४ चैत्र २०६९ | 17 March 2013

पर्खाइ प्रहरी संकेतको

Share:
  
झापा र मोरङका गोदामहरुमा थन्किएका सुपारी भारत पठाउन व्यापारीहरु प्रहरीको 'लाइन' पर्खिरहेका छन्।

तस्वीर: गोपाल गड्तौला
काँकडभिट्टा मेचीपुलमा भारततिर सुपारी लैजान ठीक पारिंदै।
झापा काकडभिट्टाका चिनिएका व्यापारी प्रदीप मित्तलको बाहुनडाँगी रोडस्थित गोदाम सुपारीका बोराले भरिएको छ, बाँकी भनेको प्रहरीबाट 'लाइन क्लियर' हुनु मात्र हो। मित्तलका अनुसार, प्रहरीबाट सहयोग हुँदा काकडभिट्टाबाट वर्षमा ४०० कन्टेनर सुपारी भारत जान्छ। एउटा कन्टेनरमा १८ हजार किलो सुपारी अट्छ।

पछिल्लो आठ महीनामा काकडभिट्टा नाकाबाट रु.३६ करोड ८८ लाख ९४ हजारको ५५ लाख ३३ हजार ३२३ किलो सुपारी भारत हुँदै नेपाल भित्रियो। त्यसबाट रु.१३ करोड १४ लाख १९ हजार राजस्व उठेको रेकर्ड मेची भन्सार कार्यालय काकडभिट्टाले राखेको छ। विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज लगायतका नाकाबाट पनि यही स्तरमा सुपारी भित्रिने एक व्यापारी बताउँछन्। रोचक कुरा के छ भने, त्यतिका सुपारी भारत निकासीकै लागि नेपाल भित्रिएको हो।

किन आउँछ नेपालमा?

काकडभिट्टाका गोदामका सुपारी इण्डोनेशिया, थाइल्याण्ड र सिंगापुरबाट ल्याइएको हो। भारतमा तेस्रो मुलुकबाट भन्दा नेपालबाट निकासी गर्दा प्रतिकेजी भारु ३० कम पर्ने भएकाले व्यापारीहरूले यो बाटो बनाएका हुन्। व्यापारीहरूका अनुसार, भारतमा दैनिक बीस हजार बोरा सुपारी माग हुन्छ। जबकि, त्यहाँको उत्पादन पाँचहजार बोरा मात्र छ। गुट्खा, मधु, पानमा सुपारीको प्रयोग हुन्छ।

तस्वीर: कमल रिमाल
प्रहरीलाई झुक्याउन खाना राख्ने टिफिन बक्समा तस्करीका सुपारी।
भारत हुँदै आएको सुपारी भारतमै जाँदा नेपाली सुरक्षा निकायको टाउको नदुख्नुपर्ने हो। तर, उत्पत्तिको प्रमाणपत्र नभएको उत्पादन निकासी गर्न नपाइने भएकाले नेपाली सुरक्षा निकायले यसलाई 'अवैध' मान्छ। झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र शर्मा 'उत्पत्तिको प्रमाणपत्र नलिएको वस्तुको तस्करी रोक्नु सुरक्षा निकायको कर्तव्य भएको' बताउँछन्। मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय डालमियाको भनाइमा चाहिं आयकर बुझाएर नेपाल ल्याइएको सुपारी निकासी गर्दा समातिनु अन्याय हो।

'उत्पत्तिको प्रमाणपत्र नलिएको वस्तुको तस्करी रोक्नु सुरक्षा निकायको कर्तव्य भएकोले' ३१ वैशाख २०६८ मा विराटनगर भन्सार नजिकैबाट प्रहरीले पक्राउ गरेको सुपारीले भरिएका तीन वटा भारतीय ट्रक अझै छुटेका छैनन्। मोरङ सुपारी खेती विकास संस्थाको सिफारिसमा तेस्रो मुलुकबाट आयात गरिएको रु.५० लाख ४० हजार बराबरको ५६ मेटि्रक टन सुपारी भारत लैजाने क्रममा पक्राउ परेको थियो। पुनरावेदन अदालत विराटनगरले धरौटीमा छाड्न आदेश दिए पनि बीचमा अख्तियारले छानबिन थालेकाले नछाडिएको रानी भन्सारको भनाइ छ।

चालु आर्थिक वर्षको माघसम्म विराटनगर नाकाहुँदै ७३ लाख १९ हजार ६५ किलो सुपारी तेस्रो मुलुकबाट आयात भयो भने ६१ लाख ३३ हजार ५२९ किलो निर्यात भयो। अघिल्लो आवमा भने ५५ लाख ४० हजार ४३९ किलो आयात भएको तथ्याङ्क छ। जबकि, त्यही वर्ष ८२ लाख ७१ हजार ७३० किलो निर्यात भयो। मोरङ व्यापार संघका अध्यक्ष अविनाश बोहरा यो वर्ष पनि यस्तै असन्तुलित तथ्यांक देखाउने सुपारी विराटनगरका गोदामहरूमा रहेको बताउँछन्।

कन्टेनरमा आउने सुपारी साना झोला र पोकाहरूमा पनि भारत निकासी हुन्छ। एक केजी सुपारी सीमा कटाउनेहरूले रु.७ देखि रु.१० सम्म पाउँछन्। धेरैजसो महिला र बालबालिकालाई यस्तो प्रकृतिको तस्करीमा प्रयोग गरिन्छ। यो प्रकृतिको तस्करी रोक्न गाह्रो हुने सीमा प्रहरी निरीक्षक भगीरथ रेग्मीले बताए।

गोपाल गड्तौला काकडभिट्टा,

कमल रिमाल विराटनगर

comments powered by Disqus

रमझम