदा मनमा जो आयो सोही लेखेको हुनाले बुद्धि नपुगी ऊचनीचको केही ख्याल रहन नगयेकोमा माफी पाउनाको आधारमा छु. सर्कार जो हुकुम्. 'चीनले नेपाल हाम्रो अधीन हो. हामीले भनेबमोजिम गर्नुपर्दछ' भन्ने यो कुरालाई अघि १८५० सालमा चीनसंग हामीहरूले विरोध परी वेत्रावतीको किनारसग चीनको फौज आई लढाञी बढी पछि सुलह भयाको हो. त्यो सुलहपत्रमा के लेखियाको छ कुन्नि हामीहरूले साहैबमोजिम जाहासम्म सकिन्छ रहनुपर्दछ. हामीहरूले थाहा पायेको कुरा भने ५।५ वर्षमा चीनमा खलिता र ञाहा भयाको चीजवस्तुहरू लियेर जाने, चीनबाट पनि नेपाल सर्कारलाई चीनको वस्तु दिने खलिता पठाउनेसम्मको कुरा हो, तेत्तिकै कुराले स्वतन्त्र नेपाललाई अधीन भन्न कसरि सक्नु. तेस्तो दुवैतर्फको खलिताको आवत्जावत् र सौगाती चीजवस्तु पठाउनु यो ता ठूलाठूला स्वतन्त्र राज्यहरूमा पनि हुन सक्दछ. तेत्ती कुराले अधीनराज्य भन्ने कारण केही देखिदैन.

१) अधीनको राज्य यो हो भन्दछन् भने १८७२ सालसम्म यो नेपालले कमायाको महाकालीदेखि किल्ला कांगडासम्मको मुलुक नेपालका हातबाट जान लागेको अवसरमा नेपालको जानु क्या हो कि, चिन सर्कारको जानु हो, तेस्मा मौकामा हाम्रा हातबाट बृटिस सर्कारका हातमा जादा चीन सर्कारले तेस बखत्मा गयेको मुलुकलाई यो मुलुक मेरो हो तिमि लिन पाउदैनौ भनि बृटिसलाई के रोक्नुपर्ने होइन?

२) फेरी गदरको साल हिन्दुस्थानमा बृटिस सर्कारलाई फौजको मदद दिदा उन्को खास अधीनराज्य हो भने विना उनीलाई नसोधी दिन नहुने हो, नसोधी दियाकोमा के चीनले तेस वेलामा केही भन्नुपर्दैनथ्यो?

३) सर्कारमा आयाको 'थोङ् लिङ्' को तक्माले स्वतन्त्र कायम गर्दछन् भने के त्यो तक्मा आर्का मुलुकका राजा वा अरुलाई दिनु हुँदैन र? यदि तक्मै दिनाले अधीन हुने हो भने बृटिसबाट तक्मा नेपालमा आउदा के चीनले रोक्नुपर्ने होइन? के चिनिञाको तक्मा कति युरोपवासीले पायाका हुनन्, के तिनिहरू र तिनिहरूको राज्य सबै चीनको अधीन भैसक्यो? इत्यादि कारणले यो नेपाल राज्य चीन सर्कारको अधीन हो भनि भन्न कसरी सकनु. मान्ने कुरालाई ठूलो मानिसलाई सानोले मान्नु नीतिसिद्धै कुरा हुनाले मानी आयाका ह्वौ.

अरु केही कामकुराबाट नेपालमा आफ्नो जोर बढाउने हिसाब गरे भने के गर्ने?

नेपालमा केही जोड बढाउने कुरामा अरु कारण अझ केही देखियाको छैन तापनि यदि तेस्तो अवसर आयाका पक्षमा तेस्तै सानोतिनो कुरा हो भनेदेखी ता यस्बाट उस्तो खराप केही देखिदैन.

१८ मई, सन् १९०९

जेष्ठ ४ गते, मंगलबार, संवत् १९६६

आज श्री ३ को सवारी ञही रजिडन्सीमा गार्डर पार्टी हुनाले ४।। बजे पुग्ने गरी भयाको थियो. सवारीसाथ चीफ प्रभृति जनरलहरू र वडागुरुज्यु, ना. वडागुरुज्यु, म, प्रयागराज, अरु कोही कर्नेलहरू पनि गयाका थियौं. कुस्तीको, बिलियार्डको अरु खेलहरूको तमासा भयो. गार्डले नञा चालसंग कवायद देखायो. ६।। बजे रजिडन्सीबाट सवारी फिरी बक्सियो. जमा ३१ जना मानिस गयाका थियौं २ सालेवं वग्गी, ३ अरु जोडी वग्गी थियो.

१९ मई, सन् १९०९

जेष्ठ ५ गते, बुधबार, संवत् १९६६

चीफसाहेवबाट मलाई र जनकराजलाई कौसीमा गई पुराना कागज खोजी काम लाग्ने कागज केके रहेछ खोजी ल्याउनु भनि पठाई बक्सेको हुनाले आज व्याहान ११ बजेदेखी कौशीतोपखानामा गई ताहा रहेको कागज खोजी हेर्दा चीनका विषयको १५।२० थान कागज र अघि बहादुर शाहका पालामा नेपालमा पादरी आउदा लिखापढी भयाको कागज अंदाजी २५।३० थानको कागजको मुठ्ठा १ र कुमाउराज्य तिमिलाई भयो भन्ने वादशाह मुलल्मानले लेखी दियाको सक्कल फार्सी अक्षरको कागजहरू पाईयाका हुनाले सबै खोजी श्रीचीफका हजुर्मा लगी चढाउने काम भयो. पादरीको र फार्सी कुराको चिठीहरू मुन्सीखानामा लगत् कसी राखनु, चीनका चिठीहरू जैसीकोठामा लगत् कसाई राखनु भनिदिनु भन्ने मर्जीबमोजीम् जैसीकोठाका सुब्बा जुजुमान् जिम्मा गयाको छ.

comments powered by Disqus

रमझम