९ -१५ जेठ २०७३ | 22-28 May 2016

लुम्बिनी: पात पनि पवित्र

Share:
  
बुद्ध जन्मस्थल लुम्बिनी आउने विदेशी पर्यटक पीपलका पात, माटो, पानी र ढुंगाका टुक्रालाई पनि पवित्र प्रसादका रूपमा लैजान्छन्।

तस्वीरहरुः दीपक ज्ञवाली
थाई राजधानी बैंकक्बाट आएका धार्मिक पर्यटक खामोवान चिन्दू २७ वैशाखमा मायादेवी मन्दिर अगाडिको पुष्करिणी पोखरीछेउको पीपलको रूखबाट खसेका पात बडो जतनसाथ टिपिरहेका थिए। उनका सहयात्रीले पनि कुनै बहुमूल्य वस्तु भेट्टाए झै सुकेका पात झोलामा राखिरहेका थिए। उनीहरूले डेढ सय वर्ष पुरानो पीपल (बोधिवृक्ष) बाट पहेंलिएर झारेका ती पातलाई आफ्नो देशमा लगेर मन्दिरमा राख्ने र दिनहुँ पूजा गर्ने छन्।

थाइल्याण्ड, श्रीलंका, म्यानमार, चीन लगायतका मुलुकबाट बुद्ध जन्मस्थल लुम्बिनी आउने हरेक बुद्ध धर्मावलम्बीले पीपलका पात लैजाने गरेका छन्, पवित्र र अमूल्य चिनोको रूपमा। तीमध्ये धेरैजसोले ती पातलाई आफ्नो देशको बौद्ध बिहार वा मन्दिरमा पूजाका लागि राख्छन् भने कसैले आफ्नै पूजा वा बैठक कोठामा सजाउँछन्। कतिपयले महँगोमा बिक्री गर्छन् भने कतिले ती पातको प्रयोगबाट महँगा बौद्ध सामग्रीहरू बनाएर बिक्री गर्छन्।

मायादेवी मन्दिर अगाडिको पोखरीबाट जल झिक्दै चिनियाँ मन्त्री काई फुचाओ।
पीपल वृक्ष बुद्धको जीवनसँग अभिन्न रूपमा जोडिएको छ। बोधगयामा पीपलकै वृक्षमुनि सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेपछि बुद्ध कहलिएका थिए। लुम्बिनी आउने विदेशी पर्यटक पीपलको पात मात्र नभई यहाँको माटो, ढुंगा, पानी, बोटबिरुवाका हाँगा, फूल लगायतका चिजहरू पवित्र प्रसादका रूपमा लिएर फर्कन्छन्। १ जेठमा लुम्बिनी आएका चिनियाँ मन्त्री काई फुचाओले मायादेवी मन्दिर अगाडिको पुष्करिणी पोखरीको पानी लिएर फर्किए। लुम्बिनीबारे विदेशमा प्रचार अभियान चलाएका चेतन पन्त लुम्बिनीको माटोको टीका लगाउनु र एक चिम्टी लिएर जान पाउनुलाई विश्वका बौद्ध धर्मावलम्बीहरूले जीवनको ठूलो उपलब्धि सम्झने गरेको बताउँछन्।

९–१४ वैशाखमा बैंकक्मा भएको नेपाल मेलामा लुम्बिनीको माटो बाँडिएको थियो। त्यसका लागि २५ किलो माटो पठाउन लुम्बिनी विकास कोषमा धेरै झमेला गर्नुपरेको पन्त बताउँछन्। लुम्बिनीको माटो, ढुंगा, पातलगायतका वस्तुहरू यति महत्वपूर्ण हुँदा पनि कोषले कुनै मापदण्ड भने बनाएको छैन। लुम्बिनी प्रचारकै लागि आठ पटक थाइल्याण्ड गएका पन्त त्यता लुम्बिनीका मान्छेका हात छुन पाए पनि धन्य भइन्छ भन्ने धारणा रहेको बताउँदै भन्छन्, “यहाँ भने मायादेवी मन्दिर परिसरभन्दा बाहिरको मात्र माटो लैजान पाइन्छ भन्ने बाहेक केही मापदण्ड बनाइएको छैन।”

लुम्बिनीको पीपलको पातबाट विदेशमा बनाइएका भनिएका महँगा सामग्री लुम्बिनीमै छ्याप्छ्याप्ती पाइन्छन्। विदेशबाट झिकाइएका बुद्ध मूर्तिहरू लुम्बिनीको प्रवेशद्वारमै बग्रेल्ती पाइन्छन्। लुम्बिनीका हरेक वस्तु मूल्यवान् हुने भएकाले आफैं त्यस्ता उपहार सामग्री बनाए कोषले राम्रो आम्दानी गर्न सक्ने पन्त बताउँछन्। त्यसका लागि तालीम दिएर खास मापदण्डका आधारमा वस्तुहरू उपलब्ध गराए स्थानीयको आर्थिक स्तर पनि उकासिनेछ। पन्त भन्छन्, “तर, विश्वको ध्यान खिच्ने लुम्बिनीमा उपहार वा चिनो दिने कुनै स्थानीय वस्तु बन्नु त के त्यस्तो सोच पनि देखिंदैन।”

दीपक ज्ञवाली, लुम्बिनी

comments powered by Disqus

रमझम