१९-२५ वैशाख २०७३ | 1-7 May 2016

मस्तिष्क र महिलाका कथा

Share:
  

तस्वीरहरुः अजय रानाभाट
'पाहुना घरकी साहुनी' को दृश्य।
विज्ञानले थुप्रै असम्भव सम्भव तुल्याएको छ। साहित्यकार शंकर लामिछानेले २०२५ सालतिरै यस्तै विषयमा 'ऊ कसको हो?' कथा लेखेका थिए। कथामा विज्ञानको शक्तिलाई व्यावहारिकतासँग भिडाएर परिणाम खोज्ने प्रयास गरिएको छ। तर, न कथा न कथामा आधारित नाटक 'ऊ कसको?' बाटै जवाफ भेट्न सकिन्छ।

प्रवीण खतिवडाको निर्देशनमा अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको यो नाटक अन्योलमै सकिन्छ। गोविन्द पराजुलीको निर्माणमा तयार भएको नाटकले एक व्यक्तिको शरीरमा अर्को व्यक्तिको दिमाग हालेर सकुशल बनाइएको 'गौतम सुब्बा' नामक पात्रको सामाजिक, शारीरिक एवम् मनोवैज्ञानिक संघर्षलाई देखाएको छ। झट्ट सुन्दा क्लिष्ट लाग्ने कथालाई अभिनय, प्रकाश तथा ध्वनि संयोजन र मञ्च व्यवस्थापनको तालमेलले प्रष्ट पार्न सघाएको छ।

निर्देशक खतिवडा नाटक हेरिसकेपछि दर्शकहरू केलाई सही मान्ने भनेर द्विविधामा पर्ने गरेको बताउँछन्। उनी घटनावली हेरिरहँदा नाटक सरलजस्तो लागे पनि पहेली सुल्झाउन गाह्रै पर्ने तर्क गर्छन्। खतिवडा भन्छन्, “जटिल विषयलाई सकेसम्म सजिलो गरी प्रस्तुत गर्न खोजेको छु।” २६ वैशाखसम्म मञ्चन हुने नाटकमा सुदाम सिके, पशुपति राई, पूजा लामा, बादल भट्ट आदिको अभिनय छ।

इटालियन नाटककार कार्लो गोल्डोनीले सन् १७५३ मा 'द मिस्ट्रेस् अफ द इन' नाटक लेखे। नाटकमा त्यसवेलाको इटाली समाजमा महिलामाथिको सामाजिक दृष्टिकोण र महिलाको भूमिकालाई प्रस्तुत गरिएको थियो।
गोल्डोनीको त्यही नाटक अढाइ सय वर्षपछि नेपालीमा अनुवाद भएको छ– पाहुना घरकी साहुनी शीर्षकमा। नाटकले हाम्रै समाजको चरित्र चित्रण गरेको भान हुन्छ।

नाटक 'ऊ कसको?' मा अभिनय गर्दै कलाकार।
जीवन बरालद्वारा निर्देशित नाटक बत्तीसपुतलीस्थित गोठाले नाटकघरमा ३० वैशाखसम्म चल्नेछ। नाटकलाई नेचुरल्ली दीपकले अनुवाद गरेका हुन्।

नाटकमा पाहुना घरका आगन्तुकलाई आफ्नो रूप र बोलीले लट्ठ पार्ने साहुनी मेनका कालान्तरमा कसरी एक्ली र बेसहारा बन्छे भन्ने देखाइएको छ। तरुनी छउन्जेल फुर्तिली र सबैलाई रिझाउन सक्ने उनी उमेर ढल्किएपछि बेकामे भएर थन्किन्छिन्। “सबै पुरुष उस्तै हुँदा रहेछन्”, उनी भन्छिन्, “सबैलाई महिलाको रूप नै प्यारो हुँदोरहेछ।”

आफूलाई महिला र विवाह संस्थाकै कट्टर विरोधी भनिहिंड्ने कप्तानदेखि समाजमा प्रतिष्ठित काजी, धनवान अधिकारी, नोकर फोक्सु र कलिलै उमेरको कान्छासमेत मेनका भनेपछि हुरुक्कै हुन्छन्। उनलाई लोभ्याउन मरिहत्ते गर्छन्। व्यापार बढाउन पुरुषहरूलाई मक्ख पार्ने मेनका कप्तानलाई मायाको अर्थ बुझाउन खोज्छे। तर, कप्तान मायाभन्दा आसक्ति देखाउँछ।

हास्यरस भनिए पनि नाटकमा हाँस्ने दृश्य भने कमै छ। नाटकमा इनेशा भट्टराई, सोनाम लामा, सविन कट्टेल, मातृका घिमिरे आदिले अभिनय गरेका छन्।

सजना बराल

comments powered by Disqus

रमझम