९ -१५ जेठ २०७३ | 22-28 May 2016

संघर्ष, सम्बन्ध र स्वाद

Share:
  

पद्मा लक्ष्मी फेसन र अभिनयका दुनियाँमा नौलो नाम होइन। अहिले त उनी पाक्कलासम्बन्धी विश्वमै सर्वाधिक हेरिने कार्यक्रम 'टप सेफ' की प्रस्तोता पनि छिन्। भारतमा जन्मे तापनि संघर्षले उनलाई मड्रिड, मिलानहुँदै न्यूयोर्कसम्मका र्‍याम्प पुर्‍यायो। उनै पद्मा लक्ष्मीले ४५ वर्षको उमेरमा आत्मकथा 'लभ, लस एण्ड ह्वाट वी एट्' सार्वजनिक गरेकी छिन्।

पुस्तक लभ, लस एण्ड ह्वाट वी एट्

लेखिका पद्मा लक्ष्मी

प्रकाशक ईसीसीओ (हार्पर कलिन्स)

पृष्ठ ३२४

मूल्य भारु ६९९

चर्चित लेखक सलमान रुश्दीसँगको 'हाई प्रोफाइल अफेयर' सार्वजनिक भएपछि पद्मा लक्ष्मी थप चर्चा र चासोकी व्यक्तित्व बन्न पुगिन्। सत्र खण्डको पुस्तकमा पहिलो र दोस्रो खण्डमा रुश्दीसँगको भेट, प्रेम विवाह र सम्बन्धविच्छेद समेटिएको छ। बाँकी खण्डहरूमा भने उनले भारतमा बिताएको बाल्यकाल, न्यूयोर्कमा नर्सका रुपमा आमाले गरेको दुःख, आमाका तीन श्रीमान्, हुर्केको संयुक्त परिवार, पढाइ, विशेष माया गर्ने अर्बपति टेड्डी (टेड) फ्रोस्टम्यान र छोरी कृष्णाको बाबु एडमसँगको कथा क्रमैसँग उनेकी छन्। यी पात्रका कथाव्यथाका बीचमा यी 'विशेषज्ञ सेफ' खानाको स्वाद र रेसिपी बुझाउन भुल्दिनन्। यसअघि पाक्कला सम्बन्धी दुई वटा पुस्तक लेखेकी उनको तेस्रो पुस्तकमा पनि यही विषयले प्रवेश पाउनु विषयान्तर गर्ने 'पोएटिक लाइसेन्स' जस्तो लाग्छ।

आत्मकथा किन? पद्मा लक्ष्मी आफैंले भनेकी छन्– मलाई आजकल धेरैले 'टप सेफ' को प्रस्तोता भनेर हेर्छन्, चिन्छन्, म कुक बुकको लेखिका नभएर लेखिकाको रुपमा मात्र चिनिन चाहन्थें, यो आत्मकथा त्यसैको प्रतिफल हो। पुस्तक प्रकाशित भएपछि उनले भनेकी छिन्– उप्रान्त मेराबारे अरुले भन्ने कुरा मैले पहिल्यै भनिसकेका हुनेछन्। युनिफेमको समर्थनमा संयुक्त राष्ट्रसंघमा सम्बोधनको अवसर पाएकी पद्मा लक्ष्मी आफूलाई 'फेमिनिस्ट' मान्छिन्। गएको अन्तर्राष्ट्रिय नारी दिवस (८ मार्च) का दिन सार्वजनिक यो पुस्तकको अन्त्यसम्म सघन रुपमा उनको यो दाबी महसूस गर्न सकिन्छ।

रुश्दीसँगको सम्बन्धमा कुनै सन्तान नभए पनि पद्मा लक्ष्मीले आमा बन्ने रहर ३९ वर्षको उमेरमा पूरा गर्छिन्। उनका पूर्वप्रेमी एडमले छोरीको नाम राख्दा आफ्नो थर नराखेको भन्दै पद्मा लक्ष्मीविरुद्ध अदालतमा मुद्दा हालेको घटना पनि रोचक छ। आफू स्वयंको बाबु २० वर्षको उमेरमा मात्र थाहा पाएको, बाल्यकाल बुबाको मायाविनै बिताउनुपरेको भन्दै सन्तानको बाबु बताउनुपरेको उनको कथन छ।

चेन्नईबाट अमेरिका पुगेकी पद्मा लक्ष्मीको कालो वर्णलाई विद्यालयमा साथीहरूले 'ब्ल्याक जिराफ' भनी जिस्क्याउँथे। त्यसपछि 'एन्जेलिक' नाम राखेकी उनलाई कतिले मेक्सिकन समेत भन्थे। मोडलिङमा रुचि भएकी उनलाई कार दुर्घटनामा दाहिने हातमा ६ इन्च लामो 'दाग' लाग्छ। तर, उनी हिम्मत हार्दिनन्। त्यही झ्ाुसिलकीरा जस्तो दाग उनका लागि 'जादूको चिह्न' सावित हुन्छ। किनभने त्यही दागलाई नै फोकस गरी चर्चित फोटोग्राफर हेल्मुट न्यूटनले खिचेका पद्माका तस्वीर चर्चित बन्नपुग्छन्। तस्वीरको चर्चासँगै हातको दाग मेट्ने उनको असफल प्रयासको सिलसिला पनि अन्त्य हुन्छ। पुस्तकमा उनले मोडलिङ संसारको भित्री पाटोसमेत उदांगो पारेकी छन्।

पूर्वपति रुश्दीले 'तिमीलाई तिमीले बुझेको, हेराइको कथा लेख्ने अधिकार छ' भनी पद्मा लक्ष्मीलाई आपसी सम्बन्धबारे लेख्न सम्मति दिएका थिए। त्यसो त रुश्दीले आफ्नो आत्मकथा 'जोसेफ एन्टन' मा पद्मा लक्ष्मीसँगको सम्बन्धबारे 'भ्रम' शीर्षकमा लामो खण्ड नै लेखेका छन्, जहाँ उनले पूर्वपत्नीलाई 'सनकी, आत्मकेन्द्रित र ब्याड इन्भेस्टमेन्ट' समेत भन्न भ्याए।

पद्माले भने 'इन्डोमेट्रोसिस्' रोगको बिरामी भएको हुँदा रुश्दीले छाडे बाहेकको स्थितिमा सलमानको प्रशंसा नै गरेकी छन्। २८ वर्ष जेठा लेखक रुश्दीकी चौथी श्रीमती बन्ने पद्माका हरेक तर्क विश्वास लाग्दैनन् तर उनको लेखनीले पाठक रोमाञ्चित भइरहन्छन्।

'इन्डोमेट्रोसिस' का कारण श्रीमान् गुमाउनु परेको, आमा बन्न ढिलो भएको स्वीकार गरेकी पद्माले 'इन्डोमेट्रोसिस' सम्बन्धी ट्रष्ट समेत खोलेकी छन्। पद्माले आत्मकथा आफूलाई निःस्वार्थ प्रेम गर्ने उनै टेडप्रति समर्पण गरेकी छन्। रुश्दीपछिका खराब दिनमा टेडले उनीप्रति दर्शाएको सहयोगी भाव साँच्चै मर्मस्पर्शी छ। पद्मा लक्ष्मीले स्वीकारेकी छन्– टेडले जति उदारतापूर्वक व्यवहार गरे, त्यसका लागि म लायक नै थिइनँ।

दक्षिणएशियाको एक आप्रवासी युवतीको सफलताको दुर्लभ कथा समेटिएको यो पुस्तकले नयाँ पुस्तालाई संघर्षको भोक जगाउँदै आशावादी हुन प्रेरित गर्छ नै ग्ल्यामर संसारमा प्रेम र विवाहको अन्तरसम्बन्धको अंक र अर्थ पनि बुझाउँछ।

comments powered by Disqus

रमझम