९ -१५ जेठ २०७३ | 22-28 May 2016

काठमाडौं आइपुगेको मधेश

Share:
  
- चन्द्रकिशोर
नेपाली राजनीतिक–सामाजिक परिवेशमा अत्यधिक प्रयोग भइराखेका काठमाडौं र मधेश शब्द अब दुई स्थानविशेष सूचक मात्र रहेनन्।

बिक्रम राई
नेपालले वर्तमान भूगोल प्राप्त गरेयता यसको राजधानी काठमाडौं रहे जसरी नै शासन व्यवस्थाहरू फेरिए पनि राज्यको बनोट एकात्मक नै रह्यो। एकात्मक सत्ताको एकीकृत शक्ति सञ्चय र प्रयोग काठमाडौंमै घनीभूत भयो, राज्यमा पहुँच भएका, प्रभाव जमाएका र राज्यसँग जोडिएर पहिचान स्थापित गरेकाहरूको उपस्थिति पनि। बसाइँ सरेर आउनेहरूको बहुसंख्या–वर्चस्व भएर पनि काठमाडौं सिंगो नेपाली राज्यको निरन्तरताको थलो हुन पुग्यो। त्यसैले, नेपाल राज्यसँगको माग–दाबी, संघर्ष–संवादको कुरा उठ्दा 'काठमाडौं' शब्द उच्चारण हुन पुग्छ। यसरी नेपाली विमर्शमा काठमाडौं नेपाली राज्य, त्यसको केन्द्रीकृत स्वरुप, असमावेशी चरित्र, नाभी केन्द्रित वितरण प्रणाली र सत्तापालित वर्गलाई चिनाउने एउटा बृहत् पहिचान–प्रतिनिधि हुन पुग्छ।

त्यसैगरी 'मधेश' ले नेपालले वर्तमान राजनीतिक भूगोलमा स्थिरता प्राप्त गरेयता जहिल्यै मूलधारबाट बञ्चितिको अवस्थामा रहेको गहिरो अनुभूति गर्ने एउटा विशेष पहिचान बोकेकाहरूको मूल बसोबास क्षेत्रको चिनारी पाउँदै आएको छ। मधेशी एउटा बृहत्तर पहिचानको रूपमा देखिएको छ, जसमा विभिन्न भाषा–भाषी, धर्मावलम्बी र हिन्दू वर्णाश्रमभित्रका पनि विविध जातीय समूहकाको राज्यसँग सम्बन्ध निर्धारण गर्ने एउटा सगोलको चिनारी भएको छ। पहिचान, प्रतिनिधित्व र पहुँचका प्रक्रियाहरूमा नेपालीकरण तथा अभारतीयकरणका लागि गरिएको सुविचारित यत्न यो चिनारीको खास विशेषता हो।

एकोहोरो मधेश

नेपालको संविधान २०७२ निर्माण प्रक्रियामा मधेश संलग्न थिएन। त्यो असन्तुष्टिले लम्बे आन्दोलनको रूप लियो। त्यस क्रममा नेपाल–भारत सीमामा धर्ना र निकै ठूलो जनधनको क्षति भयो। त्यसले नेपाली समाजलाई मानसिक रूपमा विभाजित गरायो। दुई छिमेकी मुलुकसँगको नेपालको सम्बन्धमा स्वतः ध्रुवीकरण आयो।

त्यसो त, दोस्रो संविधानसभा निर्वाचनमा मधेशबाट विजयीमध्ये अधिकांशले संविधानमा सहमति जनाएका छन्। सँगै अर्को सत्य के हो भने, अन्तरिम संविधान २०६३ लाई लिएर मधेशमा असन्तुष्टि देखिंदा राज्यले दुईपटक अनुबन्ध गरेको थियो। आन्दोलनको ऊर्जाबाट त्यस्तो अनुबन्ध हुनु भनेको राज्य र मधेशबीच राजनीतिक मार्गचित्र बन्नु हो। त्यसले काठमाडौं–मधेश सम्बन्धलाई परिभाषित गर्छ। त्यस अर्थमा संघर्षरत मधेशी समुदायको गुरुत्वलाई कम आँक्न सकिंदैन। यही कारण, मधेशबाट चुनाव जितेकाहरूले संविधानमा स्वीकार्यताको औंठाछाप लगाए पनि त्यो मधेशमा कार्यान्वयन हुनसकिरहेको छैन। दलीय ह्वीप नलागेको भए मधेशबाट निर्वाचितहरू के गर्थे, त्यो पनि लुकेको छैन।

आन्दोलनमार्फत आफ्नो असन्तुष्टि पोख्दै गर्दा मधेश आत्मकेन्द्रित भयो। आन्दोलनको तरीका छनोटमा मधेश आत्मकेन्द्रित हुँदा फरक पहिचानकाले त्यसबाट आफूहरू टाढिएको महसूस गरे। मधेशको सवाललाई लिएर काठमाडौंबाट पनि ऐक्यबद्धता प्रकट भएकै हो, तर त्यो त्यति फराकिलो थिएन, जति हुनुपर्थ्यो।

काठमाडौं–मधेश दूरी

यतिखेर मधेशको संघर्ष काठमाडौंकेन्द्रित हुन पुगेको छ। अर्थात् मधेश काठमाडौं आइपुगेको छ। यसपटक नेपालका अन्य भूगोलका सीमान्तकृत समूहको स्वर पनि समेटिएर मधेश संघर्ष बहुआयामिक बनेको छ। उसो त मधेश काठमाडौंमा पहिला पनि पुगेकै हो, तर यस पटकको परिस्थिति फरक छ।

मधेशमा सर्वाधिक ठूलो जनसहभागिताको आन्दोलन सम्पन्न भएको छ। लामो आन्दोलन थेग्ने हाँक–हौसला मधेशले देखाएको छ। थारू, सन्थाल, मुस्लिम, दलित, पिछडावर्ग र महिलाहरूले समेत मधेशी पहिचानको दाबीमा आहुति दिएका छन्। त्यस अर्थमा मधेशी पहिचान उन्नत र परिष्कृत देखिएको छ। उनीहरू त्यो दाबीसहित जनताद्वारा निर्मित भनिएको संविधानको प्रक्रिया, प्रारूप, पहल र पूजनमा आफूहरूलाई अलगथलग गरेको भन्दै काठमाडौं उक्लिएका छन्। यस अर्थमा संविधानसँग असन्तुष्ट बृहत् पक्षको सामूहिक स्वर मधेश बन्न पुगेको छ।

काठमाडौंकेन्द्रित शान्तिपूर्ण आन्दोलनमा सम्मान र सद्भावका अभिव्यक्तिहरू गुञ्जिएका छन्। आत्मसम्मान, स्वतन्त्रता, समृद्धि र सुरक्षाको खोजी गरिएको छ। संविधान–२०७२ को स्वीकार्यतालाई फराकिलो पार्दै त्यसलाई एउटा गतिशील दस्तावेज बनाउने आकांक्षा प्रकट भइराखेको छ। यसअर्थमा काठमाडौंमा मधेश आगमनको विशिष्ट महत्व छ।

मधेश आन्दोलनमा भारतीय छायाँ र विखण्डनको अभीष्ट नियाल्नेहरूका निमित्त जवाफ लिएर काठमाडौं आइपुगेको छ, मधेश। आन्दोलनको बेला देखा परेको ध्रुवीकरण र राज्यप्रतिको तिक्तता बिर्सिंदै काठमाडौं छिर्दा मधेशले आफैंलाई 'करेक्सन' पनि गरेको छ। सीमानाका धर्नाले समग्र नेपाली समाज बन्धकी बनेको अनुभूति उसले गरेको छ। त्यसैले, शान्तिपूर्ण र सार्थक संघर्षका माध्यमहरूको विकल्पको रूपमा काठमाडौंकेन्द्रित आन्दोलन छनोट गर्न पुगेको छ।

पछिल्ला महीनाहरूमा राज्यको दमनलाई देखाउँदै मधेशमा पृथकतावादी अभियान चल्छ भन्ने आकलन गरिंदै थियो। त्यसका केही संकेत देखापरेका पनि थिए। लामो आन्दोलन र राज्यको उपेक्षाले गर्दा सतहमा नैराश्य बढ्दै गइराखेको थियो। यस्तो अवस्था मध्यमार्गी राजनीतिक समूह– जो मधेशको उन्नत र सम्मानित भविष्य हेर्न चाहन्छन्, उनीहरू चेपुवामा परेका थिए। संघीयतावादी राजनीतिक पहिचान भएका समूहको अस्तित्व चेपुवामा पर्नुको अर्थ मधेश मात्र होइन, नेपाल फेरि अर्को द्वन्द्वको अँध्यारो गुफामा प्रवेश गर्नुथियो। यी विपरीत परिस्थितिहरूका माझ् सही निर्णय लिंदै मधेश ठूलो अपेक्षाका साथ काठमाडौं आइपुगेको छ।

काठमाडौंको आन्दोलनमा कति मधेशी सहभागी छन् र उनीहरूले कति दिन थेग्न सक्छन् भन्दा पनि काठमाडौंले उनीहरूलाई फेरि पनि रित्तोहात नै फर्काउँछ त? भन्ने अहिलेको महत्वपूर्ण प्रश्न हो। उत्तर नकारात्मक भएको अवस्थामा राजनीतिक मात्र नभई अन्य दृष्टिकोणले पनि मधेश काठमाडौंबीचको दूरी लम्बिन सक्छ।

आएको अवसर

एउटा समय थियो जतिखेर मधेशमा तनाव घनीभूत भएको बेला उतै वार्ता गर्नुपर्छ भनिन्थ्यो। यस पटक मधेश स्वयम् काठमाडौं पुगेको छ र काठमाडौंले संवाद गर्न खोज्दा मधेशी शक्तिहरूले पहिलाभन्दा पक्कै बढी परिपक्वता देखाउने छन्। आन्दोलनको लामो बाटो कसैको रहर हुँदैन। आखिर मधेशको एउटा तहले संविधानलाई स्वीकार गरिराखेकै छ र अर्को शक्तिहरूले त्यसमा अनुकूलको संशोधन खोजिराखेका छन्।

यस मानेमा काठमाडौंको लागि यो दैलोमै आइपुगेको अवसर हो। काठमाडौंले यसपटक मधेशलाई सम्मानित गर्‍यो भने यसले नेपाली राज्यको सामर्थ्य र स्वीकार्यता मजबूत बन्छ। सामाजिक संवाद र ऐक्यबद्धताका सूत्रहरू अझ् कसिएर नेपाली समाजबीचको एकीकरण घनीभूत हुन्छ। महाभारतको विनाशकारी युद्ध अघि कृष्ण हस्तिनापुर पुगेका थिए, शान्तिको अन्तिम प्रयत्नका निम्ति। तर, सत्ता–उन्मादमा रहेका दुर्योधनले त्यसलाई अवसरको रूपमा लिएनन्। काठमाडौंले पनि यस पटक मधेशलाई सम्मान दिन सकेन भने मुलुकमा अनपेक्षित अध्याय शुरू हुनसक्छ।

नेपालमा उदार लोकतन्त्र, बहुलता र विविधता, मानवअधिकार जस्ता पक्षमा रहेका जागरुक वर्गले मधेशसँग सार्थक वार्ताको लागि सरकारलाई दबाब दिनुपर्छ। सामाजिक जीवनका विभिन्न हिस्साले जनजीवनलाई असहज नपारिकन दबाब बढाउनुुपर्छ। सत्तारुढ घटकभित्र रहेका विवेकशील राजनीतिककर्मीहरूले पनि वर्तमानको संवेदनशीलतालाई बुझदै मधेशसँग जोडिने सूत्रहरू खोज्ने काममा सघाउनुपर्छ। भोलि मधेशलाई यसो नलागोस् कि सिंहदरबार र संसद् मात्र होइन, काठमाडौंको नागरिक तहले पनि हाम्रो संघर्षलाई निषेध गर्न खोज्यो। यसरी यो काठमाडौंको नागरिक समाजको पनि परीक्षाकाल हो।

अहिले कुनै राजा–महाराजाको युग होइन। जनताकै घरदैलोबाट ंिसंहदरबारमा पुगेका हुन्। र पनि, काठमाडौंबाट मधेशलाई रित्तोहात फर्काइयो भने हाम्रो लोकतन्त्रको विकासक्रम अवरुद्ध हुनेछ। ध्रुवीकरण बढ्छ र अनपेक्षित संकटहरू आइपुग्नेछन्, जसमा भूराजनीतिक असन्तुष्टिले आगोमा घ्यू हाल्न सक्छ। सरकार चुक्दै गर्दा र अनुदार–असहिष्णु मानसिकता देखाइराख्दा दक्षिणपन्थी मनसुवाहरू हौसिएको अवस्था छँदैछ। तसर्थ, मधेश र काठमाडौं दुवैका प्रतिनिधिहरूको सुझ्बुझ् वा अहंकारमा नेपाली लोकतन्त्र र राष्ट्रियताको भविष्य सन्निहित हुन पुगेको छ।

comments powered by Disqus

रमझम