१९-२५ वैशाख २०७३ | 1-7 May 2016

आफ्नै स्तुति

Share:
  

अहिले सरकार हाँकिरहेको नेकपा (एमाले) ले आफ्नो पूर्वरुप नेकपा (माले) का संस्थापक केन्द्रीय नेता रत्नकुमार बान्तवाको सम्झ्ानामा वर्षेनि २७ चैतमा स्मृतिसभा गर्दै आएको छ। गत २७ वर्षमा गरिएका स्मृतिसभाहरूको आकार ठूलो/सानो भए होलान्, तर नेकपा (एमाले) ले बान्तवालाई आफ्ना श्रद्धेय नेता तथा शहीद मानेकोले यसमा क्रमभंग भएको छैन। 'को–अर्डिनेशन केन्द्र' इलामको नेतृत्वमा झलनाथ खनालको उत्तराधिकारी बनेका बान्तवा २०३५ मा गठित नेकपा (माले) को संस्थापक केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका थिए। उनलाई व्यक्तिगत रुपमा सम्झने र लेख्ने नेताहरूको कुनै कमी छैन, एमालेमा। महासचिव ईश्वर पोखरेलको पूर्वको रातो तारा त्यही श्रृंखलाको एक कृति हो।

पुस्तकमा २०२९ सालमा उच्च शिक्षाका लागि इलामबाट काठमाडौं आएका बान्तवामा भएको कम्युनिष्ट चेतनाको विकास र भूमिगत राजनीतिदेखि 'को–अर्डिनेशन केन्द्र' मा आबद्धता, २७ चैत २०३५ मा पंचायती सत्ताले गरेको उनको हत्या र त्यसपछिको अवस्था समेटिएको छ। ९ खण्डको पुस्तकमा बान्तवाको राजनीतिक जीवन बाहेक चरम गुटबन्दीबाट धरासायी बन्दै गएको कम्युनिष्ट आन्दोलन एकीकरणतिर मोडिएको प्रसंगहरू पनि अटेका छन्। कम्युनिष्ट पार्टीको 'झापा विद्रोहको धार' का नेताहरू धमाधम पक्राउ परिरहेका वेला बान्तवाले देखाएको साहसलाई प्रशंसा गर्न लेखकले विभिन्न घटनाको सम्झना गरेका छन्।

पुस्तक पूर्वको रातो तारा

लेखक ईश्वर पोखरेल

प्रकाशक अक्सफोर्ड इन्टरनेशनल पब्लिकेशन

पृष्ठ १०२,

मूल्य रु.१७५

क्याम्पसमा सहपाठी र राजनीतिमा सहकर्मी रहेकोले बान्तवाको स्वभाव, क्षमता, आँट, साहित्यमा अभिरुचि सबै कुराप्रति लेखक पोखरेल भलिभाँती जानकार रहेको पाठकले सहजैै बुझ्छन्। सँगसँगै, पोखरेलले बान्तवामार्फत आफ्नै राजनीतिक इतिहास बुझाउन खोजेको कुरा पनि लुक्दैन। पुस्तकमा पोखरेलको पारिवारिक पृष्ठभूमि, कम्युनिष्ट राजनीतिमा प्रवेश, तत्कालीन परिस्थितिमा खेप्नुपरेको कठिनाइहरू पटक–पटक दोहोरिन्छन्। आफूले दिएको जानकारीको आधारमा प्रदीप नेपालले देउमाईको किनारमा लेखेको तर भूमिकामा आफूलाई धन्यवादसम्म नदिएको देखेपछि त्यो उपन्यास नपढेको गुनासो लेखक पोखरेलले गरेका छन्। पार्टीका वरिष्ठ नेता झ्ालनाथ खनालले लेखेको पूर्वको रातो तारा को भूमिकामा भने पोखरेलको मनग्गे प्रशंसा छ।

पुस्तकमा समेटिएका धेरैजसो सामग्री बान्तवासँग असम्बन्धित छन्। र पनि, उनको हत्यापछि पार्टीले गरेको निर्णय, दुर्लभ तस्वीर लगायतका सामग्रीले पुस्तकलाई महत्वपूर्ण बनाएको छ।

सइन्द्र राई

comments powered by Disqus

रमझम