अब राजनीतिमा

Share:
  
- किरण नेपाल र प्रभात भट्टराई
विश्वका धनाढ्यहरूको सूचीमा पुग्ने पहिलो नेपाली विनोद चौधरी अब पूर्णकालीन नेता हुँदैछन्।

तस्वीर: मीनरत्न बज्राचार्य
संघीय लोकतान्त्रिक मोर्चाले आह्वान गरेको बन्दकै दिन पारेर देशका पहिलो अर्बपतिलाई भेट्न बिहीबार अपरान्ह चार बजे चौधरी ग्रुपको सानेपास्थित कर्पोरेट अफिसको छैटौं तलामा उनको निजी डाइनिङ लाउन्जमा पुग्दा बधाई दिनेको चटारोका बीच उनको 'लन्च टाइम' जुर्दै थियो। सामान्यतः 'अन–एक्सेसेवल' निजी लाउन्जमा हिमाल लाई स्वागत गरेका 'फोर्ब्स' द्वारा हालै घोषित अर्बपति चौधरी आफ्नो भावी योजनाबारे प्रष्टै खुले पनि, “परिवर्तनको आधार खोज्ने अबको मेरो बाटो भनेको राजनीति नै हो।”

नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्षको दोस्रो कार्यकालका लागि उठ्दा चुनाव नहारेको भए चौधरीलाई आजको अन्तर्राष्ट्रिय प्रतिष्ठा शायदै जुर्ने थियो। तर, अहिले उनी 'फोर्ब्स'को सूचीले जीवनको एउटा अध्याय पूरा गरेको आत्मसन्तुष्टिमा छन् र यही अवसरमा बडो आत्मविश्वासका साथ राजनीति छानेका छन्। “१७ वर्षको उमेरदेखि व्यवसायमा सक्रिय भएँ”, राजनीतिको मैदान ताक्दै उनले भने, “५५ मै छोड्छु भन्थें, तर ५७ टेकिसकें।”

हारले दिएको जित

'फोर्ब्स'को सूचीमा परेपछि नसोचेको प्रतिक्रिया पाएका चौधरीले पहिलो, दोस्रो नम्बरको भन्दा अन्तिमतिर रहेको आफ्नो धेरै चर्चा भएको अनुभव गरे। राजनीति, कर्मचारीतन्त्र, निजी क्षेत्र सबैतिरबाट बधाईको ओइरो लाग्यो। विगतमा व्यवसाय विस्तारको क्रममा छिर्के हान्ने प्रयास भएका ठाउँहरूबाट समेत सफलताको बधाई पाएको अवसरलाई नयाँ पुस्तामा व्यवसाय हस्तान्तरण गर्ने सुन्दर मौका बनाएका छन्, उनले। नेपाल उद्योग परिसंघ (सीएनआई) अध्यक्षको १० वर्षे नेतृत्व हस्तान्तरण, व्यवसायको अनुभव समेटिएको आत्मवृत्तान्त प्रकाशन र फोर्ब्सको सूचीकरण चौधरीको सिलसिलेवर संयोग भने थिएनन्। उनी भन्छन्, “मेरो जिन्दगीका धेरै परिघटनाहरू योजना अनुसारै भएका छन्।”

२०५२ मा महासंघको पराजयबाट घाइते बनेर बजार विस्तारमा खटेका चौधरीको त्यो पीडामा १७ वर्षपछि विश्वका १४२६ सर्वाधिक धनाढ्यको सूची मल्हम बनेको छ। महासंघमा पराजय र मुलुकमा शुरू भएको द्वन्द्वको कठिनाइले आफूलाई यो सफलताको मार्ग देखाएको उनले सुनाए। सम्पत्ति मूल्याङ्कन र भोलिको बजार सम्भावनाको विश्लेषणसहित ५० करोड डलर सम्पत्तिका मालिकको रूपमा सन् २००८ मै चौधरीको फिचर 'फोर्ब्स' म्यागजिनको एशिया संस्करणमा छापिएको थियो। त्यसको पाँच वर्षमा एक अर्ब डलर 'नेटवर्थ' पुर्‍याएर उनी विश्वको १३४२ औं धनी बने। उनी भन्छन्, “चौधरी ग्रुपको बलियो जगसहितको घर बनाइदिएको छु, तला थप्ने काम नयाँ पुस्ताको हो।”

चौधरीका उत्तराधिकारीको रूपमा जेठो छोरो निर्वाणले नेपाल र भारतको व्यवसाय हेरिरहेका छन् भने माहिलो राहुल र कान्छो वरुण गैर–आवासीय नेपाली भएर व्यवसायको अन्तर्राष्ट्रिय सञ्जाल फैलाउँदै छन्। राहुल र वरुणको 'बिजनेश हेडक्वार्टर' क्रमशः सिङ्गापुर र दुबई हो। विदेशमा चौधरी ग्रुपको होटल चेन र रियलस्टेट व्यवसाय छ भने नेपालमा फाष्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी), सिमेन्ट, जलविद्युत्, शिक्षा, दूरसञ्चार लगायतका क्षेत्रमा लगानी छ। चौधरी ग्रुप र सिङ्गापुरकेन्द्रित यसको बहुराष्ट्रिय स्वरुप सिनोभेसन अन्तर्गत १९ देशका ७९ कम्पनीमा ८ हजार कर्मचारी छन्।

आज चौधरीको कुल सम्पत्तिमध्ये करीब ८० प्रतिशत विदेशको व्यवसायमा आधारित छ। भारत, सिङ्गापुर, लण्डन, न्युयोर्क स्टक एक्सचेञ्जहरूमा आफ्ना कम्पनीको शेयर सूचीकरण गर्नु चौधरी गु्रपको अबको लक्ष्य हो। तिनमा शेयर सूचीकृत भएपछि चौधरी ग्रुपलाई साँच्चै बहुराष्ट्रिय लगानीकर्ताको प्रतिष्ठा हासिल हुनेछ। चौधरी भन्छन्, “नयाँ पुस्ताले त्यसको आधारमा व्यवसाय विस्तार गर्नेछ।”

नयाँ बाटो

व्यवसायको कार्यकारी भूमिकाबाट क्रमशः निष्त्रि्कय बन्दै जाँदा चौधरीका अगाडि तत्कालको योजना छ– सामाजिक उद्यमशीलताको विकास। यसका लागि उनले नोवेल पुरस्कार विजेता बंगलादेशी प्राध्यापक मोहम्मद युनुससँगको सहकार्यमा १० लाख डलरको कोष बनाएका छन्, जसले केही गर्छु भन्ने भावना भएका तर पूँजी अभावमा थन्किएका युवालाई सजिलो बनाइदिनेछ। “मिहिनेत गर्ने हो भने कैयौं अवरोध छिचोलेर यहाँसम्म पुग्न सकिन्छ भन्ने उदाहरण र प्रेरणा म आफैं हुँ” चौधरी भन्छन्, “त्यसैले अब युवा उद्यमशीलता विकासमा जोडतोडले लाग्छु।”
तर, यो सामाजिक अभियान चौधरीको 'पार्ट टाइम जब' मात्र हुनेछ। अब उनी

राजनीतिको मैदानमा हाम फाल्दैछन्, जहाँका लागि उनी नयाँ खेलाडी हैनन् पनि। २०३७ को जनमत संग्रहमा पंचायतलाई सहयोग गरेका चौधरी २०४६ मा जनआन्दोलनको पक्षमा खुलेरै उभिएका थिए। २०५६ मा राष्ट्रियसभामा मनोनीत हुने लगभग तय भए पनि प्रतिपक्षमा एमाले–राप्रपाको समीकरण मिलाउँदा उनले अवसर पाएनन्। विघटित संविधानसभामा नेकपा एमालेको तर्फबाट सभासद् बनेर राजनीति लाइन प्रष्ट पारेका चौधरी त्यो दलसँग अझ् बलियो गरी जोडिंदैछन्। “दल बदलुको ट्याग भिर्नेवाला छैन म”, उनी भन्छन्, “परिवर्तनको एजेन्डा लिएर एमालेभित्रै लड्ने हो।”

चौधरी आफूले देखेका सपना पूरा गरेरै छाड्ने मानिसमा पर्छन्। उनले व्यवसाय थालेको ४० वर्षमा नेपाल जस्तो मुलुकबाट विश्वका अर्बपति सूचीमा परेर यो प्रमाण पेश गरिसकेका छन्। उनले अहिलेसम्म हासिल गरेको बजार कूटनीतिको अनुभवलाई राजनीतिमा कसरी उपयोग गर्लान्, त्यो हेर्ने समय पनि आउने नै भयो। “राजनीति नेतृत्वले कि अर्थतन्त्र बनाउने काममा यसै क्षेत्रमा जीवन गुजारेका हामी जस्ता मानिसलाई विश्वास गर्नुपर्‍यो”, उनी भन्छन्, “कि त बिहारमा नितिश कुमारले जस्तो आफैं गर्न सक्नुपर्‍यो।”

मैदानमा आउँदा नआउँदै यति खरो विचार राख्ने उनको लागि नेपालको राजनीतिमा अरूलाई ठाउँ नदिने प्रवृत्ति पहिलो चुनौती हुनेछ। यद्यपि, चुनावमा उठ्न मात्र नभई पार्टी अभियानमै लाग्न एमालेबाट आइरहेको आग्रहले उनलाई उत्साहित पारेको छ। र, त्यस्तो आग्रहमा एमाले आफ्नो एजेन्डामा सहमत हुने लक्षण पनि देख्छन् उनी। उनमा आर्थिक मुद्दामा राजनीतिक जिम्मेवारी पाए मुलुकको कायापलट गर्ने आकांक्षा छ। अबको निर्वाचनमा एमालेले चौधरीलाई उनकै औद्योगिक क्षेत्र रहेको नवलपरासी– १ मा प्रत्यक्ष उम्मेद्वार बनाउने पनि निश्चित प्रायः छ।

कुराकानीको क्रममा कैयन् 'अफ द रेकर्ड' विषयमा पनि खुल्दै गएका चौधरीले साढे पाँच बजेपछि भने तारन्तार घडी हेर्न थाले। उनको अप्ठ्यारो बुझन खोज्दा थाहा भयो– माधवकुमार नेपालले बन्द खुलेपछि भेट्न बोलाएका रहेछन्। संभवतः राजनीतिको कुनै नयाँ बहसका लागि यी अर्बपतिको रेञ्ज रोभर कोटेश्वरतिर हुँइकिन पोर्चमा तयार भइसकेको थियो।

comments powered by Disqus

रमझम