१९-२५ वैशाख २०७३ | 1-7 May 2016

भूकम्पको एक वर्ष: सुधि्रंदै आनीबानी

Share:
  
- सविता श्रेष्ठ
थोरै सही, सम्भावित भूकम्पको जोखिम घटाउन सुरक्षाका उपाय अपनाउने क्रम शुरू भएको छ।

भूकम्पको पाठः टपमा रहेको ग्याँस सिलिण्डर बाँध्दै।
१२ वैशाख २०७२ को भूकम्पमा ललितपुर उपमहानगरपालिका २२, चाकुपाटका आर्यन बज्राचार्य (११) कोठामा एक्लै थिए। अहिले पनि उनी भूकम्प भन्नासाथ डराउँछन्, तर परकम्पमा चिच्याउने बानी विस्तारै कम हुँदै गएको छ। आमा संगीता (३४) ले भूकम्पमा डराउनु, आत्तिनुहुँदैन भनेर आर्यनलाई सिकाएकी छन्। दुई छोरा आर्यन र दिवस (१४) लाई कोठामा चुकुल नलगाई बस्न भनेकी छन्।

संगीताले भूकम्पबाट चर्किएको कौसी मर्मत गरेकी छन्। घरभित्रका सामानको क्षति नहोस् भनी विभिन्न उपाय अपनाएकी छन्। भित्तामा झ्ुन्ड्याइएका फोटो फ्रेम तथा गह्रौं सामग्री हटाएकी छिन्। “पहिला वास्तै हुन्थेन, भूकम्पपछि सतर्क बनेकी छु”, उनी भन्छिन्। ललितपुर–१६ न्याढकी लक्ष्मीदेवी बज्राचार्य (६३) १२ वैशाख बिहान महिला समूहको बचत रकम बुझाउन ६ वर्षीय नातिसँग बाहिर निस्केकी थिइन्। भूकम्प जाँदा खुला ठाउँमा भएकी उनी नातिसँगै जमीनमा लडिन्। धन्न केही भएन।

अचेल उनी नातिहरूलाई खुला ठाउँमा मात्र खेल्न भन्छिन्। केही अप्ठ्यारो परेमा जानकारी दिन सिट्ठी राख्न समेत अह्राएकी छन्। घरका सामान सुरक्षित राख्न पानीको जार भुईंमा र ग्याँस सिलिण्डरलाई सिक्रीले भित्तामा बाँधेर अड्याएकी छिन्। भूकम्पबाट बज्राचार्यको घरको भुईं तला थोरै भासिएको थियो। इन्जिनियरले केही पूरेरै बसे हुन्छ भनेपछि घर मर्मत गरी उनीहरू बसेका छन्। “फेरि कुनै पनि वेला भुईंचालो आउन सक्छ भनेर सतर्क बनेका छौं, अब पहिले जस्तो डर छैन”, उनी भन्छिन्।

ललितपुरकी लक्ष्मीदेवी बज्राचार्यले ग्याँस सिलिण्डरलाई सिक्रीले बाँधेकी छिन्।
झ्न्डै ९ हजारको ज्यान जाने गरिको विनाशकारी भूकम्प भोगेको एक वर्ष भयो। तर, फेरि अर्को भूकम्प आउँदैन भन्ने वैज्ञानिक आधार पनि छैन। त्यसैले, १२ वैशाखको भूकम्पलाई पाठका रूपमा लिंदै भविष्य सुरक्षित गर्नुपर्ने विज्ञहरूको सुझाव थियो। तर, के ललितपुरका दुई ब्रजाचार्य गृहिणी जस्तै सबैले भूकम्पबाट चेतेर सुरक्षाका पूर्वतयारी अपनाएका छन्?
“छैन, धेरै कुरा गर्नै बाँकी छ”, भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) का निर्देशक विजयकृष्ण उपाध्याय भन्छन्, “तर, सचेतना भने बढेको छ।”

सुरक्षाप्रति सचेतना

भूकम्पबाट सुरक्षित हुन घरभित्र राखिएका ठूला तथा गह्रुँगा सामानको व्यवस्थापनमा ध्यान दिन थालिएको छ। खस्ने, पल्टने तथा फुट्न सक्ने सामान जोगाउन पेच किला, फलामे सिक्रीको प्रयोग बढेको छ।

घर बाहिर तथा छतमा राखिने गमला, पानीट्यांकीलाई बार लगाएर राख्ने क्रम पनि शुरू भएको छ। विपत् सामनाका लागि औषधि, पानीको बोतल, खानेकुरालगायतका अत्यावश्यक सामग्री रहेको 'गो ब्याग' झ्टपट झ्ोला पनि राख्न थालिएको छ। “तर, केहीले होइन, सबैले यस्तो सावधानी अपनाउनुपर्छ”, उनी भन्छन्।

फोटो फ्रेम अड्याउन ड्रिल गरिंदै।
भूकम्पले घरहरूमा क्षति पुर्‍याएपछि भाडामा बस्नेले पनि सुरक्षित घर रोज्न थालेका छन्। बालाजुमा बस्दै आएका विनोद क्षेत्रीले सुरक्षित घर खोजेका छन्। “पुरानो घर चर्किएकाले छाडें”, उनी भन्छन्, “तर, सुरक्षित घर पाउनै गाह्रो भयो।”

व्यक्तिगत मात्र होइन, संस्थाका नयाँ भवनहरू भूकम्प प्रतिरोधी बन्न थालेका छन्। भूकम्पले भत्किएको मैतीदेवीको सूर्योदय बोर्डिङ स्कूलको चारतले भवन अहिले एकतले बनाइएको छ। हालै मात्र आनन्दभूमि र ब्लु स्काई स्कूलसँग गाभिएर एसएबी पब्लिक स्कूल बनेको यो स्कूलले थप भवन पनि एकतले नै बनाउने भएको छ।

अभिभावकको चेतनाका कारण पनि विद्यालयहरू भूकम्प प्रतिरोधी बन्न बाध्य भएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष लक्ष्यबहादुर के.सी अभिभावकहरूले विद्यालय भवनको अवस्थाबारे चासो राख्न थालेको बताउँछन्। “अभिभावकको चासो नै भवनको सुरक्षा हुने गरेको छ”, उनी भन्छन्।

२७ चैत साँझ् ललितपुरको भैंसेपाटी केन्द्रबिन्दु भएको ४.५ रेक्टरको परकम्पमा आत्तिएर भाग्दा ललितपुरकै पाँच जना घाइते भए। यसले बताउँछ– भूकम्पमा कसरी सुरक्षित हुने भन्नेबारे जनमानसमा पर्याप्त जानकारी पुगेको छैन या मानिस सचेत छैनन्।

र्‍याकका सामान खस्न नदिन डोरीले अड्याइएको ।

भूकम्पबाट भौतिक क्षति बेहोरेकाहरू सानो परकम्पमा पनि आत्तिने धुलिखेल अस्पतालका मानसिक रोग विशेषज्ञ डा. अजय रिसाल बताउँछन्। उनका अनुसार, घरमा सुरक्षाका उपाय अवलम्बन गर्ने, परिवारका सदस्यबीच सम्पर्कमा रहिरहने, पानी, खानेकुरा, औषधि जस्ता अत्यावश्यक कुराको जोहो गर्ने र सुरक्षित रहन सूचना आदानप्रदान गरिरहनुपर्छ। “आफू सुरक्षित छु भन्ने महसूस हुन थालेपछि मात्र डर घट्न थाल्छ”, उनी भन्छन्।


बिजोगमै हाकुवासी

बिक्रम राई
लहरेपौवा–१ मा निजी जग्गा भाडामा लिएर बसेका हाकु–८ का भूकम्पपीडित।
विनाशकारी महाभूकम्पले रसुवाको लाङटाङपछि सबभन्दा नराम्ररी क्षति पुर्‍याएको गाविस हाकु हो। सहयोग गर्ने राष्ट्रिय–अन्तर्राष्ट्रिय संघसंस्थाको ध्यान भने लाङटाङमै केन्द्रित भयो। लाङटाङवासीले राहत, पुनर्स्थापना र पुनःनिर्माणमा जिल्लाका अन्य गाविसवासीको तुलनामा बढी सहयोग पाए, जुन आफैंमा राम्रो कुरा हो। यसका लागि सहयोगी हातहरूलाई धन्यवाद दिनैपर्छ र लाङटाङको पुनःनिर्माणमा स्थानीय संस्कृति तथा वास्तु झ्ल्काउने कुरा गौण नबनोस् भन्नेमा होशियार हुनुपर्छ।

हाकुवासीका लागि भने पुनःनिर्माणमा स्थानीय संस्कृति र वास्तुकला झ्ल्काउने कुरा टाढाको सपना भएको छ। हाकुवासीको बिजोग हेर्न हाकु गाउँ, हाकुबेसी, गोगने वा तिरु जानै पर्दैन; सदरमुकाम धुन्चेमा छरिएका भूकम्पपीडितका अस्थायी क्याम्पमा गएर हेरे पुग्छ। कोही हाकुवासी भार्खु जाने सडकछेउको फङ्ला घुम्तीमा टहरो हालेर बसेका छन् भने कोही धुन्चे डाँडा, केबु र जिल्ला प्रहरी कार्यालय मुनि। बिहान–बेलुका चूलो बाल्ने उपाय नहुँदा केटाकेटीदेखि बूढाबूढीसम्मले गिट्टी कुटिरहेका छन्।

हाकुका सिनेवाङ्दी तामाङले सिडिओ कार्यालयमा गएर सहयोग माग्दा २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले सहयोग गर्छ भनेको बताए। भूकम्पपीडितलाई सरकारले गरेको व्यवहार र सहयोगको ताल यस्तो छ। पीडितहरूको भने साँघुरो ठाउँमा गुचुमुच्च बसाइ छ। खानेपानीको ठूलो अभाव छ, सरसफाइ छैन। त्रिपाल र टीनका अस्थायी छाप्रोमा चर्को घामलाई समस्या मानिएको छैन, तर हावाहुरी चल्दा र पानी पर्दा ठूलै चिल्लीबिल्ली हुन्छ।

यो पंक्तिकार धुन्चे डाँडामा पुग्दा सानो हाकुकी निरमाया तामाङ दिदीको सहयोग लिएर टहरो बनाउँदै थिइन्। उनका श्रीमान् रोजगारीको लागि मलेशिया गएका रहेछन्। काखमा दूधे बालक भएकी उनले काठमाडौंको सरकारले बस्नको लागि ठीक भनिदिए गाउँ फर्किने बताइन्। “भनूँ भने लामो कथा नै होला हाम्रो दुःखको”, निरमायाले भनिन्, “नभनौं भने फेरि बर्खा लाग्नै आँट्यो, एक वर्षमा पनि न घर छ, न खानेकुरा।” जग्गा भाडामा लिएर वेत्रावतीको क्याम्पमा बसेकामध्ये हाकु गोगनेकी बुटी तामाङले असारपछि जग्गाधनीले जाऊ भने जाने ठाउँ नभएको बताइन्। हाकुका भूकम्पपीडित कालिकास्थान, धुन्चे, वेत्रावती, सातविसे (नुवाकोट) र काठमाडौंमा समेत छन्।

फुर्पा तामाङ, रसुवा

comments powered by Disqus

रमझम