९ -१५ जेठ २०७३ | 22-28 May 2016

बेग्लै बाल–कोठा

Share:
  

बिक्रम राई
साना केटाकेटी त हुन् भनेर बेग्लै कोठा छुट्याउनु पर्दैन भन्ने मान्यता रहिआएको छ। तर, त्यो सही होइन। विज्ञहरु तीन/चार वर्षको उमेरदेखि नै बालबालिकालाई बेग्लै कोठा छुट्याउनु उपयुक्त हुने बताउँछन्। छुट्टै कोठा नै उपलब्ध गराउन नसके पनि 'रुम डिभाइडर' को सहायताले कोठामै सानो भाग छुट्याउन सकिने उनीहरुको भनाइ छ।

पश्चिमा मुलुकमा बच्चालाई जन्मेदेखि नै अलग्गै कोठामा सुताउनु राम्रो मानिन्छ। तर, हामीकहाँ बुबा–आमासँगै बच्चालाई नसुताए सानैदेखि सम्बन्ध टाढिने भनाइ पनि सुनिन्छ। तर, बालमनोविद् डा. अरुणराज कुँवर भन्छन्, “यस्तो धारणा सरासर गलत हो। बेग्लै कोठाले बालबालिकालाई आत्मनिर्भर, जिम्मेवार र स्वतन्त्र हुन मद्दत गर्छ।”

यसरी बनाउने

बालबालिकाका लागि कोठा छुट्याउने हो भने उनीहरूका सामान थन्क्याउने झ्ान्झ्ाट रहँदैन। खेलौना, लुगा आदि कोठैपिच्छे छरिन पाउँदैनन्। यसले घर सफा राख्न मद्दत गर्छ। तर, बालकोठा कस्तो बनाउने? यसबारे भने केही कुरा ख्याल राख्नुपर्छ।

बाल–कोठा आकर्षक र आवश्यक सामग्रीयुक्त हुनुपर्छ। खाट, दराज, टेबुल, कुर्सी आदि फर्निचर उनीहरुले भेट्न सक्ने उँचाइमा राखिनुपर्छ। तिनलाई बलियो गरी अड्याउनुपर्छ ताकि बच्चाले तान्दा नढलोस्। कोठामा एउटा बोर्ड झुन्ड्याइदिए उनीहरूले भित्ताभरि कोर्दैनन्।
बेलायतको टाइम इंक युके वेबसाइटले त मिल्ने भए कोठाभित्रै पीङ वा पीङजस्तो मच्चिने खाट राख्न सुझाएको छ। “भित्तामा वाल क्लाइम्ब गर्न मिल्ने गरी खुट्किला बनाइदिए उनीहरू त्यसैमा भुल्न सक्छन्”, वेबसाइटमा भनिएको छ, “पुस्तकालय बनाएर नयाँ नयाँ पुस्तक थपिदिने हो भने पढ्ने बानी पनि बस्छ।”

इन्टेरियर डिजाइनर कल्पना भट्टचन बाल–कोठामा गाढा नभई फिका गुलाबी वा हरियो रङ लगाउनु उपयुक्त हुने बताउँछिन्। “सानो बुलेटिन बोर्ड पनि राख्ने हो भने त्यसमै उनीहरुले आफ्ना चित्र, कविता, कथा टाँस्छन्”, उनी भन्छिन्। सिलिङमा तारा वा चराचुरुङ्गीका तस्वीर टाँस्न वा पेन्ट गर्दा उपयोगी हुने बताउँदै उनी रंगीन बत्तीले कोठा आकर्षण राख्ने तर्क गर्छिन्। “बत्तीका स्विच उनीहरूले भेट्ने गरी जडान गर्नुपर्छ”, भट्टचन भन्छिन्।

ऐना सामु नाँचगान गर्ने, बोल्ने भएकाले यस्ता कोठामा ठूला ऐना राख्नु बुद्धिमानी हुने बताइन्छ। “पूर्ण कदका ऐनाले बच्चाको आत्मविश्वास बढाउन मद्दत गर्छ”, न्यूयोर्क टाइम्सलाई उद्धृत् गर्दै सिनोज डट वेबसाइटले लेखेको छ।

बच्चाका कोठामा राख्न नहुने चीज पनि छन्। त्यसप्रति विशेष होशियार हुनुपर्छ। बच्चा सुत्ने खाट झ्याल छेउ वा दराज नजिक राख्नै हुन्न। कोठामा ठूला क्यानभास वा फोटो–फ्रेम झुन्ड्याउनुहुँदैन। बिजुलीका प्लगहरू भित्र हात वा पेन्सिल छिराउन सक्ने भएकाले यस्ता प्लग छोप्नुपर्छ। फलामभन्दा काठका फर्निचर रोज्नुपर्छ।

डा. कुँवर बाल कोठामा टीभी र विद्युतीय सामग्री/ग्याजेट नराख्न जोड दिन्छन्। “टीभी, कम्प्युटर आदिले उनीहरूको बानी बिगार्न सक्छ”, उनी भन्छन्, “मोटोपन र आँखाको समस्या पनि हुनसक्छ।”

सजना बराल

comments powered by Disqus

रमझम