१९-२५ वैशाख २०७३ | 1-7 May 2016

मुसीकोटबाट काक्री

Share:
  
- जीवनप्रसाद राई
विकास नपुगेको 'सानो नेपाल' रुकुममा कृषि पर्यटनको ठूलो सम्भावना छ।

जीवनप्रसाद राई
हुन त, हामीले देश नै त्यस्तो पाएका छौं कि जता डुले पनि नेपाल सुन्दर छ, जता हेरे पनि सम्भावनाले भरपूर छ। गत फागुनको सुक्खामा रुकुमको मुसीकोटदेखि काक्रीसम्मको यात्रा गर्दा पनि त्यही भेटियो, जुन नेपालका अन्य पहाडी जिल्लामा भरपूर भेटिन्छ।

रुकुमलाई 'सानो नेपाल' पनि भनिंदो रहेछ– एकदमै गर्मी हुने समथर र शीतल पहाडदेखि हिउँले ढाकिरहने हिमाली क्षेत्रसम्म भएकोले। जडीबुटीको स्रोतमा धनी रुकुमेहरूले आउँदो जेठमा यार्सा महोत्सव गर्न लागेका रहेछन्। सँगसँगै कृषि पर्यटनलाई बढावा दिने उनीहरूले बताए। हुन पनि, रुकुममा कृषिमा धेरै काम भइरहेको सदरमुकाम मुसीकोट छेवैको चापाँ पुग्दा थाहा हुन्छ। चापाँको समशीतोष्ण तरकारी बीउ उत्पादन केन्द्रमा राम्रो काम भइरहेको प्याज, केराउ, सलगम, मूला, काउली, रामतोरियालगायतका अनेक थरीका बीउ–बिरुवाहरूको हराभराले देखाउँछ। कतिसम्म भने, ११७ रोपनीमा फैलिएको कृषि केन्द्रले ड्रागनफ्रुट पनि फलाएको छ।

चापाँबाट काक्रीतिर लाग्दा बाटामा पर्ने राहुखेत, गिलवाङ, सिस्नेरी, धाउने, रुकुमकोट, धाउलापहिरा, दोमाई, सिसाघारी, खावाङ आदि गाउँठाउँहरू कोभन्दा को कम सौन्दर्य र कृषि सम्भावना बोकेर नवआगन्तुकहरूको पर्खाइमा बसेको प्रतीत हुन्छ। सानी भेरीको तीरैतीर जाने यही रुटमा चिउरीको ठूलो पकेट क्षेत्र पर्छ। राहुखेत, गिलवाङ र सिस्नेरी क्षेत्रमा चिउरी प्रशोधन, अनुसन्धान र विकास केन्द्रहरू खुल्न पनि थालेका रहेछन्। यसमा आवश्यक छ त थप लगानीको।

यो बाटोबाट ग्रामीण पर्यटनको सम्भावना हेर्दै अगाडि बढ्दा पुरानो सदरमुकाम रुकुमकोट पुगिन्छ, जहाँ विशाल ताल छ। कमलपोखरी नामको यो पोखरी साँच्चै कमलले शोभायमान छ। पर्यटकीय स्थलको रूपमा यसलाई विकास गर्न सकिन्छ। जिल्लाको पुरानो आर्थिक केन्द्रलाई पुनर्जीवन दिन पनि यो आवश्यक छ। अहिलेलाई भने पोखरीको कमलबाट जण्डिसका बिरामीहरूले मात्र औषधीय फाइदा उठाइरहेको स्थानीयहरूले सुनाए। कमलपोखरीबाट भिरालो बाटो हुँदै अगाडि बढ्दा पारिपट्टिको फाँटमा बसेको काँडा गाउँ देखिन्छ। त्यति राम्रो ठाउँ हेर्दा मनमा उठ्छ– त्यहाँ सिंचाइ, सडक, बिजुलीलगायतको पूर्वाधार विकास पुर्‍याउन सके कस्तो हुँदो हो!

त्यहाँबाट धाउलापहिरा, दोमाई हुँदै अगाडि बढेपछि रोल्पाको थवाङबाट आएको भेरी नदीको सहायक खोलामा पुगिन्छ, जसको किनारको बाटोमा हिंड्दै गर्दा माथि काक्री देखिन थाल्छ। यो पूरा क्षेत्रमा परम्परागत वास्तुशैलीका घर छन्। साँझ् सुन्दर काक्री पुगेर भोलिपल्ट बस्ती मुनि बनाइएको आदिवासी जनजाति संग्रहालय हेरियो। कृषि भनौं या ग्रामीण पर्यटन, यसका निम्ति जातीय संग्रहालय एउटा गहना हो, तर स्थानीय श्रमदान समेत गरी रु.४० लाख खर्चिएको काक्रीको संग्रहालय भने बडो हतारमा बनाइएको रहेछ– स्थानीय निर्माण संस्कृतिलाई बिर्सेर।

मगर खाम भाषा–संस्कृतिको केन्द्रको रूपमा रहेको यो क्षेत्रलाई प्रकृतिले पनि उत्तिकै साथ दिएको छ। व्यावसायिक कृषिको विकासले यो क्षेत्रको पर्यटनलाई टेवा दिंदा सांस्कृतिक पर्यटनले पनि साथ पाउनेछ। नेपालको समृद्धिको लागि यो मह140वपूर्ण कुरा हो। काक्री आसपासमा मगरबहुल ११ अन्य गाविस छन्। सरकारले एकीकृत हुन चाहने गाविसहरूलाई केही सहुलियत दिएर प्रोत्साहन पनि गरेको छ। यसमा काक्रीले पनि विचार गर्न सक्नेछ।

अबको विकासमा स्थानीय सरकार नै पहिलो योजनाकार बन्ने हुनाले काक्रीले निम्न सम्भावना पहिलो रोजाइमा पार्न आवश्यक छ। यो क्षेत्रमा अनेकौं प्रकारका जडीबुटी र वन्यजन्तु पाइन्छन्। त्यसमध्ये पर्यटकीय हिसाबले कालिज र बँदेल पाल्न प्रोत्साहन जरूरी छ। यसका लागि सरकारले चोरी शिकारमा कडाइ र व्यावसायिक पालनलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नुपर्ने देखिन्छ। कुनै पनि क्षेत्र व्यावसायिक मर्म विपरीत रहनुहुँदैन।

निष्कर्षमा के भन्न सकिन्छ भने गिलवाङ सिस्नेरी, रुकुमकोट र काक्रीवासी, स्थानीय सरकार बीचको प्रगाढ सम्बन्धको विकास हुन आवश्यक छ। यसले सिर्जना गर्ने रोजगारीको संख्या दुई/चार जना नभई उल्लेख्य मात्रामा हुनेछ। यस्ता परियोजनामा केन्द्रको पनि भूमिका सहयोगात्मक र प्रवर्द्धनात्मक भई रोजगारी र अवसर सिर्जना गर्नेतर्फ लक्षित हुनुपर्दछ।

comments powered by Disqus

रमझम