१९-२५ वैशाख २०७३ | 1-7 May 2016

अथक औलो अभियन्ता

Share:
  

सन् १९७० मा अमेरिकाबाट जनस्वास्थ्यमा स्नातकोत्तर गरेपछि ललितपुरका ऋद्धिगोपाल वैद्य केही गर्ने अठोटका साथ स्वदेश फर्किए। लगत्तै सरकारको औलो रोग नियन्त्रण कार्यक्रमसँग जोडिए। र, कीटजन्य रोग विशेषज्ञको रुपमा खटिन थाले।

अनुसन्धानका लागि औलोको खानी मानिएको पश्चिम तराईको कैलालीमा १४ महीना बस्दा उनलाई धेरै पटक औलो लाग्यो। “लामखुट्टेको आनीबानी थाहा पाउन पक्रने र मार्ने पनि गर्नुपर्‍यो“, वैद्य भन्छन्, “त्यही वेला औलोले भेट्यो।”

त्यसपछि औलो अनुसन्धानका लागि उनी देशका ६२ जिल्ला पुगे, जहाँ २० पटकसम्म औलो लाग्यो। औलो परास्त गर्ने अभियानमा लागेका वैद्यलाई पटकपटक औलोले नै सिध्याउला कि जस्तो भयो। तर, उनले हरेश खाएनन्।

सन् १९५४ देखि शुरु भएको औलो नियन्त्रण अहिले निवारणको चरणसम्म आइपुगेको छ। सन् २०२६ सम्ममा मुलुकबाट औलो निवारण गर्ने रणनीति बनेको छ। यसका लागि कीटनाशक झुल वितरणका साथै जनचेतना र उपचारका विभिन्न कार्यक्रम सघन पारिएको छ। २०१५ को आँकडा अनुसार, मुलुकभर औलोका १ हजार ३५२ बिरामी भेटिएका छन्। जुन विगत वर्षहरुभन्दा कम हो।

“नमर्दै नेपालबाट औलो रोग निर्मूल भएको हेर्ने मन छ”, एकदशक अघि सेवानिवृत्त वैद्य भन्छन्।

रामु सापकोटा


तेक्वान्दोमा तनमन

गत मंसीरमा आयोजित 'पोखरा विश्व तेक्वान्दो हाम्नादाङ प्रतियोगिता' मा पोखरा, चिनेडाँडा–१८ का हरिश्वर पोखरेलले भाग लिने खबरले सबैलाई अचम्मित तुल्यायो। कारण थियो, उनको उमेर। २० राष्ट्रका युवा खेलाडीमाझ्ा ५२ वर्षका पोखरेलले 'बोर्ड ब्रेकिङ' गरिरहँदा सबैले तालीले हौसला दिए। “उमेर ढल्के पनि खेल्न छोड्नुहुन्न भन्ने सन्देश दिन खोजेको थिएँ”, सन् १९८६ मा एशियाली खेलकुद प्रतियोगितामा देशको प्रतिनिधित्व गरिसकेका पोखरेल भन्छन्, “खेलाडीको शरीर सधैं चंगा हुनुपर्छ।”

प्रतिस्पर्धामा भाग लिन छाडे पनि चौथो डान पोखरेल तेक्वान्दो प्रशिक्षकका रुपमा सक्रिय छन्। हालै उनले राजधानीको नक्सालमा 'अर्जुन तेक्वान्दो एकेडेमी एन्ड फिटनेस सेन्टर' खोलेर व्यवस्थित तालीम दिन थालेका छन्। “तीस वर्षअघि खुला चउरमा तालीम लिएको थिएँ, अहिले पनि त्यस्तै छ”, उनी भन्छन्।

पोखरेलले गुरु अर्जुन गुरुङको नाममा खोलेको प्रशिक्षण केन्द्रमा तेक्वान्दोका साथै म्याटमाथि मार्सल आर्ट अभ्यास गराइन्छ। नेपालमा तेक्वान्दोकै लागि भनेर यस किसिमको प्रशिक्षण केन्द्र अरू नभएको उनको दाबी छ। “नेपालमा तेक्वान्दोका झ्ाण्डै पाँच लाख विद्यार्थी छन्”, नेपाल तेक्वान्दो संघका उपाध्यक्षसमेत रहेका उनी भन्छन्, “व्यवस्थित खेल्ने ठाउँको निर्माण गर्न ढिला भइसकेको छ।”

सजना


दीक्षाको दम

वाद्यवादक बुवा विजयकुमार थापासँग सानैमा गितार र हार्मोनियम सिकेकी दीक्षा थापा (२१) संगीतमा नै करियर बनाउन चाहन्थिन्। तर, श्रोतामाझ कसरी प्रस्तुत हुने भन्ने हेक्का थिएन। त्यहीवेला उनीसामु 'पेप्सी भोइस अफ नेपाल' मा भाग लिने अवसर आयो। प्रतियोगितामा आफ्नै शब्द–संगीतमा थापाले गाएको 'तिम्रो मेरो' बोलको गीतले उनको क्षमता प्रमाणित गरेको थियो। “पेप्सी भ्वाइस अफ नेपाल जितेपछि केही गर्न सक्छु भन्ने विश्वास पलायो”, प्रेसिडेन्सियल बिजनेस स्कूलमा बीबीए चौथो वर्षमा अध्ययनरत थापा भन्छिन्।

प्रतियोगिता जिते पनि दीक्षाबारे खासै चर्चा भएन। जब उनले यूट्यूबमा जेसन एम–राजको गीत 'आई एम योर्स' को कभर भर्सन अपलोड गरिन्, उनका प्रशंसक ह्वात्तै बढे। “त्यसपछि मैले कभर सङ बढी गाउन थालें”, उनी भन्छिन्, “अरुणा लामा, दीप श्रेष्ठदेखि रोहित जोन क्षेत्री र अरिजित सिंहका गीत पनि गाएँ।” अरूका गीत गाएरै यूट्यूबमा मनग्गे भ्युज र सब्स्क्राइबर्स बटुल्ने कलाकारमध्येकी दीक्षा अब भने मौलिक गीत सार्वजनिक गर्ने सुरमा छिन्। “तीन वटा गीत रेकर्ड गरिसकें”, उनी भन्छिन्, “केही दिनमै यूट्यूबमा अपलोड गर्छु।”

सजना

comments powered by Disqus

रमझम