९ -१५ जेठ २०७३ | 22-28 May 2016

बाल–मैत्री विपना

Share:
  

नवलपरासीको सुनवल नगरपालिका बाल–मैत्री हो। बाल–मैत्री भन्नाले विद्यालय जान नपाएकालाई छात्रवृत्ति दिलाउने, विद्यालयमा कुट्न–पिट्न वा तर्साउन नदिने, बाल श्रम हटाउने, बाल विवाह रोक्ने जस्ता क्रियाकलाप पर्छन्।

नगरपालिकालाई बाल मैत्री बनाउने अभियानकी नेतृ अरु कोही नभई विपना शर्मा (१७) हुन्। कक्षा ७ मा पढ्दा नै 'एकता बाल–क्लब' स्थापना गरेकी विपना अहिले जिल्लाकै नगर बाल क्लब सञ्जालकी अध्यक्ष र नेशनल बाल क्लब नेपालकी कोषाध्यक्ष समेत छिन्। नगरपालिकालाई नै बालमैत्री बनाउन विपनाले आफ्नो नेतृत्वमा विद्यालय, वडा, इलाका हुँदै बाल अधिकारका आधारभूत कुरा बुझाउने अभियान शुरु गरेकी थिइन्। यो अभियान अहिले बालबालिकाका लागि स्थानीयस्तरमा छुट्याइने १५ प्रतिशत सरकारी बजेट उपयोगसम्ममा पुगेको छ।

बालबालिकाको क्षेत्रमा उदाहरणीय काम गरेको भन्दै ताइवानको एशियन गर्ल क्याम्पेनले अक्टोबर १०१५ मा विपनालाई 'ह्युमन राइट अवार्ड–२०१५' प्रदान गरेको थियो। त्यसको एक महीनाअघि मात्र उनले ग्लोकल खबर नेपालद्वारा आयोजित प्रतिस्पर्धात्मक 'ग्लोकल टीन हिरो २०१५' उपाधि प्राप्त गरेकी थिइन्।

विपना यतिवेला कुनै एक नगर र जिल्ला मात्र होइन, देशलाई नै बाल–मैत्री बनाउन लागिपरेकी छन्। “बालबालिकालाई देशकै भविष्य भन्ने गरिएको छ”, उनी भन्छिन्, “तर, उनीहरूको वर्तमान राम्रो भए न भविष्य बन्छ भनेर सरकारले कार्ययोजना बनाउनुपर्छ।”


गिटारिस्टको सेवा

१२ वैशाख, २०७२ को भूकम्पपछि धेरै युवा राहत वितरण र स्व्ायंसेवामा खटिए र विस्तारै आफ्नै दिनचर्यामा फर्किए। तर; जोरपाटी, काठमाडौंका बबी लामा भने अहिले पनि राहतमै खटिरहेका छन्। सिन्धुपाल्चोक, भोताङका स्थायी बासिन्दा लामाले जिल्लाका भोताङ, थाङ्पालकोट, बरुवा, बासखर्कवासीलाई रु.५० लाखजतिको राहत सामान र नगद दिइसकेको बताउँछन्।

सांगीतिक समूह 'मंगोलियन हार्ट' का गिटारिस्ट एवं सहगायक लामाका मुख्य दाता फेसबुकका साथी हुन्। “भूकम्पको चार दिनपछि हेलिकप्टर चार्टर गरेर भोताङ र बरुवाका घाइतेलाई काठमाडौं ल्यायौं”, उनी भन्छन्, “त्यसपछि विभिन्न गाविसका २०० गरीब परिवारलाई रु. ६ हजारका दरले रकम बाँड्यौं।” राहत अन्तर्गत उनले सिन्धुपाल्चोकका २५ विद्यालयलाई स्टेशनरीका साथै स्वास्थ्य शिविर पनि आयोजना गरेका छन्।

हाल १० वटा विद्यालयलाई सांगीतिक सामग्री बाँड्न सिन्धुपाल्चोक डुलिरहेका लामा अप्ठेरो बाटोका कारण सामान पुर्‍याउन गाह्रो परेको बताउँछन्। “काम थालिहालियो अब सकुञ्जेल लागिरहन्छु”, उनी भन्छन्।


आर्यनमा आशा

निर्देशक आकाश अधिकारीका भतिज आर्यन अधिकारीलाई चलचित्र क्षेत्र प्रवेशमा कुनै समस्या थिएन। तर, अभिनयमा लगाव हुँदाहुँदै पनि उनी हाम्फालिहाल्ने पक्षमा थिएनन्। “नपढी र विना तयारी काम थाल्नुहुन्न भन्ने लाग्यो”, अमेरिकाबाट चलचित्र निर्देशन तथा अभिनयमा ग्य्राजुएशन गरेका आर्यन भन्छन्।

३१ वैशाख २०७३ देखि प्रदर्शन भइरहेको चलचित्र 'के म तिम्रो होइन र?' का नायक आर्यन अब भने 'फूलटाइम' यही क्षेत्रमा लाग्ने सोचमा छन्। आफ्नो पहिलो चलचित्रबाट दर्शक रिझाउन सफल भएपछि उनले यस्तो सोच बनाएका हुन्।

केहीले आर्यनको अनुहार र शारीरिक बनावटलाई भारतीय अभिनेता टाइगर श्राफसँग तुलना पनि गरेका छन्। टाइगरको नामले आफ्नो प्रचार भइरहँदा अन्यथा नलागेको तर आफ्नै पहिचान बनाउनु महत्वपूर्ण भएको उनको भनाइ छ। “आर्यन नाम स्थापित गर्नु मेरो पहिलो र अन्तिम लक्ष्य हो”, युवा अभिनेताका नयाँ सम्भावना मानिएका उनी भन्छन् ।

comments powered by Disqus

रमझम