सतेरझोडा–३ का टीकाराम साहको खेतमा पनि भने जति गहुँ फलेन। नहरबाट सिंचाइ गर्ने बित्तिकै १३ र १९ चैतमा असिनासहित वर्षा भयो। “पाकेको गहुँको दाना असिनाले चुटेको देखेर रुन मन लाग्यो”, साह भन्छन्। छिटाहा–४ का विश्वनाथ मेहताको २८ कट्ठा खेतमा १७ मन मात्रै गहुँ फल्यो।
त्यसो त सुनसरी–मोरङ सिंचाइ आयोजनाले नहर सफा गर्ने भन्दै पानी नदिने जनाउ दिएपछि सुनसरीमा गत वर्षभन्दा झ्न्डै पाँच हजार हेक्टर कम (१३ हजार ६९० हेक्टर) क्षेत्रफलमा गहुँ लगाइएको थियो। तर, गहुँ छरेपछि नहरमा एकाएक पानी आयो। लगत्तैको वर्षा पनि भयो। जिल्ला कृषि विकास कार्यालय, सुनसरीका बाली विकास अधिकृत दीपेन्द्र पोखरेल जिल्लाको ५० प्रतिशत गहुँ असिना, पानी र हावाले बिगारेको बताउँछन्।
मोरङमा पनि सिंचाइकै समस्या देखियो। कृषि विकास कार्यालय, मोरङका प्रमुख राजेन्द्र उप्रेतीका अनुसार, मोरङमा अघिल्लो वर्ष २२ हजार हेक्टरमा गहुँ खेती गरिएकोमा यस वर्ष करीब १६ हजार हेक्टरमै सीमित भएको थियो। “मोरङमा पनि सुनसरीकै जस्तो सिंचाइकै समस्या हो”, उनी भन्छन्।
बीमाले राहत
गहुँ खेतीमा भएको नोक्सानी कम गर्न कतिपय किसानलाई बीमाले सघाएको छ। तर, समयमै बीमा नगरेकाहरूले भने ठूलो क्षति बेहोर्नुपरेको छ।
सुनसरीको तनमुना गाविसस्थित सम्झ्ना कृषि सहकारी संस्थामार्फत ऋण लिएर कुल १५० बिघामा गहुँ खेती गरेका किसानले पाकेको गहुँ असिनाले सखाप पारेको भन्दै बीमा रकम दाबी गरेका छन्। हुरी, असिना, वर्षा, रोग, आगलागीले गहुँमा क्षति पुर्याएमा बीमा कम्पनी र कृषि विकास कार्यालयका प्राविधिकले क्षतिको मूल्याङ्कन गरी बीमा रकम दिने गरेका छन्। गत वर्ष पनि असिना पानीले नष्ट भएको गहुँ किसानले प्रति बिघा रु.१४ हजारका दरले क्षतिपूर्ति पाएका थिए।
कमल रिमाल, विराटनगर