वरिष्ठ इन्जिनियर डा. राजन सुवाल भूकम्पपछि बन्ने घरहरू उष्णतारोधक (थर्मल इन्सुलेटर) सहितको हुनुपर्ने बताउँछन्। उनका अनुसार इन्सुलेटरले घरभित्रको तापक्रम नियन्त्रण गर्न सघाउँछ। “नयाँ निर्माणको अवसरमा भित्ता, झ्याल, ढोकामा इन्सुलेटेड प्यानल राखे तापक्रम नियन्त्रणमा सघाउ पुग्छ”, उनी भन्छन्।
गर्मी भगाउन एयर कन्डिसनर (एसी), कुलर, पंखा आदि प्रयोग गर्न सकिन्छ। बजारमा सीजी, सामसुङ, पानासोनिक, एलजी आदिका एसी र कुलर उपलब्ध छन् भने सिलिङ, वाल, डेक्स, टावर जस्ता विभिन्न आकार–प्रकारका पंखा खरीद गर्न सकिन्छ। अनलाइन पत्रिका हफिङटन पोस्ट का अनुसार, पंखालाई घडीको उल्टो दिशाबाट घुम्ने गरी राख्नुपर्छ। तर, कृत्रिम हावा सबैलाई फाप्दैन, कतिपयलाई टाउको दुख्ने, बान्ता आउने समस्या पनि देखिन्छ। त्यसैले, धेरैले प्राकृतिक हावा नै रुचाउँछन्।
गर्मी मौसममा दिउँसो घरका झ्याल–ढोका राम्ररी बन्द राख्नुपर्छ। झ्यालका सम्पूर्ण पर्दा राम्ररी लगाउँदा घामको किरण र ताप कोठाभित्र छिर्न पाउँदैन। भेन्टिलेसन र भित्री ढोकाहरू भने खुला राख्नुपर्छ। दिनभरि बन्द झ्याल–ढोका एकैचोटि राति खोल्नाले कोठा शीतल हुन्छ। क्रस–भेन्टिलेसन (दोहोरो–वायुसञ्चार) ले कोठा गुम्सिन दिंदैन।
कोठामा धेरै तातो हुन नदिन बत्ती, ग्याँस, स्टोभ, मैन, कम्प्युटर, टीभी, ओभन जस्ता तापका स्रोतलाई धेरैबेरसम्म चलाउनुहुँदैन। पर्दा, तन्ना, सिरानी वा सोफाका खोलहरू फिका रङका प्रयोग गरेमा तिनले शीतल महसूस गराउँछन्।
घर हुनेले भने वरिपरि रुख–बिरुवा रोप्नुपर्छ। भाडामा बस्नेले बार्दली वा कोठाभित्रै गमला राखे अक्सिजनको प्रवाह सहज हुन्छ। इन्जिनियर डा. सुवाल बनाउने वेला नै घरको विन्यास मिलाएमा धेरै हदसम्म तापक्रम अनुकूल बनाउन सकिने बताउँछन्। “सबै कोठामा कुनै न कुनै समयमा घाम लाग्ने गरी घर बनाउँदा घरभित्रको वातावरण सधैं अनुकूल हुन्छ”, इन्ष्टिच्यूट अफ इन्जिनियरिङ, पुल्चोक क्याम्पसका प्राध्यापकसमेत रहेका सुवाल भन्छन्।
घरको उत्तरी भागमा बार्दली बनाउने हो भने पनि गर्मीको उकुसमुकुसबाट केही हदसम्म बच्न सकिन्छ। दुई तह भएको सिसा प्रयोग गर्नाले पनि त्यसले इन्सुलेटरको काम गर्ने डा. सुवालको भनाइ छ। “बनिसकेको घरमा चाहिं फ्लोर, सिलिङ र भित्तामा काठका पाता बिछ्याउन सकिन्छ”, उनी भन्छन्, “तराईतिर काठको सट्टा मार्वल छाप्नुपर्छ।”
प्रस्तुतिः सजना बराल